सामान्य समस्यामै एन्टिबायोटिक खाइहाल्न हुँदैन : डा. कटवाल

हिमाल प्रेस १४ वैशाख २०८० ११:१५
6
SHARES
सामान्य समस्यामै एन्टिबायोटिक खाइहाल्न हुँदैन : डा. कटवाल

कोरोना भाइरसको बढ्दो संक्रमण र वायु प्रदूषणका कारण घरबाहिर निस्किँदा मास्कको अनिवार्य प्रयोग गर्न चिकित्सकहरूले सुझाव दिएका छन्। मास्क नलगाई हिँड्डुल गरे नाक, कान र घाँटीमा समस्या आउँछ। मास्क नलगाई घरबाहिर निस्किए बिरामी हुने साझा समस्या छ काठमाडौँवासीमा। यसै विषयमा न्युज एजेन्सी नेपालले अल्का अस्पतालका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. शास्वत कटवालसँग कुराकानी गरेको छ।

मौसम परिवर्तनसँगै नाक, कान र घाँटीका बिरामीहरू बढेको देखिन्छ किन?

हाम्रो नाकको जुन नर्मल म्युकोजा भन्ने लाइनिङ हुन्छ त्यो मौसम परिवर्तनले गर्दा सुक्खा हुन्छ। त्यही भएर संक्रमित हुने सम्भावना बढी हुन्छ। जहिले पनि मौसम परिवर्तन हुँदा संक्रमण हुने सम्भवाना बढी हुने हो। धेरैजसो राइनो भाइरस भन्छौँ हामीले। यो चाहिँ जाडो महिनामा संक्रमित हुने सम्भवाना धेरै हुन्छ। रुघाखोकी लाग्ने कारण पनि त्यही नै हो। हाम्रो नर्मल म्युकोजा जुन हुन्छ त्यो सुक्खा भएर राम्रोसँग काम गर्न नसकेर संक्रमण बढिरहेको हुन्छ।

नाक, कान र घाँटीको समस्या प्रायः आइरहेको हुन्छ तर हामीले त्यसको उपचार घरबाटै खोजिरहेका हुन्छौँ यसलाई कसरी हेर्ने?

धेरैजसो नाक, कान र घाँटीमा समस्या हुने भनेको एलर्जी र ग्यास्ट्रिकले गर्दा हो। यसले धेरै फरक पार्छ। हाम्रो समस्या के छ भने नाक अलि दुख्यो भने पिनास भयो, अलिकति घाँटी दुखे टन्सिल भयो भन्छौँ र एन्टिबायोटिक खाइहाल्छौँ। धेरैजसो समयमा भने इन्फेक्सन भएको हुँदैन। प्रायः हामीले एक्स्ट्रिम अफ टेम्प्रेचर फुडहरू नखाने हो भने पनि धेरै फरक पर्छ। हामी एकैपटक एन्टिबायोटिकमा ‘जम्प’ गर्नुपर्ने हुँदैन।

धेरै बिरामी भइसकेपछि मात्रै अस्पताल जान्छौँ, यसलाई कसरी सुधार्न सकिन्छ?

हाम्रो नाक, कान र घाँटीमा समस्या हुँदा एकैपटक आत्तिएर अस्पताल जानुपर्दैन। पहिला घरायसी उपचार नै गर्ने हो। त्यसले समाधान हुँदै गयो, सहज भयो भने अस्पताल जानु पर्दैन। तर एकदुई दिनमा त्यो समाधान भएन वा समस्या बढ्दै गयो भने अस्पताल गएको राम्रो हुन्छ।

नाक, कान र घाँटीका समस्या हुँदा कस्तो अवस्थामा अस्पताल जानुपर्छ?

नाकबाट रगत आउने भनेको नाथ्री फुट्ने नै हो। हाम्रो अरू ठाउँमा काटिएको जस्तै हो। तर हामी नाथ्री फुटिसकेपछि धेरै आत्तिन्छौँ, त्यसपछि समस्या धेरै हुने हो। त्यसले हामीलाई प्रेसर बढाउँछ। रगत पनि बढी बग्छ। हामीले नआत्तिकन बस्यो भने नाक पिन्च (समाएर) गरेर बस्ने हो भने रोकिन्छ। त्यसपछि हामीले खोजतलास गर्नुपर्छ कि अरू रोगले पो नाकबाट रगत आएको हो कि भनेर? ९० प्रतिशत जति केसहरूमा डिजिज प्रोसेस नभएर साधारण नाकको नाथ्री फुटेर मात्रै रगत आउने हो। हामीले घाँटी दुख्ने बित्तिकै एजिथ्रोभाइसिन ४–५ दिनसम्म चलाइदिन्छौँ। २१ दिनसम्म चलाएको बिरामी पनि मैले भेटेको छु। आफ्नै हिसाबले ठिक भए पनि नभए पनि उनले खाइरहनुभएको थियो। ठीक नभएकाले लगातार २१ दिन खानुभएको थियो। हामीले यदि सहन गर्न सक्ने क्षमता भन्दा बढी भएको छ वा फिभर आयो वा खाना खान निकै नै गाह्रो भयो भने बल्ल अस्पताल जाने हो। नत्र सामान्य उपचार घरमा नै गरेर निको हुन्छ।

प्रदूषणको मात्रा बढिरहेको छ, सामान्य नागरिकले त्यसबाट बच्नका लागि कस्ता सावधानी अपनाउने?

हामीले मास्कको अनिवार्य प्रयोग गर्नुपर्छ। मास्कले नरोक्ने फोहोर पनि हुन्छन् जो हाम्रो नाक र मुखमा अड्किएर बस्छ। त्यसैले जब हामी कार्यालयबाट घर र बाहिर निस्किएपछि घर जान्छौँ, पहिला पानीले नाक सफा गर्ने, त्यसपछि कुल्ला गर्ने, त्यसपछि मात्रै हाम्रा दिनचर्या कामहरू सुरु गर्नुपर्ने हुन्छ। त्यसले पनि संक्रमित हुनबाट बचिन्छ। हाम्रोमा एन्टिबायोटिक मिस्युज (गलत प्रयोग) धेरै नै छ। हामी साधारण कुरामा पनि एन्टिबायोटिक खान्छौँ। त्यो ठूलो गल्ती हो।

प्रकाशित: १४ वैशाख २०८० ११:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =