ल्हासामा नेपाली वकिल निधनको खबर दिल्लीबाट

सन्तोष खडेरी १९ वैशाख २०८० ५:४९
1.5k
SHARES
ल्हासामा नेपाली वकिल निधनको खबर दिल्लीबाट आफ्ना सहयोगीका साथ वकिल मेजर कप्तान हिरण्यबहादुर विष्ट। यो तस्बिर सन् १९३९ मा तिब्बत जाने जर्मनी आरोहण दलले खिचेको हो। तस्बिर स्रोत : विकिपेडिया

तिब्बतलाई उहिले ‘भोट’ भनिन्थ्यो। तिब्बतसँग नेपालको सम्बन्ध नेपाल एकीकरणभन्दा पहिलेदेखि नै हो। मल्लकालमा समेत भोटसँग काठमाडौँ उपत्यकाको व्यापार हुने गर्थ्यो। सन् १८५६ देखि भोटमा नेपाल सरकारका प्रतिनिधि रहन थालेका हुन्।

जंगबहादुर राणाका पालामा सन् १८५५-५६ मा तेस्रोपटक नेपाल-भोट युद्ध भयो। त्यसअघि सन् १७८८ र १७९२ मा पनि नेपाल-भोटबीच युद्ध भएको थियो। तेस्रोपटक चलेको नेपाल-भोट युद्ध सन् १८५६ मार्चमा सन्धि भएर रोकिएको थियो। उक्त सन्धिलाई थापाथली सन्धिका रूपमा स्मरण गरिन्छ।

सन्धिको धारा ५ मा तिब्बतमा नेपाल सरकारको प्रतिनिधि रहने प्रावधान थियो। त्यसबाहेक तिब्बतले वार्षिक रूपमा नेपाललाई १० हजार दिने, नेपाली व्यापारीलाई तिब्बतभर व्यापार गर्न कर/भन्सार नलाग्ने र त्यहाँ बसोबास गर्ने नेपालीबीचको मुद्दा-मामिला नेपाली वकिलले नै टुंगो लगाउने प्रावधान थियो।

सन्धिमा नेपालले आफ्ना प्रतिनिधि राख्ने व्यवस्थाअन्तर्गत नियुक्त प्रतिनिधिलाई वकिल भनिन्थ्यो। नेपाली वकिल नेपाली सेनाबाट नियुक्त हुन्थे। पहिलो वकिलका रूपमा कर्नेल जुद्धविक्रम थापा सन् १८५६ मा नियुक्त भएका थिए। उनी तीन वर्ष सन् १९५९ सम्म त्यहाँ रहे। सन् १८५९ मा कर्नेल रणवीरसिंह बस्न्यात नियुक्त भए। आफ्नो कार्यभार सम्हाल्न काठमाडौँबाट ल्हासा जाँदा बीच बाटोमै उनको निधन भएको थियो। उनी ल्हासा पुग्न पाएनन्।

त्यसपछि वकिलमा कप्तान चन्द्रमान कार्की नियुक्त भए। नियुक्तिले तेस्रो भए पनि उनी कार्यभार सम्हाल्ने दोस्रो वकिल थिए। कार्की सन् १८६५ सम्म करिब छ वर्ष त्यहाँ रहे। सन् १८५६ देखि सन् १९५६ को करिब एक सय वर्षको अवधिमा २० जनाजति वकिल त्यहाँ नियुक्त भए। सन् १९५५ मा जनगणतन्त्र चीनसँग नेपालको कूटनीतिक सम्बन्ध स्थापना भयो।

अर्को वर्ष १९५६ मा नेपाल-चीनबीच तिब्बत मामिलामा एउटा सन्धि भयो। त्यस सन्धिले तिब्बतसँग भएको नेपालको पुरानो सन्धि खारेज गर्‍यो। तिब्बतलाई चीनको स्वशासित क्षेत्रका रूपमा स्वीकार गरियो। त्यसपछि नेपालले तिब्बतमा झण्डै एक शताब्दीदेखि पाउँदै आएको विशेषाधिकार गुमायो।

उक्त सन्धिमा तिब्बतको ल्हासामा नेपालको महावाणिज्यदूतावास (कन्सुलेट जनरल) रहने व्यवस्था थियो। त्यसैअन्तर्गत सन् १९५६ मा तिब्बतमा महावाणिज्यदूतावास स्थापना हुँदा पहिलेको त्यही वकिल कार्यालय नै नयाँ रूपमा परिणत भयो।

तिब्बतको ल्हासामा सन् १८५६-१९५६ सम्म करिब २० जना वकिल नियुक्त भए। तीमध्ये कर्नेल रणवीरसिंह बस्न्यातको ल्हासा नपुग्दै बाटोमा निधन भएको थियो भने सन् १९३५ मा वकिल रहेका गम्भीर शमशेर थापाको पनि ल्हासामा वकिल रहेकै समयमा निधन भएको थियो। उनको नियुक्ति सन् १९३२ मा भएको थियो। त्यस्तै सन् १९४५ मा त्यहाँ वकिल रहेका मेजर कप्तान हिरण्यबहादुर विष्टको समेत त्यहीँ निधन भएको थियो। विष्टको नियुक्ति सन् १९३७ मा भएको थियो। ल्हासामा वकिल रहेकै बेला निधन हुने उनै विष्टको निधनबारे यहाँ चर्चा गरिएको छ।

मेजर कप्तान हिरण्यबहादुर विष्ट वकिल नियुक्त हुनुअघि त्रिचन्द्र कलेजमा प्राध्यापक थिए। उनले कानुनमा स्नातक गरेका थिए। विष्टबारे त्यति धेरै जानकारी उपलब्ध छैन। विष्टको निधन हुँदा सिक्किमका ब्रिटिस भारतका पोलिटिकल अफिसर होप्किन्सन ल्हासामा थिए। उनले नै ब्रिटिस भारत सरकारलाई दिल्लीमा त्यसबारे जानकारी गराएका थिए। दिल्लीबाट त्यो जानकारी ब्रिटिस भारत सरकारले नेपालस्थित ब्रिटिस मिनिस्टरलाई गरायो। नेपालस्थित ब्रिटिस मिनिस्टर जर्ज अर्थर फाल्कनरले सो जानकारी तत्कालीन प्रधानमन्त्री पद्मशमशेरलाई दिए। विष्टको निधनसम्बन्धी जानकारी नयाँदिल्लीस्थित राष्ट्रिय अभिलेखागारमा रहेको सोही दस्तावेजको आधारमा तयार गरिएको हो।

ल्हासास्थित नेपाल सरकारका प्रतिनिधि वकिल मेजर कप्तान हिरण्यबहादुर विष्टसहित त्यहाँ रहेका डिट्ठा र मुखिया सँगै बिमारी परेका थिए। ल्हासामा रहने ब्रिटिस प्रतिनिधिका साथमा त्यतिबेला इन्डियन मेडिकल सर्भिसका डाक्टरसमेत खटिएका हुन्थे। ल्हासामा ब्रिटिस प्रतिनिधिका डाक्टरका रूपमा लेफ्टिनेन्ट कर्नेल जेम्स गुथरी थिए।

सन् १९४५ डिसेम्बर ९ मा उनै डाक्टर गुथरी बिरामी विष्टसहित अन्यको उपचारमा खटिए। सोही दिन त्यो जानकारी अफिसर होप्किन्सनले दिल्लीमा पठाएका थिए। वकिल विष्ट, डिट्ठा र मुखिया एकैचोटि बिरामी भएका थिए। डिट्ठा र मुखिया को थिए भन्ने खोजीकै विषय छ। तीमध्ये एकजनाको नाम दुर्गाबहादुर पाण्डे थियो। उनी डिट्ठा वा मुखिया के हुन् भन्ने यकिन छैन।

डाक्टरले विष्टको निधन निमोनियाका कारण भएको ठहर गरे। उनीहरू त्यतिबेला कडा किसिमको इन्फ्लुएन्जाबाट ग्रसित थिए। मेजर विष्टलाई भने निमोनिया भएको थियो। त्यही कारण डिसेम्बर ९ मा उनको निधन भयो। डाक्टर गुथरीले त्यतिबेला तीनै जनाको सँगै उपचार गरेका थिए। विष्टको एक श्रीमती र नौ सन्तान रहेको जानकारी उनको निधनसम्बन्धी टेलिग्राममा होप्किन्सनले उल्लेख गरेका थिए।

अन्य दुई डिट्ठा र मुखियालाई भने निमोनिया नभएको र उनीहरूको स्वास्थ्यमा बिस्तारै सुधार भयो। विष्टको निधनको अर्को दिन ल्हासामा रहेका अफिसर होप्किन्सनले दिल्लीमा उनको निधनको जानकारी गराए। दिल्लीबाट सोही दिन टेलिग्राममार्फत उक्त जानकारी नेपालस्थित ब्रिटिस मिनिस्टर फाल्कनरलाई आयो। उनले सो जानकारी तत्कालै प्रधानमन्त्री पद्मशमशेरलाई गराएका थिए।

ल्हासामा रहेका नेपाल सरकारका प्रतिनिधि वकिलको निधन भएपछि पद रिक्त भयो। सोही डिसेम्बर १२ मा प्रधानमन्त्री पद्मशमशेरले तिब्बतका काजी कस्याललाई पत्र पठाउँदै कार्यवाहक वकिलका रूपमा कप्तान लोकबहादुर पाण्डेलाई नियुक्त गरेका थिए। यसरी ल्हासास्थित आफ्ना वकिलको निधनको जानकारी नेपालले आफ्नो संयत्रभन्दा पहिले ब्रिटिस स्रोतबाट प्राप्त गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + four =