निजामती कर्मचारी आन्दोलित, मुख्यसचिवलाई एसएमएस पठाएर गरे विरोध

हिमाल प्रेस १९ वैशाख २०८० १५:१२
28
SHARES
निजामती कर्मचारी आन्दोलित, मुख्यसचिवलाई एसएमएस पठाएर गरे विरोध

काठमाडौँ– संघीय निजामती सेवा ऐन २०७९ को मस्यौदामा विरोध जनाउँदै कर्मचारी आन्दोलित भएका छन्। मस्यौदाको विरोधमा उत्रिएका कर्मचारीले आज मुख्यसचिवसहितका उच्च अधिकारीलाई एसएमएस पठाएर विरोध गरेका हुन्।

कर्मचारीले मुख्य सचिव शंकरदास बैरागी, संघीय मामिला तथा सामान्य प्रशासन सचिव कृष्णहरि पुष्कर, कानुन न्याय तथा संसदीय मामिला सचिव धनराज ज्ञावली, अर्थ सचिव तोयम राया र संघीय मामिलाका सहसचिव नारायण अर्याललाई ‘राष्ट्रिय स्तरका ट्रेड युनियनले उठाएका माग समावेश गरी अविलम्ब कर्मचारी मैत्री संघीय निजामती सेवा ऐन जारी गरियोस्’ भन्दै एसएमएस गरेका छन्।

पाँच ठूला निजामती कर्मचारीहरूले संयुक्त रुपमा देशभरका कर्मचारीहरूलाई आह्वान गर्दै एसएमएस पठाउन भनेका छन्। वैशाख ६ गते नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय कार्यसमिति, नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती), एकीकृत सरकारी कर्मचारी संगठन र नेपाल मधेशी निजामती कर्मचारी मञ्चले विरोधको कार्यक्रम सार्वजनिक गरेका थिए।

विरोधको कार्यक्रम अन्तर्गत २० वैशाखमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा कानुनमन्त्री पूर्ण बहादुर खड्का, अर्थमन्त्री डा. प्रकाशशरण महत र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई एसएमएस गर्ने कर्मचारीले बताएका छन्।

बुधबार संघीय संसदका १० ठूला राजनीतिक दलका प्रमुख सचेतकहरूलाई पनि कर्मचारीहरूले एसएमएस गर्नेछन्। वैशाख २१ मा कर्मचारीहरूलाई सिंहदरबार प्रवेश नगर्न आह्वान गरिएको छ।

प्रकाशित: १९ वैशाख २०८० १५:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + eight =