फिल्म अनुभूति

पासाङ : अदम्य साहस र संघर्षको कथा

रमेशप्रसाद खनाल १६ वैशाख २०८० १३:४६
16
SHARES
पासाङ : अदम्य साहस र संघर्षको कथा

अप्रिल २२, १९९३। नेपाल पर्वातारोहणको इतिहासमा एक सुनौलो अक्षरले लेखिएको दिन। त्यो दिन नेपाली महिलाको प्रतिनिधित्व गर्दै पर्वतारोही पासाङ ल्हामु शेर्पाले पृथ्वीको उच्चतम बिन्दु ८८४८ मिटरमा आफ्ना पाइला टेकेकी थिइन्।

मान्छेले सगरमाथामा पहिलो पाइला टेकेको २२ वर्षपछि जापानकी महिला जुनको ताबेईले मे १६, १९७५ सगरमाथा आरोहण गरेकी थिइन्। त्यस ऐतिहासिक घटनाको १८ वर्षपछि नेपालको पहिलो महिला आरोही बन्न सफल भइन्, पासाङ ल्हामु शेर्पा।

पासाङले कहिल्यै कुनै विद्यालयको ढोका देखेकी थिइनन्। तर जीवनका अनगिन्ती उतारचढावले वास्तविक पाठ पढाएर उनी सबल, सक्षम र साहसको प्रतीक बनिन्।

सगरमाथाको चुचुरोको सफल आरोहणपश्चात् फर्किने क्रममा उनको मृत्यु भयो। परिवारले एक मायालु छोरी, श्रीमती, आमा, दिदी, बहिनी गुमायो। राष्ट्रले विश्वमा नेपालको नाम राख्ने अठोट बोकेर आफ्नो ज्यानको बाजी लगाउन पछाडि नहट्ने एक साहसी र आँटिलो महिला। आरोहण सफल हुँदा खुसीको खबरसँगै आएको दुःखको खबरले कुन नेपालीको मन चुडिएन होला। कसको आँखामा आँसु आएन होला। एकातिर गर्वले छाती फुलेको थियो, अर्कोतर्फ पासाङको निधनले सबैलाई मर्माहत बनाएको थियो।

यस वर्ष २०२३ अप्रिलमा पासाङको सफल सगरमाथा आरोहण र निधन भएको ३० वर्ष पुगेको छ। यस अवसरमा पासाङ ल्हामु फाउन्डेसनको आयोजनामा उनको जीवन, संघर्ष, विजयको गाथा र दुःखद निधनका परिघटना समेटेर बनाइएको वृत्तचित्र ‘पासाङ : इन द स्याडो अफ एभरेस्ट’को प्रिमियर सो भयो।

म समीक्षक होइन। न फिल्म बनाउने कुनै कला नै जान्दछु। तर साहित्य, संगीत, नाटक, फिल्म मेरा मन पर्ने विषय हुन्। तिनको आनन्द लिन्छु। पाएसम्म र समय भएसम्म नयाँ-नयाँ विषयमा बनाइएका फिल्म र नाटक हेर्न छुटाउँदिनँ। त्यही आधारमा पासाङबारे बनेको वृत्तचित्रको विषयमा एक सामान्य दर्शकको अनुभव बाँड्न चाहन्छु।

१ घण्टा १२ मिनेट लामो वृत्तचित्रले अवधिभर मन्त्रमुग्ध बनायो। समय कसरी बित्यो पत्तै भएन। आफ्नो जीवनको निर्णय आफैँ गर्ने साहसी पासाङको वैवाहिक जीवनदेखि पर्वतारोहणको विषय ज्यादै रोचक छ।

पहिलोपटक एक फ्रेन्च टोलीसँग सगरमाथा चढ्न जाँदा पासाङले अपहेलना र अपमान भोग्नुपरेको अनुभूति त्यसमा देखाइएको छ। उनलाई लाग्यो, ‘आफ्नो देशको नागरिक भएर किन सगरमाथा चढ्न नपाउने?’ त्यसपछि आफ्नै बलबुँतामा सगरमाथाको शिखर चुम्ने अठोट लिइन्।

वृत्तचित्र विश्वका ३५ भन्दा बढी चलचित्र महोत्सवमा प्रदर्शन गरिसकिएको छ। यसले विभिन्न विधामा २५ वटा अन्तर्राष्ट्रिय अवार्डसमेत हात पारेको छ।
अमेरिकी फिल्म निर्देशक नान्सी सेभेन्सनको निर्देशनमा बनेको छ वृत्तचित्र। विश्वका नामुद पर्वतारोही, उनको परिवारका निकट सदस्य र पर्वतारोहणमा गएका साथीसँगकोे संवादले डकुमेन्ट्रीलाई जानकारीमूलक र रोचक बनाएको छ।

३० वर्षअघि नेपालमा भर्खरभर्खर राजनीतिक परिवर्तन हुँदै थियो। तत्कालीन नेपालको वास्तविक चित्र देखाउन वृत्तचित्र सफल भएको छ। त्यतिखेर सरकारी सञ्चारमाध्यमको वर्चस्व थियो। त्यति बेलाको प्रविधिमा नेपाल टेलिभिजनले बनाएका समाचार र वृत्तचित्रको आर्काइभलाई संकलन गर्न र वर्तमान आधुनिक प्रविधिमा ल्याउन करिबकरिब १० वर्ष लागेको ‘पासाङ’का नेपाली निर्माता तथा निर्देशक छिरिङ रितार शेर्पाले बताए। ‘थुप्रै वर्षको मेहनत र अनगिन्ती अन्तर्वार्ताको परिणति हो यो वृत्तचित्र,’ उनले भने, ‘त्यसैले दर्शकले १ घण्टा १२ मिनेट बितेको पत्तै पाउँदैनन्।’

पछिल्लो समय सञ्चार र शिक्षाको द्रुतगतिमा विकास भए पनि उतिखेर नेपाली समाज भर्खरभर्खर विश्वसँग परिचित हुँदै थियो। नेपालका पहाड, हिमाल र तराईका धेरै भाग पिछडिएका थिए। विकास सहर केन्द्रित थियो।

यस्तो बेलामा विकट हिमाली भेगको एउटा सामान्य शेर्पा परिवारमा पासाङको जन्म भयो। दैनिक जीवनमा गरिने संघर्षले उनी खारिइन्। अभाव, उत्पीडन र पक्षपात भोगे पनि जतिसुकै विषम परिस्थितिमा फुल्ने फूल बनिन्। त्यसैले आफ्नोमात्र होइन नेपालीको नाम र मान राख्न सफल भइन्।

तीन कलिला केटाकेटी टुहुरा हुन् सक्ने र तिनले आमाबिना हुर्किदा पाउने ताडना उनले नबुझेकी होइनन्। तर उनलाई घरपरिवार श्रीसम्पतिभन्दा पनि ‘सगरमाथामाको शिखरमा एक नेपाली नारीले देशको झण्डा फहराउन सक्छ’ भन्ने प्रमाणित गर्नु थियो। नेपाली महिलाको शिर सदैव उच्च राख्ने हुटहुटीले उनी आफ्नो ज्यानसमेत जोखिममा हाल्न पछाडि परिनन्।

आज उनकै पदचाप पछ्याउँदै सयौँ नेपाली नारीले सगरमाथाको सफल आरोहण गरिसकेका छन्। सन् २०१६ को अप्रिल १५ सम्म ३२३ जना महिलाले सगरमाथा आरोहण गरिसकेको तथ्य छ। ‘महिला होस् वा पुरुष लक्ष्यप्रति स्पष्ट छ, लगनशील छ, बाधाअवरोधसँग जुध्ने आँट छ भने जित्न नसकिने कुनै कुरा छैन’ भन्ने कुरा पासाङले संसारसामु प्रस्ट पारेकी छन्।

तत्कालीन राज्य र नेतृत्वसँग पासाङले एउटा अनुरोध गरेकी थिइन्, नेपाली महिलाहरूको टोलीलाई आरोहण शुल्क मिनाहा गर्न। तर उनको अनुरोधमा नेतृत्वले खासै चासो दिएन। बेवास्ता हुँदाहुँदै केही कम्पनी तथा व्यक्तिको सहयोगमा उनले कम्मर कसेकी थिइन्। आफ्नो ट्रेकिङ कम्पनी पनि दाउमा लगाइन्। पासाङसँगै फुटी शेर्पा र नन्दा राई गरी तीन पर्वतारोही महिलाको टोली अगाडि बढ्यो।

पासाङको जन्म सोलुखुम्बुको सुर्के गाउँमा भएको थियो। उनले अभाव, गरिबीमा आमाबालाई संघर्ष गरेको देखिन्। सानैदेखि निडर र हक्की स्वभावकी थिइन्। ठीक नलागेको कुरामा विरोध गरिहाल्ने। वृत्तचित्रमा उनको स्वाभिमानी स्वभाव देख्न सकिन्छ।

त्यतिबेला शेर्पाहरूमा परम्परागत रूपमा मागी विवाह गर्ने प्रचलन थियो। त्यस विपरीत पासाङले आफ्नो जीवनसाथी आफैँ छानिन्। परम्पराको नाममा हुने उत्पीडन र अत्याचारको विरोध गरिन्।

त्यस्तै उनको स्वाभिमान नेपाल-भारत महिला संयुक्त टोलीको नेता छनोट गर्दा पनि झल्किन्छ। त्यस घटनापछि पासाङ आफ्नै नेतृत्वमा आरोहण गर्न अझ उत्प्रेरित हुन्छिन्। नेपालीको आफ्नो हिमाल नेपालीले नै चढ्न सक्छन् भन्ने आँटका साथ उनी अगाडि बढेको दृश्यले जीउ सिरिङ हुन्छ। पासाङप्रति गौरव र सम्मान बढ्छ। त्यो दृश्यले दर्शकको मन र मुटु छुन्छ।

नेपालको हिमाल वारिका रैथाने जनजाति शेर्पा आफ्नो सम्पन्न इतिहास, परम्परा, धर्म, संस्कृति र रीतिथितिका लागि विश्व प्रख्यात छन्। मे, १९५३ मा पहिलोपटक सगरमाथा आरोहण गर्ने पहिलो नेपाली तेञ्जिङ नोर्गे शेर्पाले आफ्नो जातिको वीरता, साहस र संघर्षको पहिचान विश्वलाई गराएका थिए। साथै नेपाल र नेपालीको अस्तित्वलाई संसारभर फैलाएका थिए।

आज पनि हिमाल आरोहण शेर्पाको सहयोगबिना असम्भव नै छ। हिमाल र शेर्पा एकअर्काका निमित्त अपरिहार्य बनेका छन्। त्यसैले होला ‘शेर्पा’ शब्द अंगेजी भाषाको शब्दकोशमा समेत समाविष्ट छ। जसमा शेर्पालाई ‘अत्यावश्यक सहयोगी वा सल्लाहकार’का रूपमा अर्थ्याइएको छ।

हिमाल हेर्दा जति राम्रो, सुन्दर र आभापूर्ण हुन्छ, त्यहाँ दैनिक जीवन त्यति नै कठिन हुन्छ। खेतीकिसानीदेखि व्यवसायसम्मका असुविधा र असहजता हुन्छन्। सबै तत्वको अभावमा पनि प्रकृतिले जेजस्तो उपलब्ध गराएको छ, त्यसैमा रम्दै, जीवन बिताउनुपर्ने बाध्यता छ। बाँच्नको निमित्त गर्नुपर्ने दैनिक परिश्रम र संघर्षले शेर्पाहरूको जीवनदर्शन, सामाजिक-सांस्कृतिक अवधारणा बनाएको हुन्छ।

जस्तोसुकै कठिनाइ र परिस्थितिसँग पनि जुध्न तयार रहन्छन् शेर्पा। विभिन्न जटिलताले उनीहरू जीवन निर्देशित गर्ने गर्छ।  काठमाडौँ, बौद्धमा जन्मेहुर्केको मैले सानैदेखि यस क्षेत्रमा बसोबास गर्ने शेर्पाको जीवन र संस्कृतिसँग परिचित हुने अवसर पाएँ। कतिपय परिवारको घनिष्ठ पनि बनेँ।

विगत फर्केर हेर्दा महाकवि लक्ष्मीप्रसाद देवकोटाको खण्डकाव्य ‘मुना मदन’ पढेपछि हिमाल, हिमालमा बसोबास गर्ने शेर्पालगायत विभिन्न जातजातिको इतिहास, सामाजिक र सांस्कृतिक विषयमा मेरो चाख बढेको पाउँछु।

कूटनीतिक सेवामा प्रवेश गरेपछि हिमालका उच्चताले प्रदान गरेको प्राकृतिक सुरक्षा, त्यसबाट प्राप्त नेपालको स्वतन्त्रता र सार्वभौमिकताको महत्त्वको बोध भयो। हिमाल केवल हिउँ भएको सुन्दर प्राकृतिक पहाडमात्र होइन। भूराजनीतिको एक स्वरूप पनि हो। नेपालको अधिकांश हिमाली भूभाग चीनको तिब्बत स्वशासित क्षेत्रसँग जोडिएर नेपाल-चीनको सीमा बनेर उभिएका छन् हिमाल।

सहज आवागमन नहुने, अग्ला पहाड, सदैव हिमाच्छादित रहन्छन्। त्यही हिमालबाट बग्ने वेगवान् नदीनाला, भन्ज्याङ र गल्छीले मानवीय आवतजावत र सञ्चारमा कठिनाइ उत्पन्न गर्छन्। त्यहाँ जीवनयापन गर्नेका लागि समस्या रहे पनि राष्ट्रको सुरक्षा र स्वतन्त्रता अनि सार्वभौमिकता जोगाउन भने यसले प्राकृतिक अभेद्य किल्ला एवं पहरेदारको रूपमा काम गरेको इतिहास साक्षी छ।

विश्वका १० अग्ला हिमचुचुरामध्ये आठ चुचुरा नेपाली भूभागमा पर्नुले हिमाल देशको अर्थतन्त्रमा एक प्रमुख अंग पनि बन्न पुग्यो।

कूटनीति, भूराजनीत र अर्थतन्त्रमा समेत प्रभाव पार्ने भएकोले हिमाली शृखंलाबारे अध्यावधिक हुन् आवश्यक हुँदै गयो। मेरो रुचि पनि बढ्दै गयो। यस विषयमा अध्ययन गर्ने बानी पर्दै गयो।

भारतीय पूर्व परराष्ट्र सचिव र राजदूत अनुपमा रावद्वारा लिखित पुस्तक ‘द फ्य्राक्चर्ड हिमालय : इन्डिया, टिबेट, चाइना १९४९-६२’ गत वर्ष प्रकाशित भएको थियो। किताब आद्योपान्त पढेपछि भूगोल, भू-अवस्थिति, भूराजनीति र कूटनीतिक संवादमा दक्षिण एसियाको हकमा हिमालय शृंखलाको रणनीतिक स्थान, महत्त्व र भूमिकाबारे बुझ्न सहज भएको थियो।

जोन क्राकाउरद्वारा सगरमाथा आरोहणबारे लेखिएको पुस्तक ‘इनटू थिन एयर’ पढेपछि हिमालका धेरै पक्षबारे जान्ने मौका मिल्यो। ‘पासाङ’ हेरिरहँदा यी सबै कुरा मेरो मानसपटलमा घुमिरहेका थिए।

वृत्तचित्र सकियो। पासाङको मृत शरीर साउथ कोलबाट झारिँदै गरेको दृश्यले मुटुमा गाँठो पर्‍यो। स्वयम्भूको त्यो घाटमा उनको शरीर अग्निमा जल्दै थियो, उता उनका परिवारजनमात्र होइन सारा देशवासी रोइरहेका थिए। मृत्यु अकाट्य सत्य हो। तर पासाङको त्यो नसोचिएको मृत्युले उनको विजयमा राष्ट्रले खुशी पनि मनाउन पाएन। उनीसँग खुशी साट्न तयार आफन्त र नेपालीजन त्यो आगोको लप्कामा उनलाई देखिरहेका थिए। आगोले उनको पार्थिव शरीरलाई खरानी पार्दै थियो तर उनको नाम र काम भने स्वर्ण अक्षरले लेखिइसकेको थियो।

वृत्तचित्रले पासाङको अदम्य साहस, संघर्ष, सौर्य, सपना प्राप्तिमा लागिरहन, सही कुराको समर्थन र नाजायज कुराको विरोध गर्न कुनै धक नमान्ने कथा भन्छ। उनको संघर्षमय जीवनबाट सिक्न सके उनीप्रति हाम्रो सच्चा श्रद्धाञ्जलि हुनेछ। अंग्रेजी, फ्रेन्च, नेपाली भाषामा बोलिएको भए पनि सब-टाइटल अंग्रेजीमा छ। संवाद बुझ्न कठिन छैन। तर नेपाली भाषामा पनि सब टाइटल राख्न सकिए नेपाली भाषीमाझ अझ सहज रूपमा सम्प्रेषित हुने थियो।

(कूटनीति र साहित्य लेखनमा रुचि भएका लेखक पूर्वराजदूत हुन्।)

प्रकाशित: १६ वैशाख २०८० १३:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − seven =