प्रचण्डको सत्तामोह : न बन्छ समाजवादी, न ब्युँतिन्छ नेकपा

किरण पौडेल २५ वैशाख २०८० १७:१२
94
SHARES
प्रचण्डको सत्तामोह : न बन्छ समाजवादी, न ब्युँतिन्छ नेकपा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’। फाइल तस्बिर।

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शक्तिमा रहन एकता र मोर्चाको तुरूप फ्याँकिरहने नेता हुन्। कहिले विचार मिल्लेसँग त कहिले फरक विचार भएका दलसँग उनको सत्ता साइनो रहँदै आएको छ।

प्रचण्ड २०७४ पछि कुनै न कुनै दलसँग गठबन्धन गरेर शक्तिमा रहँदै आएका छन्। गत वर्षको स्थानीय तहको चुनाव र प्रतिनिधिसभा/प्रदेशसभा निर्वाचनमा गठबन्धन गरेका प्रचण्डले सत्ता टिकाउन विगत चार महिनामा दुई फरकफरक राजनीतिक शक्तिको आड लिइसकेका छन्।

पुस १० मा एमाले-माओवादी गठबन्धनबाट प्रधानमन्त्री बनेका प्रचण्डले फागुन पहिलो साता गठबन्धन परिवर्तन गर्ने प्रयत्न गरे। राष्ट्रपति कांग्रेसबाट चयन गर्नुपर्ने उनको अडानमा एमालेले विमति जनायो। फागुन १५ मा एमाले सरकारबाट बाहिरियो। सत्ताको अन्य दुई घटक रास्वपा (राष्ट्रिय स्वतन्त्र पार्टी) र राप्रपा (राष्ट्रिय प्रजातन्त्र पार्टी) पनि अलग भए। प्रचण्डको पहिलो गठबन्धन फेल भयो।

चैत १७ गते नेपाली कांग्रेस, एकीकृत समाजवादी, जनता समाजवादीसहित समेटेर प्रचण्डले सरकार विस्तार गरे। अर्को गठबन्धन बन्यो।

कांग्रेस-एकीकृत समाजवादीलगायतका दल सत्तामा आएको एक महिना मात्रै बितेको छ। रास्वपालाई सरकारमा लैजाने र साना दललाई फिर्ता गर्ने योजना प्रचण्डको थियो। रास्वपाले प्रतिपक्षमै बस्ने निर्णय गरिसकेको छ। माओवादी नेताहरूले बताएअनुसार प्रचण्ड यसबीचमा फेरि सत्ता समीकरण परिवर्तन गर्ने प्रयत्नमा सक्रिय छन्।

‘कम्युनिस्ट एकता तत्काल असम्भव’

वैशाख ९ को ‘कम्युनिस्ट पार्टी स्थापना दिवस’ मा आयोजित एक कार्यक्रममा प्रचण्डले नेकपा ब्युँताउने प्रयत्नमा रहेको अभिव्यक्ति दिए। अर्का कम्युनिस्ट नेता माधवकुमार नेपालले सही थपे, ‘हामी बृहत् कम्युनिस्ट एकता चाहन्छौँ’। नेपालले नेकपा ब्युँताउने प्रस्ताव राखेको यो पहिलो पल्ट भने होइन।

कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा वैशाख ९ गते राजधानीमा आयोजित विचार गोष्ठीमा सम्बोधन गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेता।

राष्ट्रपति चुनावताका पनि नेपालले प्रचण्डलाई सोही प्रस्ताव राखेका थिए। तर यसबारे छलफल भएन। सोही विषय वैशाख लागेपछि मात्रै सार्वजनिक भयो। त्यसपछि अघि बढेन। बृहत् कम्युनिस्ट पार्टीका लागि प्रचण्ड, केपी शर्मा ओली, माधवकुमार नेपाल एक ठाउँमा हुनुपर्छ। तर प्रचण्ड-ओली एक ठाउँ आउन तत्काल सम्भव नरहेको एमाले नेताहरू बताउँछन्।

‘माओवादीसँग हामीले गठबन्धन गरेकै हौँ। प्रचण्डजी हाम्रै सहयोगमा प्रधानमन्त्री बन्नुभयो। तर उहाँ भाग्नुभयो,’ एमाले उपमहासचिव प्रदीप ज्ञवाली भन्छन्, ‘उहाँ अहिले एमालेसँग एकता गर्ने वा नेकपा ब्युँताउने होइन। कांग्रेससँग एकता गर्नतिर लाग्दा राम्रो हुन्छ।’

ज्ञवाली अहिले नेकपा ब्युँताउन सम्भव नभएको तर्क गर्छन्। बृहत् वाम एकता गरेर सबै एकै ठाउँ उभिनुपर्ने भए पनि तत्काल सम्भव नभएको उनको भनाइ छ।
एकीकृत समाजवादी संगठन विस्तारमै छ। सोही कारण तत्काल बृहत् वाम एकीकरणको सम्भावना नरहेको नेताहरू बताउँछन्। सम्मानित नेता झलनाथ खनाल संगठन विस्तारमा सक्रिय भइरहेकाले नेकपा ब्युँताउन असम्भव रहेको बताउँछन्।

माओवादी नेताहरू भने एकीकरण सम्भव रहेको बताउँछन्। ‘हामी एकीकरण वा मोर्चामा जानुपर्छ। सानासाना झुन्ड बनाएर एकताबद्ध हुन सम्भव छैन,’ माओवादी सचिव देवेन्द्र पौडेल भन्छन्, ‘कुनै न कुनै हिसावले कम्युनिस्ट एक हुन जरुरी छ।’

शीर्ष नेताले यसबारे मुख खोलेपछि वामदेव गौतमले समेत केही समय सक्रिय भए। उनले विभिन्न नेतासँग भेट गरे। तर तत्काल एकता अभियान अघि बढ्न नसक्ने बुझेपछि उनी पछाडि हटेका छन्।

समाजवादी केन्द्र निर्माण प्रयास विफल

कुनै बेला चर्चामा रहेको समाजवादी केन्द्र अहिले सुषुप्त छ। सुरुमा बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी पार्टी (नेसपा), एकीकृत समाजवादी, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) बीच मोर्चा बनाउने तयारी थियो।

समाजवादी केन्द्र निर्माणका लागि भनेर सबै दलले कार्यदल गठन गरेका छन्। माओवादीले महरा नेतृत्वमा, एकीकृत समाजवादीले बेदुराम भुसालको नेतृत्वमा र जसपाले राजेन्द्र श्रेष्ठको नेतृत्वमा कार्यदल बनाएको थियो। तर कार्यदलका संयोजक सक्रिय नहुँदा वार्ता समिति ओझेलमा परेको छ।

शीर्ष नेताको व्यस्तताका कारण ध्यान पुर्‍याउन नसकिएको माओवादी नेता गणेश साह सुनाउँछन्। ‘व्यस्त भएका कारण अघि नबढेको हो। यसका लागि सबैको चासो छ’, साह भन्छन्। समाजवादी केन्द्र बनाउन माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले अगुवाइ गर्दै आएका थिए।

माओवादी नेताहरूका अनुसार प्रचण्डले चित्त नबुझाएपछि महरा ब्याक भए। डा. बाबुराम भट्टराई र उपेन्द्र यादवबीचको टकरावले समाजवादी केन्द्र अघि बढ्न सकेन। प्रचण्डले भट्टराई र यादवलाई सँगै लैजान चाहेका तयारी गरेका थिए। ‘उहाँहरूमा जसपादेखिकै समस्या देखियो। त्यसले अघि बढ्न सकिएन’, माओवादीका एक नेता भन्छन्।

बाबुराम-प्रचण्डबीच चिसिएको सम्बन्ध

चुनावताका एक भएर अघि बढ्ने बताएका प्रचण्ड र बाबुरामबीच अहिले भेटघाट पातलिएको छ। बाबुराम पक्षीय नेताहरू प्रचण्डको महत्त्वाकांक्षाका कारण सम्बन्ध बिग्रिएको आरोप लगाउन थालेका छन्।

‘प्रचण्ड आफू प्रधानमन्त्री बने। अब पद टिकाउन चाहन्छन्,’ बाबुराम निकट एक नेता भन्छन्, ‘खासमा बाबुरामजीको स्वार्थ त्यस्तो थिएन। सबै साना शक्ति मिल्नुपर्छ भन्ने अडानमा हुनुहुन्थ्यो।’

बाबुरामले आफ्नै चुनाव क्षेत्र छाड्को कारण मोर्चा वा एकताका लागि रहे पनि प्रचण्डले त्यसलाई चासो नदिएको आरोप ती नेताको छ। अब प्रचण्ड सत्ता स्वार्थभन्दा बाहिर आएमात्रै समाजवादी केन्द्र बन्न सक्ने उनको तर्क छ।

समाजवादी केन्द्रका नाममा प्रचण्डले सत्ता गठबन्धनभित्रै अर्को गठबन्धन जन्माउन खोजेको आरोप लागेको थियो। विशेषतः कांग्रेस नेताहरूबाट गठबन्धनभित्र एउटा मात्र मार्चा बन्नुपर्ने तर्क राखेका थिए।

यस कारण पनि प्रचण्ड ब्याक भएको कतिपयको तर्क छ। समाजवादी केन्द्र बन्दा कसको शक्ति कति हुनेमा पनि विवाद थियो। माओवादी ठूलो शक्ति भएकाले बढी ‘खटन’ चलाउन खोजेको आशय अन्य दलको थियो।

एकीकृत समाजवादीले तत्काल समाजवादी केन्द्र बन्ने बताइरहेको छ। नयाँ शक्ति आइरहेका बेला मोर्चाबन्दी गरेर अघि बढ्नुपर्ने एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडा बताउँछन्। ‘यिनै दल भन्ने छैन। हामी साना दल एकताबद्ध भएर अघि बढ्नुपर्छ भन्ने हो,’ खतिवडा भन्छन्, ‘हामीबीच अहिले पनि संवाद चलिरहेकै छ। निर्णायक कुरा हुन बाँकी हो।’

अब माओवादीबिनाको मोर्चा!

शीर्ष नेताको मनमुटावका कारण नेकपा ब्युँतिने सम्भावना शून्यजस्तो छ। सत्तामा रहेको माओवादी र प्रतिपक्षमा रहेको एमाले एक हुन सम्भव नहुने नेताहरू नै बताउँछन्।

एकताबारे प्रचण्डको अभिव्यक्तिमा दम नभएको एमाले नेताहरू बताउँछन्। माओवादीसँग गठजोड गर्ने वा एकता गर्ने पक्षमा नरहेको उनीहरूको भनाइ छ। ‘हामी अब पछि फर्किन सम्भव छैन। अगाडि बढ्नुपर्छ,’ एमाले सचिव योगेश भट्टराई भन्छन्, ‘बागमतीमा धेरै पानी बगिसक्यो। पुराना कुरा बिर्सियो।’ फरक तरिकाले अन्य दल आएमा सोच्न सकिने भट्टराईको तर्क छ।

२०७९ पुस २३ गते माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेट।

एकीकृत समाजवादी नेतृत्व तत्काल कुनै दलसँग एकता गर्ने पक्षमा उभिएको छ। तर पार्टीभित्रको कलहका कारण कोसँग एकता गर्ने भन्ने अन्योल छ। माधव नेपाल माओवादीसँग निकट र झलनाथ खनाल एमालेसँग निकट हुँदा समस्या बढेको नेताहरू बताउँछन्। तर माओवादीसँग मोर्चा बनाउने मामिलामा खनालले विरोध गरेका छैनन्।
जसपाले एकताका लागि तत्काल अभियान चलाएको छैन। जसपा माओवादी नेतृत्वकै सरकार बचाउन लागेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =