स्थलमार्गबाट आउने पर्यटकलाई एकद्धार सेवा प्रदान गर्न अध्यक्ष ढकालको माग

हिमाल प्रेस ४ जेठ २०८० १४:०५ | Thursday, May 18, 2023
स्थलमार्गबाट आउने पर्यटकलाई एकद्धार सेवा प्रदान गर्न अध्यक्ष ढकालको माग

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्थलमार्गबाट नेपाल भ्रमणमा आउने विदेशी पर्यटकलाई एकद्धार प्रणालीमार्फत सेवा दिन माग गरेका छन्।

अन्तरमन्त्रालय समन्वयको अभावमा नेपाल–भारत सिमा नाकामा पर्यटनकले दुःख पाएको गुनासो आएकाले यस्ता समस्या तत्काल समाधान गर्न एकद्धार प्रणालीबाट सेवा दिन ढकालले माग गरेका हुन्।

बिहीबार काठमाडौँमा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्सको ५४औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले अर्थ, गृह र पर्यटन मन्त्रालयबीच समन्वयको खाँचो रहेको बताए। उनले भने, ‘यो ठूलो समस्या होइन। यसलाई एक दुई दिन वा हप्ता दिनभित्रै समाधान गर्न सकिन्छ।’

पर्यटकले दुःख पाउँदा अन्तर्राष्ट्रिय जगतमा नराम्रो सन्देश जाने भएकाले समस्या तत्काल समाधान गर्न उनले आग्रह गरे।
अध्यक्ष ढकालले हरेक प्रदेशमा ठूला र नमूना पर्यटकीय गन्तव्य निर्माणमा निजी क्षेत्रसँग सरकारले सहजीकरण गर्नुपर्ने धारणा पनि राखे। उनले भने, ‘काठमाडौँको चन्द्रागिरिजस्तै हरेक प्रदेशमा पर्यटकीय पूर्वाधार भए पर्यटक बसाइलाई दोब्बर गर्न सकिन्छ।’

कोभिडपछि पर्यटन व्यवसाय लयमा आउन लागेको बताउँदै उनले भैरहवा र पोखरामा निर्माण सम्पन्न भइसकेका अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक पहल गर्न सरकारसँग आग्रहसमेत गरे।

प्रकाशित: ४ जेठ २०८० १४:०५ | Thursday, May 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast