लुम्बिनीमा झन्डै एक महिनापछि सरकार विस्तार, अझै पूर्ण भएन

विनोद परियार ८ जेठ २०८० १८:२४ | Monday, May 22, 2023
लुम्बिनीमा झन्डै एक महिनापछि सरकार विस्तार, अझै पूर्ण भएन

लुम्बिनी- लुम्बिनी प्रदेका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले २४ दिनपछि मन्त्रीमण्डल विस्तार गरेका छन्। नेकपा माओवादी केन्द्रसहित ८ दलको समर्थनमा वैशाख १४ मुख्यमन्त्रीमा नियुक्त भएका कांग्रेस संसदीय दलका नेता चौधरीले निकै लामो कसरतपछि सोमबार मन्त्रीमण्डल विस्तार गरेका हुन्। बजेट निर्माणका बेला मन्त्रालय मन्त्रीविहीन भएको भन्दै आलोचना भए पनि चौधरीले मन्त्रिमण्डललाई अझै पूर्णता दिन सकेनन्।

सोमबार चौधरीले नेपाली कांग्रेसका राजु खनाल, जनता समाजवादी पार्टीका भण्डारीलाल अहिर र जनमत पार्टीका चन्द्रकेश गुप्ता (सिके) लाई मन्त्री नियुक्त गरेका हुन्। खनाल स्वास्थ्यमन्त्री, अहिर कृषि तथा भूमि व्यवस्था मन्त्रालय र गुप्ता सामाजिक विकास मन्त्रीमा नियुक्त भएका हुन्। नवनियुक्त मन्त्रीले सोमबार प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका हुन्।

यसअघि विनाविभागीय मन्त्रीका रुपमा रहेका लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष कुमार पाण्डेयले आन्तरीक मामिला, कानुन तथा सहकारी मन्त्रालय र नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरीले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्। सरकार विस्तारमै अलमलमा परेका चौधरीले जेठ १ गते सत्ता साझेदारको मुख्य दल नेकपा माओवादी केन्द्रका धनबहादुर मास्कीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको थियो।

मुख्यमन्त्री चौधरीले मन्त्रिमण्डल विस्तार गरेपनि पूर्णता दिन सकेनन्। मुख्यमन्त्रीले खानेपानी, ग्रामिण तथा सहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय गरि ३ वटा मन्त्रालय आफैँसँग राखेका छन। माओवादी र कांग्रेसमा अझै मन्त्रीका लागि आकाक्षीहरू धेरै छन्।

त्यस्तै सत्ता गठबन्धनमा रहेको नेकपा एकिकृत समाजवादीले एउटा मन्त्रालय पाउनुपर्ने अडान राखेको छ। धेरै दल र मन्त्रालयको संख्या कम भएकाले विस्तारका लागि सकस परेको छ। बजेट निर्माणमा खटिनुपर्ने भएकाले मन्त्रीमण्डल विस्तार गरिएको हो।

लुम्बिनीमा नक्कली भुटानी शरणार्थी प्रकरणमा यहाँका मुख्य नेताहरू पक्राउ परेपछि सरकार विस्तार रोकिएको थियो। यसअघि एमाले नेतृत्वको सरकारले १७ सदस्यीय मन्त्रिपरिषद् संख्या घटाएर १० पुर्‍याएको थियो।

प्रकाशित: ८ जेठ २०८० १८:२४ | Monday, May 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast