वालिङ : घर पास गर्न नगरपालिका जानुपर्ने हैरान हरायो

हिमाल प्रेस १६ वैशाख २०८० ९:०७
4
SHARES
वालिङ : घर पास गर्न नगरपालिका जानुपर्ने हैरान हरायो

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिकाभित्रका नागरिकले घरको नक्सा पास गर्न नगरपालिका धाउनु नपर्ने भएको छ।

सूचीकृत इन्जिनियरिङ कन्सल्टेन्सीमार्फत अब अनलाइनबाटै घरको नक्सा पासको निवेदन दिन सकिने भएको छ। यसबाट सेवाग्राहीलाई सहज भएको छ।

फाइल बोकेर कार्यालयमा जानुपर्ने झण्झट सकिएको छ। स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले नगरभित्रका इन्जिनियरिङ कन्सल्टेन्सीलाई अनलाइन घर नक्सा पास व्यवस्थापन प्रणालीका बारेमा प्रशिक्षण दिई सूचीकृत गरेको नगरपालिकाका सूचना प्रविधि शाखा प्रमुख इन्जिनियर प्रकाश अर्यालले बताए।

नगरपालिकामा हाल सात कन्सल्टेन्सी सूचीकृत गराइएको र सोहीमार्फत अनलाइन घरको नक्सा पास व्यवस्थापन प्रणाली (ईवीपीएस)अनुसार काम अगाडि बढिरहेको उनले बताए।

‘नगरपालिकाको ईवीपीएसमा सूचीकृत भएका कन्सल्टेन्सीमार्फत लाभग्राहीले अनलाइन निवेदन दिनुहुन्छ’, अर्यालले भने, ‘सूचीकृत कन्सल्टेन्सीमार्फत नगरपालिकामा आएका निवेदन तथा आवश्यक कागजात रुजु गर्ने, सम्बन्धित फाँटमा सिफारिस गर्नेजस्ता चरण पार गर्दै शाखा प्रमुखले दस्तखत गरेपश्चात् प्रमुख प्रशासकीय अधिकृतले दस्तखत गरी स्वीकृत हुने गर्छ।’

अनलाइन माध्यमबाटै घरनक्सा पासको रकम भुक्तानीको व्यवस्थापन, डिजिटल दस्तखतको प्रयोगमा जोड दिँदै आगामी दिनमा यसलाई अझै प्रभावकारी तरिकाले अगाडि बढाउने तयारी भइरहेको अर्यालले बताए।

फाइल बोकेर सेवाग्राही कार्यालयसम्म आउन नपर्ने, काम छिटो छरितो र पारदर्शी हुने, कागजातहरू अनलाइनमै सुरक्षित रहने भएकाले पछि खोज्दा सजिलै प्राप्त गर्न सकिने भएकाले पनि ईबीपीएस प्रभावकारी बन्दै गएको उनले बताए।

वालिङस्थित इन्जिनियरिङ कन्सल्टेन्सीलाई विभिन्न चरणमा प्रशिक्षण दिएर अनलाइन घर नक्सा पास व्यवस्थापन प्रणालीको सुरुआत गरिएको नगरपालिकाका घर नक्सा शाखाका कम्प्युटर अपरेटर रञ्जित पौडेल बताए।

अनलाइन घरनक्सा पास व्यवस्थापन प्रणाली लागू भएसँगै चालु आर्थिक वर्षमा २०७२ सालको मापदण्ड अनुसार ६०, नियमित अभिलेखीकरण (भूकम्प) २७ र ८५ वटा दर्ता पास भएका अपरेटर पौडेलले बताए।

अनलाइनबाट गरिने घर नक्सा पास प्रणाली प्रभावकारी बन्दै गएको वालिङ इन्जिनियरिङ कन्सल्टेन्सी प्रालिका प्रबन्ध निर्देशक तथा सिभिल इन्जिनियर शंकर बस्यालले बताए।

प्रकाशित: १६ वैशाख २०८० ९:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =