 
                             
                                            पोखरा- नेपाल नाट्यप्रतिष्ठान पोखराको आयोजनामा यहाँ बिहीबारदेखि नेपाली नाटकको प्रथम अन्तर्राष्ट्रिय सेमिनार सुरु भएको छ। तीन दिनसम्म चल्ने सेमिनारमा विषय विज्ञहरूले प्रस्तुति दिनेछन्।
आयोजकका अनुसार सेमिनारमा नेपालबाट ९ र भारतबाट १० कार्यपत्र प्रस्तुत गरिने छन्। सेमिनार उद्घाटन गर्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले भाषा साहित्यको जीवन्त पक्ष नाटक भएको बताए। उनले पोखरा प्रकृतिको जस्तै कला, साहित्य र संस्कृतिको पनि राजधानी रहेको दाबी गरे।
वरिष्ठ समालोचक प्राध्यापक डा. दयाराम श्रेष्ठले सेमिनारलाई नेपाली नाटकको कुम्भमेलाको संज्ञा दिँदै यसले विश्वबन्धुत्वको भावना जागृत हुने बताए। उनले सेमिनारलाई परिणाममुखी बनाउन सुझाव पनि दिए।
गण्डकी प्रज्ञाप्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीले स्रष्टाको सम्मान जिउँदै छँदा हुनुपर्ने भन्दै पोखरामा व्यवस्थित नाटकघर स्थापना गर्न महानगरको ध्यानाकर्षण गराए।
नेपाल प्रज्ञाप्रतिष्ठानका सल्लाहकार अशोष मल्लले नाटक विधालाई समृद्धि बनाउन सबैले भूमिका खेल्नुपर्ने बताए।
प्रतिष्ठानका सल्लाहकार साहित्यकार सरुभक्तले सेमिनारले नेपाल र भारतबीचको सांस्कृतिक एवम् रंगकर्मीबीच सेतुको काम गर्न विश्वासरहेको बताए। सो अवसरमा पोखरा प्रज्ञाप्रतिष्ठान कुलपति पद्मराज ढकाल, पृथ्वीनारायण क्याम्पस प्रमुख प्राधयपक डा. सरोज कोइराला, पोखरा महानगर शिक्षा महाशाखा प्रमुख हेमराज आचार्यलगायतले मन्तव्य दिए।
त्यस्तै नेपाल संगीत नाट्य प्रतिष्ठानका नाट्य प्रमुख हिसनबहादुर थापामगर लगायतले पनि धारणा राखे। उनीहरूले वाङ्मय क्षेत्रको कठिन विधा नाटक भएको, पोखरामा व्यवस्थित नाटकघरको आवश्यकता रहेको, कतिपय अवस्थामा मानव जीवन पनि नाटकजस्तै रहेको धारणा राखे।
आयोजक प्रतिष्ठानका अध्यक्ष प्राध्यापक डा. रामचन्द्र पोखरेलले सेमिनारलाई रंगसम्मेलनको संज्ञा दिँदै कार्यक्रमपछि बालकृष्ण सम तथा अशेष मल्लका सम्पूर्ण नाटक प्रकाशन गर्ने बताए।
आयोजक संस्थाका अध्यक्ष प्राध्यापक डा. पोखरेल, त्रिचन्द्र कलेजबाट प्राध्यापक डा. सावित्री कक्षपतिले कार्यपत्र प्रस्तुत गरेका थिए। त्यस्तै दार्जलिङको कालेबुङबाट आएका नवीन पौड्याल, नेपाली केन्द्रीय विभागबाट डा. अशोक थापा, सिलगढीबाट डा. वीरबहादुर विश्वकर्मा, नेपालबाट ताराप्रसाद पोखरेल र आसामबाट पूर्णकुमार शर्माले कार्यपत्र प्रस्तुत गरेका थिए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 