प्रचण्डलाई निर्वाचन क्षेत्र छोड्न बाध्य भएका पाण्डे बने गण्डकीको मुख्यमन्त्री

विजय नेपाल १४ वैशाख २०८० १६:५४
130
SHARES
प्रचण्डलाई निर्वाचन क्षेत्र छोड्न बाध्य भएका पाण्डे बने गण्डकीको मुख्यमन्त्री फाइल तस्बिर।

पोखरा– सुरेन्द्रराज पाण्डे मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा गोरखा–२ मा कांग्रेसबाट एकल सिफारिस भएका थिए। विद्यार्थी राजनीतिबाट पार्टीमा स्थापित पाण्डे अघिल्लो कार्यकालमा राष्ट्रियसभा सदस्य भइसकेका थिए। राष्ट्रियसभामा प्रतिपक्षी दलका नेताको अनुभव बटुलिसकेका पाण्डेको नजर प्रतिनिधिसभा सदस्यतर्फ थियो।

उनको सो चाहना जिल्ला पार्टी नेतृत्वले पनि पूरा गरिदियो। तर अवरोध बन्यो केन्द्रमा जुटेको कांग्रेस–माओवादी गठबन्धन। कांग्रेस र माओवादीको चुनावी तालमेल र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखाबाट चुनाव लड्ने भएपछि संघीय संसद् बन्ने उनको चाहनामा तत्कालका लागि पूर्णविराम लागेको थियो।

अनि उनलाई दुवै दलका शीर्ष नेताले प्रदेशसभा सदस्यमा लड्न प्रस्ताव गरे। प्रचण्डलगायतका नेताले मुख्यमन्त्री बनाउने आश्वासन दिएपछि उनी प्रदेशसभामा चुनाव लड्न तयार भए। यति मात्रै होइन, उनको चुनावी अभियानलाई शीर्ष नेताले पनि सघाए। फलस्वरूप पाण्डे गोरखा क्षेत्र नम्बर २ को प्रदेश सभा (२) का एमालेका वसन्तकुमार गुरुङलाई हराएर प्रदेशसभा सदस्यमा निर्वाचित भए। प्रदेशमा कुनै दलले पनि बहुमत ल्याउन सकेन।

पाण्डे कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता बने। दलका नेता बनेपछि उनलाई मुख्यमन्त्री बन्ने बाटो त खुल्यो तर संघीय सरकारमा पुस १० गते बनेको सत्ता समीकरणअनुसार प्रदेशमा पनि एमाले–माओवादीको संयुक्त सरकार बन्यो। मुख्यमन्त्री बने एमालेका खगराज अधिकारी। केन्द्रमा एमाले–माओवादी गठबन्धन भत्किएपछि उनै अधिकारीले विश्वासको मत पाएनन्। त्यसपछि कांग्रेस–माओवादी गठबन्धनमा पाण्डेलाई मुख्यमन्त्री हुने बाटो खुलेको हो।

पाण्डे गोरखामा विवादरहित, सबैलाई समान व्यवहार गर्ने, कार्यकर्तासँगै जनताको पनि कुरा सुन्ने, जिल्लाको विकास निर्माण, योजनाबारे केन्द्रीय स्तरमा दबाब दिने, विकास र समृद्धिमा राजनीतिक प्रतिशोध नराख्ने, अन्य राजनीतिक दलका नेतासँग पनि समाभाव कायम गर्न सक्ने नेताका रूपमा परिचित छन्।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका पाण्डे लोकताीन्त्रक आन्दोलनका एक बलिया हस्ती मानिन्छन्। पाण्डे विद्यार्थीकालदेखि नेपाली कांग्रेसको भ्रातृसंस्था नेविसंघमा आबद्ध थिए। २०३६ सालमा नेविसंघको सदस्यता लिएका पाण्डे २०३९ सालमा नेविसघ अस्कल एकाइ सचिव भएका थिए। २०४५ सालमा त्रिचन्द्र क्याम्पसमा स्ववियु सभापति निर्वाचित भए।

२०४९ मा नेविसंघको केन्द्रीय सदस्य भएका पाण्डे २०५९ मा नेपाल तरुण दलको महासचिव बनेका थिए। तेस्रोपटक नेपाली कांग्रेसका केन्द्रीय सदस्य बनेका पाण्डे २०७४ सालमा राष्ट्रियसभामा सांसद थिए। उनी त्यति बेला प्रमुख प्रतिपक्ष दलका नेता थिए।

राष्ट्रियसभामा रहँदा प्रतिपक्ष दलका नेताको बलियो र प्रभावशाली भूमिका निर्वाह गरेका उनको कामको पार्टी भित्र र बाहिर पनि प्रशंसा भएको थियो। राजनीतिक आन्दोलनका क्रममा २०४५ साल र २०६१ सालमा गरी पाण्डे झन्डै आठ महिनाभन्दा बढी समय जेलमा परेका थिए।

प्रकाशित: १४ वैशाख २०८० १६:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 8 =