च्याम्पियन्स लिग : सिटीमा छैन बदलाको भावना

हिमाल प्रेस २६ वैशाख २०८० १५:०९
6
SHARES
च्याम्पियन्स लिग : सिटीमा छैन बदलाको भावना

काठमाडौँ- रियल म्याड्रिड र म्यानचेस्टर सिटी फेरि एकपटक च्याम्पियन्स लिग सेमिफाइनलमा आमनेसामने हुँदैछन्। गत सिजन पनि यी दुई टिम सेमिफाइनलमै भिडेका थिए। जसमा रियल समग्रमा ६-५ ले विजयी भएको थियो। पहिलो लेग ४-३ ले जितेको सिटीलाई रियलले दोस्रो लेगमा ३-१ ले पन्छाएको थियो।

सान्टियागो बेर्नाबेउमा भोगेको त्यो हार सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले भुलेका छैनन्। उनको टिम मंगलबार राति उही रंगशालामा ओर्लिनेछ। घरेलु टिमको सामना गर्दा सिटीमा बदलाको भावना हुनेछैन। ग्वार्डिओला यसै भन्छन्। ‘बदलाको भावना राखेर होइन, अवसरको फाइदा उठाउनेगरी खेल्नेछौँ,’ ग्वार्डिओलाले भनेका छन्। ग्वार्डिओला के पनि भन्छन् भने बदलाको भावना राखेर खेल्नु गल्ती हो।

सिटीकै मिडफिल्डर रोड्रीको मत भने ग्वार्डिओलाको भन्दा ठ्याक्कै उल्टो छ। ‘हामी फेरि एकपटक भिड्दैछौँ। यो फरक सिजन हो। लक्ष्य फरक छ। तर हामीमा भोक भने उही छ, जितको। हामी बदला लिन मैदान ओर्लिनेछौँ,’ स्पेनी मिडफिल्डर रोड्रीले भने।

रोड्रीले किन बदलाको कुरा गरिरहेका छन्? यसको उत्तर थाहा पाउन केही गर्नु पर्दैन, बस् त्यसबेलाको प्रतिस्पर्धा सम्झिए पुग्छ।

इत्तिहादमा भएको पहिलो लेगमा सिटीले सुरुवाती ११ मिनेटमै दुई गोल गरिसकेको थियो। दोस्रो हाफको ५३ औँ मिनेटमा फिल फोडनको गोलले सिटीलाई ३-१ को स्थितिमा पुर्‍यायो। तर ५५ औँ मिनेटमा भिनिसियस जुनियरले गोल अन्तर ३-२ मा झारे। सिटीले फेरि गोल थप्यो। ८२ औँ मिनेटमा रियलका कप्तान करिम बेन्जेमाले व्यक्तिगत दोस्रो गोल गरे। आखिरमा खेल ४-३ ले सकियो।

दोस्रो लेगमा सिटी जितको नजिक पुगिसकेको थियो। रियाद माहरेजको गोलका कारण सिटी बेर्नाबेउमा ८९ औँ मिनेटसम्म १-० ले अघि रह्यो। तर त्यसपछिको समय सिटीको काबुमा रहेन। रियलले ९० औँ मिनेट र थपिएको समयमा एक-एक गोल गर्‍यो। आतिरिक्त समयमा बेन्जेमाले गरेको पेनाल्टी गोलले सिटीलाई फाइनल पुग्नबाट वञ्चित गर्‍यो।

त्यो सेफिाइनलको नतिजा कहिल्यै च्याम्पियन्स लिग नजितेको सिटीलाई सन्देश थियो, ‘युरोपेली क्लब फुटबलको सर्वोच्च प्रतियोगिता जित्न सजिलो छैन।’ उसो त यो सन्देश सिटीले त्यसअघिको सिजनको फाइनल हारेर पनि पाएकै हो।

खैर, सिटी फेरि एकपटक च्याम्पियन्स लिग उपाधि होडमा होमिएको छ। यो सेमिफाइनललाई ग्वार्डिओलाले अवसर मानेका छन्। ‘गत सिजन हामीले के के मात्र गरेनौँ? तर हामी सबैलाई थाहै छ, फुटबलमा मेहनत मात्र सबैथोक होइन। जे होस्, यसपालि हामीसामु अर्को अवसर छ,’ ग्वार्डिओलाले भनेका छन्।

च्याम्पियन्स लिगमा सिटीले हासिल गरेको सबैभन्दा ठूलो उपलब्धि त्यही सन् २०२१ को फाइनल हो। रियल भने फाइनल पुग्नुलाई सफलता मान्दैन। यस्तो धाक लगाउन रियललाई सुहाउँछ पनि। किनभने रियल १४ पटकको विजेता हो। पछिल्ला नौ सिजनमा मात्रै रियलले पाँच पटक यो प्रतियोगिता जितेको छ।

रियल जत्तिको अनभुवी टिमसँग भिड्दा प्रत्येक मिनेटको महत्त्व हुने तथ्य रोड्रीले जानेका छन्। ‘च्याम्पियन्स लिगको नकआउटका खेल पाँच मिनेटभित्र हार्न सकिन्छ। त्यसपछि बाँकी समय हामीले कस्तो खेल्यौँ भन्ने कुरा गौण हुन जान्छ। यसकारण मौका पाउन साथ विपक्षीलाई सिध्याइहाल्नु पर्छ। गत सिजन हामीले बटुलेको अनुभव यही हो,’ रोड्रीले भने।

ग्वार्डिओला आफ्नो टिमले च्याम्पियन्स लिगमा स्थिर प्रदर्शन गरिरहेको मान्छन्। आफ्ना तर्कलाई बलियो बनाउन उनले पछिल्ला ६ सिजनको प्रदर्शनलाई उदहारणका रुपमा पेश गरेका छन्। ती प्रत्येक सिजनमा सिटी कम्तीमा क्वार्टरफाइनल पुगेको थियो। ‘हामी एकदिन च्याम्पियन्स लिग जितेरै छाड्नेछौँ। विजेता बनेपछि हामी त्यही लयलाई जारी राख्नेछौँ। अरु कयौँ ठूला टिम जितेपछि खस्किएका छन्। म चाहन्न सिटीको हालत त्यस्तो होस्,’ ग्वार्डिओलाले भनेका छन्, ‘किनभने च्याम्पियन्स लिगमा स्थिरता सबैभन्दा महत्त्वपूर्ण पक्ष हो। यसको उदाहरण, रियल नै छ।’

ग्वार्डिओला रियललाई च्याम्पियन्स लिगको सबैभन्दा उत्कृष्ट टिम मान्छन्। यसो भनिरहँदा उनलाई विगतको प्रवाह छैन। विगत भनेको ग्वार्डिओला नेतृत्वको बार्सिलोना र जोसे मौउरिन्हो नेतृत्वको रियलबीचको प्रतिद्वन्द्विता। उसो त बार्सिलोना र रियल सदाबहार प्रतिद्वन्द्वी हुन्। तर मौउरिन्हो स्पेनमा रहँदा यो प्रतिद्वन्द्विता फरक बिन्दूमा पुगेको थियो। ‘च्याम्पियन्स लिग जित्न यहाँको सबैभन्दा बलियो टिमलाई हराउनु पर्छ। र त्यो टिम हो, रियल,’ ग्वार्डिओला भन्छन्।

एएफपीबाट

प्रकाशित: २६ वैशाख २०८० १५:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast