सुदूरपश्चिमेली संस्कृतिमा जनकको ‘मोडर्न’ धुन

संगीता श्रेष्ठ २३ वैशाख २०८० १६:०४
52
SHARES
सुदूरपश्चिमेली संस्कृतिमा जनकको ‘मोडर्न’ धुन जनक ताम्राकार। तस्बिर : दिपेश श्रेष्ठ

एक त डोटेली देउडा त्यसमाथि कुमाउँनी लोकधुन मिसिएको। सुरुमा त्यसमा काम गर्न झस्किए गायक तथा संगीत संयोजक अल्मोडा राना उप्रेती। सशंकित थिए। गायक जनक ताम्राकारलाई सोधे, ‘चल्छ र!’

सुदूरपश्चिमेली भाषामा गाइएको गीत हो, ‘काफल कमला’। यो देउडा गायक नन्दकृष्ण जोशी तथा अन्य कलाकारको गीत ‘काफल खान्या’ र कुमाउँनी गायक ललितमोहन जोशीको ‘टक टका टक कमला’को ‘इम्प्रोभाइजेसन’ हो।

अल्मोडाकहाँ पुग्नुअघि जनकले घरमै गितारमा त्यस गीतको ‘प्य्राक्टिस्’ गरेका थिए। अनि आफ्नो फेसबुकमा सेयर पनि। ‘गिटारमा देउडा’ शीर्षकमा भिडियो एक कान, दुई कान हुँदै मैदान भइदियो। हिजोआज चलेको शब्दमा भन्दा ‘भाइरल’। कुरा सन् २०१३ को हो।

‘त्यतिखेर भाइरल भन्ने शब्द चलेको थिएन, हुन्थ्यो भने त्यो भिडियो भाइरल नै भएको हो,’ जनकले सुनाए, ‘धेरैले मन पराए। सकारात्मक प्रतिक्रिया दिए। सेयर पनि गरे।’

त्यहीँबाट उत्साहित भएर जनक अल्मोडाकहाँ पुगेका थिए। जनकले त्यो भिडियो र प्रतिक्रिया देखाएपछि अल्मोडा पनि ‘कन्भिन्स्ड’ भए। अनि बन्यो गीत, ‘काफल कमला’।
गीत सन् २०१७ मा सार्वजनिक भयो। जनकको स्वर रहेको गीतमा अल्मोडाले संगीत संयोजन गरे।। डोटेली र कुमाउँनी संगीतबाट धुन टिपे महेश ताम्राकारले। उनी ‘काफल कमला’का संगीतकार र जनकका दाइ हुन्। सारंगीमा थिए, प्रिन्स नेपाली।

गीत ‘सुपरडुपर’ हिट भयो। युट्युबमा एक करोड भ्युज बटुल्ने डोटेली भाषाको पहिलो गीत बन्यो। सुदूरपश्चिमेलीले मात्रै मन पराएनन्, पूर्वेलीलाई पनि गीत मन पर्‍यो। भारतीयले पनि त्यति नै रुचाए।

भनिन्छ नि, संगीतको कुनै सिमाना हुँदैन। यो गीतमा पनि त्यस्तै भयो। जनकले गीतमा भारत, कुमाउँको लोकधुन समावेश गरे। अनि गीत नेपालीसँगै भारतीयलाई पनि कर्णप्रिय भइदियो।

‘संगीतमा भारतसँग हाम्रो सीमाहीन साइनो छ,’ जनकले भने, ‘रोटीबेटीको मात्रै सम्बन्ध छैन। सांगीतिक सम्बन्ध पनि त्यस्तै सुमधुर छ।’ त्यस सम्बन्धमा एउटा इँटा थप्ने काम गर्‍यो ‘काफल कमला’ले।

गीत हिट भएपछि सामाजिक सञ्जालमा जनकका भारतीय ‘फ्रेन्ड’, ‘फलोअर’ र ‘फ्यान’ ह्वात्तै बढे। ‘गीतकै कारण नेपालीसँगै भारतीय प्रशंसकको पनि माया पाएँ, पाइरहेको छु,’ उनले भने, ‘सोसल मिडियामा आधाभन्दा बढी भारतीय साथी छन्। जो गीतकै कारण मसँग जोडिएका हुन्।’

ती ‘फ्यान’ र ‘फ्रेन्ड’ले जनकलाई अझै त्यस्ता मीठा-मीठा गीत गाउन प्रेरित गरिरहेका हुन्छन्। ‘काफल कमला जैसा गीत अब कब लेकर आओगे?’ भनेर सोधिरहेका हुन्छन्,’ जनकले भने, ‘उनीहरूको चाहना पूरा गर्ने सोच छ। हेरुम् कहिले गर्न सकिन्छ!’

०००

डडेल्धुरा, अमरगढीका जनकको यो एउटा गीतमात्रै होइन। उनको स्वरमा अहिलेसम्म आठवटा गीत बजारमा आइसकेका छन्। तर उनलाई पहिचान दिलाउने गीतचाहिँ ‘काफल कमला’ नै हो।

हालै उनको ‘साइब’ गीत सार्वजनिक भएको छ। ‘साइब’ हुड्केली गीत हो। जो जनकका बुबाले लगभग ५० वर्षअघि लेखेका थिए। ‘यो हुड्केलीमा एक योद्धाको कथा छ,’ जनकले भने, ‘बुबाले उहिल्यै लेख्नुभएको हो।’

जमानामा यही गीत रेडियो नेपालमा गाएर दाइ महेश ताम्राकारले पुरस्कार जितेका थिए। व्यावसायिक संगीतकर्मी नभए पनि जनकका बुबा र दाइ वर्षौँदेखि संगीतमा आबद्ध छन्। बुबाले स्थानीयस्तरमा गीत गाउने, लेख्ने गर्थे। महेशले पनि बुबाकै पाइला पछ्याए। तर घरायसी समस्याले महेशलाई ‘फुल टाइम’ संगीतकर्मी हुने छुट दिएन। उनी संगीतलाई पाखा लगाउँदै गैरसरकारी संस्थामा जागिर खान पुगे।

बुबा र दाइको प्रेरणाले संगीतमा आकर्षित भएका थिए, जनक। आफूले संगीतकर्म गर्न नसके पनि भाइलाई महेशले पूरा साथ दिए। ‘म संगीतमा आज यहाँसम्म आइपुग्नमा दाइको ठूलो हात छ,’ जनकले भने, ‘संगीतमा लाग्ने आफ्नो सपना पूरा नभए पनि दाइले मेरो सपनालाई चाहिँ मर्न दिनुभएन।’ जनकका हरेक गीतमा महेश कुनै न कुनै रूपमा जोडिएकै हुन्छन्। कहिले गीतका लागि धुन टिप्छन्, कहिले शब्द।

जनकको ‘सम्झनाकी खोली’ गीतले पनि खूब चर्चा पायो। गीत सुदूरपश्चिमको ठाडी भाकामा छ। अभाव र गरिबीका कारण घरपरिवारबाट टाढा रोजगारीका लागि भारत जाने सुदूरपश्चिमेलीको कथा गीतमा छ।

देउडा, हुड्केली, ठाडी भाका। सुदूरपश्चिमको संगीतमा ‘मोडर्न म्युजिक’ मिसाउँछन् जनक। ‘संगीतमा सुदूरपश्चिम निकै धनी छ,’ उनले भने, ‘सुदूरपश्चिमेली संगीत र संस्कृति फैलिनुपर्छ भन्ने लाग्छ।’ त्यसका लागि उनी लागिपरेका छन्। त्यसैले ठेट सुदूरपश्चिमेली भाकाहरूमा आधुनिक संगीतको मिश्रण गर्छन्। ‘अहिलेको पुस्ताले पनि हाम्रो संगीतबारे थाहा पाऊन् भनेर उनीहरूकै स्वादमा गीत बनाउने र गाउने गर्छु,’ उनले भने।

परम्परागत संगीतमा आधुनिक संगीत समावेश गरे पनि पुरानो संगीतको मर्मप्रति सचेत छन्। त्यसैले गीतमा सकेसम्म पारम्परिक बाजा प्रयोग गर्छन्। तर पछिल्लो समय सुदूरपश्चिममै परम्परागत बाजागाजा हराउन थालेको उनको अनुभव छ।

‘‘साइब’ हुड्केली गीत भएकाले त्यसका लागि हुड्को खोज्यौँ तर पाउनै मुस्किल,’ जनकले भने, ‘परम्परागत बाजागाजा यसरी लोप हुने हो भने आउने पुस्ताले हाम्रो मौलिक संगीतबारे कसरी थाहा पाउँछ त? त्यसैले हामीले आफ्ना परम्परागत संगीत र बाजाको संरक्षण गर्नुपर्छ भन्ने लाग्छ।’

०००

सांगीतिक क्षेत्रमा सन् २०१७ यता सक्रिय देखिए पनि जनक गीतसंगीतमा लागेको एक दशकभन्दा बढी भइसक्यो। विद्यार्थी हुँदाताका गाउन सुरु गरेका हुन् उनले। विद्यालयमा हुने विभिन्न कार्यक्रममा गाउँथे। शिक्षक र साथीभाइबाट प्रशंसा पाउँथे। पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा गीत गाउँदा पुरस्कार पनि पाएका थिए।

सन् २०१० मा नेपाल टेलिभिजनमा ‘सिङगिङ स्टार नेपाल’ प्रतियोगिता हुने भयो। त्यसको धनगढी अडिसनमा जनक पनि सहभागी भए। ‘अडिसनमा कस्ता-कस्ता परिपक्व कलाकार आएका थिए,’ जनकले सम्झिए, ‘तर निर्णायकहरूलाई मेरो स्वर मन पर्‍यो।’

अडिसनमा छनोट भए। काठमाडौँ आए। यहाँ झन् देशैभरिबाट एकसे एक धुरन्धर आएका थिए। पहिलोपटक राजधानी छिरेका जनक सोमा सबैभन्दा कान्छा प्रतियोगी थिए। ‘उत्कृष्ट ११’ सम्म पुगे। अनि बाहिरिए। उनको मीठो स्वरले निर्णायकलाई मुग्ध बनाएको थियो। त्यसैले एक मौका फेरि पाए। ‘वाइल्ड कार्ड’बाट प्रतियोगितामा प्रवेश गरे। तर ‘भोटिङ सिस्टम’का कारण चुके। भोट पाएनन्। एकपटक फेरि प्रतियोगिताबाट बाहिरिए।

प्रतियोगिता जित्न नसके पनि जनकले डडेल्धुरेलीहरूको मन जितिसकेका थिए। आफ्नो गाउँठाउँको १६ वर्षीय किशोरले राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिँदा र टेलिभिजनमा देखिँदा डडेल्धुरावासी गद्गद भए। गाउँ फर्किँदा जनकको भव्य स्वागत भयो। ‘त्यो देखेर एकदमै खुसी भएँ,’ उनले भने, ‘संगीतमा अझै राम्रो गर्नुपर्छ, यसमै लाग्नुपर्छ भन्ने लाग्यो।’

जनक ताम्राकार। तस्बिर : दिपेश श्रेष्ठ

अहिलेसम्म बुबा र दाइबाट संगीतको आधारभूत ज्ञान लिइरहेका उनले औपचारिक रूपमै संगीतको शिक्षा लिन थाले। पढाइसँगसँगै स्थानीय एफएममा काम गर्न पनि सुरु गरे। साहित्य र कलासम्बन्धी कार्यक्रम चलाउँथे। त्यसै एफएममा काम गर्ने सिलसिलामा डडेल्धुराबाट ओखलढुंगा पुगे।

‘काफल कमला’ गीत ओखलढुंगाबाट काठमाडौँ आएर रेकर्ड गरेर फेरि उतै फर्किएका थिए। जनक फेरि काठमाडौँ आउँदासम्म गीत चर्चित भइसकेको थियो। ‘राम्रो हुन्छ भन्ने त थियो तर यति चर्चित हुन्छ भन्ने लागेको थिएन,’ उनले सुनाए।

नेपाली संगीतकर्मीको सूचीमा जनकको नाम पनि थपियो। पत्रपत्रिकामा उनी र उनको गीतबारे खबर छापिए। मिडियाले अन्तर्वार्ताका लागि उनलाई खोज्न थाल्यो। गीतले प्रसिद्धि पाएपछि संगीतमै लाग्ने उद्देश्यले एफएमको जागिर छाडेर यता होमिए। तर जनक हिँड्न चाहेको सांगीतिक गोरेटो उनले सोचजस्तो सजिलो थिएन। अप्ठ्यारो थियो। ‘गीत हिट भइसकेको थियो, धेरैले चिन्न पनि थालेका थिए तर मेरो आर्थिक अवस्था झन्झन् खस्किँदो थियो,’ उनले भने।

आर्थिक अभावमा दुई वर्ष जेनतेन बिते। सन् २०१९ मा जनक ‘भ्वाइस अफ नेपाल’मा सहभागी भए। ‘ब्लाइन्ड अडिसन’मा उनलाई धेरैले ‘नोटिस्ड’ पनि गरे। तर त्यहाँ पनि सफलता हात लागेन। रित्तो हात फर्किनुपर्‍यो।

‘काफल कमला’ गीतको सफलतापछि स्वरको प्रशंसा गर्नेहरू धेरै भेटे। सहरको भीडमा ‘मिलेर काम गर्नुपर्छ है’ भनेर झुटा आश्वासन दिनेहरूसँग पनि ठोक्किए। ‘संगीतमै केही गर्छु भन्ने थियो र छ,’ जनकले भने, ‘आफ्नो प्रतिभामा विश्वास थियो र छ।’

संगीतमा मात्रै लागेर आर्थिक अवस्था उकास्न गाह्रो हुने देखिएपछि उनले अरू पनि केही गर्ने निधो गरे। अनि लागे जागिरको खोजीमा। जीवनयापनका लागि ससाना प्रोजेक्टदेखि थुप्रै ठाउँमा काम गरे।

अहिले ‘माई सेकेन्ड टिचर नेपाल’मा छन्। अनलाइन एजुकेसन प्लेटफर्ममा उनी साउन्ड इन्जिनियर भएर काम गरिरहेका छन्। सँगसँगै ललितकला क्याम्पसबाट संगीतमा डिप्लोमा गरिरहेका छन्।

‘संगीतमार्फत आफूसँगै आफ्नो संस्कृतिको पनि प्रवर्धन गर्नेछु,’ उनले भने, ‘निरन्तर संगीतमै लागिरहनेछु।’

प्रकाशित: २३ वैशाख २०८० १६:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =