सानसिरोमा ‘विशेष डार्बी’

हिमाल प्रेस २७ वैशाख २०८० १०:३७
10
SHARES
सानसिरोमा ‘विशेष डार्बी’

काठमाडौँ- मिलान सहर एकपटक फेरि ‘डार्बी’ को संघारमा छ। तर यसपालिको ‘डार्बी’ विशेष हुनेछ। किनभने यो भिडन्त च्याम्पियन्स लिग सेमिफाइनलमा हो। यसकारण इटालेली फुटबलका ठूला क्लबमध्येका दुई एसी मिलान र इन्टर मिलान बुधबार राति सान सिरोमा ओर्लिदा त्यहाँको वातावरण सामान्य हुनेछैन।

स्वीकार गर्नैपर्छ, मिलान र इन्टर पहिले जस्तो बलिया रहेनन्। उनीहरु अर्को सेमिफाइनलमा भिडिरहेका रियल म्याड्रिड र म्यानचेस्टर सिटी जत्तिको प्रभावशाली पनि छैनन्। तर वर्तमानले उनीहरुको गर्विलो इतिहास छोपिँदैन। फेरि यो खेल यस्तो रंगशालामा खेलिँदैछ, जसको स्थान युरोपेली फुटबलमा अविचलित छ।

‘यो रंगशालामा सिर्जना हुने वातावरणको शब्दमा व्याख्या गर्न सकिँदैन। यहाँ आउने सबै समर्थक हुन्। हरेक पुरुष र महिला आआफ्ना टिमका लागि पागल छन्। यसो भएपछि खेलाडीलाई पनि हरदम दबाब हुन्छ,’ मिलानका रक्षक पिएरेर कालुलुले एएफपीसँग भनेका छन्।

सान सिरोमा पस्नेवित्तिकै खेलाडीलाई त्यहाँको वातावरणले छुँदैन। यसको नसा मन्द लाग्छ। ‘केही मिनेट बितेपछि मात्र हामी त्यहाँको वातावरणमा अभ्यस्त हुन्छौँ। त्यसपछि यस्तो लाग्न थाल्छ कि, यो खेलले पूरा सिजन परिवर्तन हुनसक्छ। बालखमा आँगनमा फुटबल खेल्दा, गोल गर्दा जस्तो मज्जा आउँथ्यो त्यस्तै मज्जा सान सिरोमा खेल्दा आउँछ,’ कालुलु अनुभव सुनाउँछन्।

मिलान र इन्टर यस्तो बेला भिड्न लागेका छन्, जति बेला उनीहरु आउँदो सिजनको च्याम्पियन्स लिगमा छनोट हुन संघर्षरत छन्। पछिल्ला दुई सिजन पालैपालो सिरी ए जितेका मिलान र इन्टर हाल क्रमशः चौथो र पाँचौँ स्थानमा छन्। नापोली लिग च्याम्पियन बनेको यो सिजन मिलान र इन्टरको प्रदर्शन अस्थिर रह्यो।

यद्यपि पछिल्लो समय इन्टरले केही हदसम्म लय समातेको छ। पछिल्ला पाँच खेलमा इन्टर हारेको छैन। यो बीचमा इन्टरले लाजियो र एएस रोमा जस्ता बलिया विपक्षीलाई पन्छायो। त्यसो गर्दा इन्टरले १४ गोल गरेको छ। फेरि १४ मध्ये १० गोल फरवार्डहरुले गरेका हुन्। महँगा फरवार्ड रोमेलु लुकाकुले पनि चार खेलमा तीन गोल गरिसकेका छन्। रोमामाथिको जितमा पनि लुकाकुले गोल गरेका थिए।

लुकाकु यही सिजन चेल्सीबाट इन्टर फर्किएका हुन्। उनलाई इन्टरले ऋण सम्झौतामा एक सिजनका लागि सानसिरोमा ल्याएको हो। लुकाकु अर्को सिजन पनि इन्टरमा रहन चाहन्छन्। तर इन्टर उनलाई थप अर्को सिजन राख्न तयार छैन। किनभने इन्टरमा लुकाकुको अपेक्षा अनुसारको खेल देखिएको छैन।

‘मेरा लागि सबैभन्दा महत्त्वपूर्ण इन्टर हो। म यो टिमलाई सकेसम्म सहयोग गर्न चाहन्छु,’ यो सिजन सबैखाले प्रतियोगिताका २९ खेलमा १० गोल गरेका लुकाकुले भनेका छन्। सन् २०२०÷२१ मा इन्टर सिरी ए च्याम्पियन बन्दा लुकाकुले ३६ खेलमा २४ गोल गरेका थिए। यही प्रदर्शनले लोभिएर लुकाकुलाई चेल्सीले फिर्ता लगेको थियो। तर चेल्सी बसाइ फेरि एकपटक असफल साबित भएपछि लुकाकु इटाली फर्किएका हुन्। तर इटालीमा यो सिजन लुकाकुले भनेजति गोल गर्न सकेका छैनन्।

इन्टरका अर्का फरवार्ड लाउटारो मार्टिनेजको नाममा भने २४ गोल छ। एक समय आठ खेलमा गोल गर्न नसकेका उनले पछिल्ला पाँच खेलमा पाँच गोल गरेका छन्। इन्टरका अर्का फरवार्ड एडिन जेकोले पनि गोल लयमा आउने संकेत दिइसकेका छन्। उनले आफ्नो पछिल्लो खेलमा दुई गोल गरेका थिए।

उता मिलान भने भरपर्दा फरवार्ड राफाएल लिआओको फिटनेसले चिन्तित छ। मिलानका उच्च गोलकर्ता लिआओ गत शनिबार लाजियोसँगको खेलमा घाइते भएका थिए। लिआओले यो सिजन चोट वा अन्य कारण आठ खेल गुमाएका छन्। मिलानले ती आठमध्ये एक खेलमा मात्र जित हात पारेको छ।

च्याम्पियन्स लिगमा भने लिआओले मिलानका सबै खेल खेलेका छन्। मिलानले क्वार्टरफाइनलमा नापोलीलाई पन्छाउँदा दुई गोल गरेको थियो। ती दुवै गोल लिआओको पासमा भएका थिए। लेफ्ट विंगमा खेल्ने लिआओ इन्टरविरुद्ध उपलब्ध नभए मिलान साँँच्चै अप्ठ्यारोमा पर्नसक्छ।

प्रशिक्षक पिओली भने मिलानले कुनै चिन्ता नलिई खेल्नुपर्ने बताउँछन्। ‘जे जस्तो चुनौती आइपर्छ, खुसीसाथ स्वीकार गर्नुपर्छ। खेल जित्न हरसम्भव प्रयास गर्नुको विकल्प छैन,’ पिओलीले भनेका छन्, ‘इन्टर हाल बलियो लयमा रहेको टिम हो। तर हामी निडर भएर भिड्नेछौँ। हामी पनि खराब लयमा छैनौँ।’

प्रकाशित: २७ वैशाख २०८० १०:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast