टोपबहादुर रायमाझीले संसद्‌ सचिवालयमा पठाए बिरामी भएको पत्र

हिमाल प्रेस २७ वैशाख २०८० १४:४९
20
SHARES
टोपबहादुर रायमाझीले संसद्‌ सचिवालयमा पठाए बिरामी भएको पत्र

काठमाडौँ- फरार रहेका नेकपा एमालेका सचिव तथा सांसद टोपबहादुर रायमाझीले आफू बिरामी भएको पत्र संसद् सचिवालयलाई पठाएका छन्। संसद् सचिवालयका एक कर्मचारिका अनुसार उनको पत्र संसद् सचिवालयको प्रशासन शाखामा आइपुगेको छ।

‘उहाँको नामको पत्र सचिवालयमा आइपुगेको छ,’ उनले भने, ‘पत्रमा बिरामी भएको उल्लेख छ। पत्र दर्ता भने भइसकेको छैन।’ रायमाझीको पत्र कसले ल्याएको हो भन्ने उनले खुलाएनन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार छन्। लगातार १० बैठकमा उपस्थित हुन नसके पद जाने हुँदा त्यसबाट जोगिन उनले पत्र पठाएका हुन्।
तर उनी बिरामी नभई शरणार्थी प्रकरणमा जोडिएपछि फरार भएका हुन्।

त्यसो त एमालेले पनि उनलाई आजै पदबाट निलम्बन गरेको छ। एमाले महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हामी विधिको शासनमा विश्वास गर्दछौँ। राज्यका वैधानिक संस्थाहरूले गर्ने अनुसन्धानका काममा सबैले सहयोग गर्नुपर्छ र कसैका बारेमा कुनै विवाद उठेमा त्यसबारे कानुनी सफाइ प्राप्त गर्ने दायित्व सम्बन्धित व्यक्तिकै हो भन्ने हाम्रो पार्टीको स्थापित मान्यता रहँदै आएको छ।’

पोखरेलले जारी गरेको विज्ञप्तिमा अनुसन्धानमा सहयोग गर्ने उद्देश्यले उनलाई निलम्बन गरिएको उल्लेख छ। ‘पक्राउ पूर्जी जारी हुनासाथ उहाँलाई राज्यका अनुसन्धान निकायमा उपस्थित भएर विधिवत् रूपमा आफ्नो यथार्थ स्पष्ट पार्न भनिएको थियो। उहाँले नेतृत्वलाई यस विषयमा सहमति पनि जनाउनु भएको थियो,’ पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तर पार्टी नेतृत्वलाई दिएको विश्वास विपरीत उहाँ सम्बन्धित निकायमा उपस्थित नभएको विषयलाई हिजो बसेको केन्द्रीय सचिवालयको बैठकले गम्भीरतापूर्वक लिँदै उहाँलाई अविलम्ब सम्बन्धित निकायमा उपस्थित भएर अनुसन्धानमा सहयोग गर्न निर्देशन गरेको थियो।’

कारबाही प्रक्रियाको टुंगो नलागेसम्मको लागि निलम्बन गरिएको एमालेले जनाएको छ। अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी भएपछि उनी फरार भएका हुन्। उनीविरुद्ध गत बुधबार पक्राउ पुर्जी जारी भएको थियो। उनले नेपाल प्रहरीलाई अनुसन्धानमा सहयोग गर्ने र यस घटनामा आफ्नो संलग्नता नरहेको बताएका थिए। तर सोही प्रकरणमा उनका छोरा सन्दीप पक्राउ परेपछि उनी बेपत्ता भए।

प्रकाशित: २७ वैशाख २०८० १४:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast