आन्दोलनबारे निजामती कर्मचारीमा विवाद

हिमाल प्रेस २१ वैशाख २०८० १४:५०
6
SHARES
आन्दोलनबारे निजामती कर्मचारीमा विवाद सिंहदरबार गेटमा बिहीबार धर्ना दिँदै निजामती कर्मचारी। तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौँ– विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका निजामती कर्मचारीबीच विवाद देखिएको छ। यसअघि संयुक्त आन्दोलन गर्दै आएका निजामती कर्मचारीको एउटा पक्षले आन्दोलन जारी राखेको छ भने अन्य केही संगठनहरूले आन्दोलन स्थगित गरेर वार्तामा बस्ने भएका छन्।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा वार्ता समिति गठन भएपछि निजामती कर्मचारी संगठनले आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन्।

संघीय निजामती सेवा ऐनमा सरकारले आफ्ना सुझाव नसमेटेको भन्दै विभिन्न माग राखेर कर्मचारी संगठनहरुले आन्दोलनको सुरु गरेका थिए

नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती), एकीकृत सरकारी कर्मचारी संगठन नेपाल र नेपाल मधेशी निजामती कर्मचारी मञ्चले बिहीबार संयुक्त अपिल गर्दै उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा वार्ता समिति बनेकाले आन्दोलनका पूर्वनिर्धारित कार्यक्रम स्थगित भएको जनाएका छन्।

एमाले सम्बद्ध नेपाल निजामती कर्मचारी संगठनले भने छुट्टै विज्ञप्ति जारी गर्दै आफ्नो आन्दोलन जारी रहेको जनाएको छ। विज्ञप्तिमा उल्लेख छ, ‘सिंहदरबारमा कार्यरत सम्पूर्ण कर्मचारीले आ–आफ्नो कार्यस्थलमा प्रवेश नगर्ने कार्यक्रम तय भएकोमा नेपाल निजामती कर्मचारी संगठनबाहेकका अन्य ट्रेड युनियनले संयुक्त आन्दोलनबाट हात झिक्ने निर्णय गरेर आमकर्मचारीको आन्दोलनको भावनामाथि घात भएको संगठनको ठहर छ। यस्ता व्यवहारप्रति संगठन गम्भीर आपत्ति प्रकट गर्दछ।’

सुरुमा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दा भने सत्तापक्ष र विपक्षी सम्बद्ध दुवै कर्मचारी ट्रेड युनियनले संयुक्त विज्ञप्ति जारी गरेका थिए। आन्दोलनरत कर्मचारीका संगठनले बिहीबार सिंहदरबार प्रवेशमा कर्मचारीलाई रोक लगाउन धर्ना दिएका थिए।

प्रकाशित: २१ वैशाख २०८० १४:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 10 =