बालेनले भने- सर्वोच्चको आदेश महानगरले मान्छ, सिंहदरबारले पनि मानोस्

हिमाल प्रेस ११ वैशाख २०८० १६:३९
24
SHARES
बालेनले भने- सर्वोच्चको आदेश महानगरले मान्छ, सिंहदरबारले पनि मानोस्

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र शाह (बालेन)ले सर्वोच्च अदालतले दिएको आदेश महानगरपालिकाले कार्यान्वयन गर्ने बताएका छन्। सर्वोच्च अदालतले सिंहदरबारभित्रको फोहोर उठाउन दिएको आदेश महानगरपालिकाले मान्ने र संघ सरकारले पनि सर्वोच्चको आदेश पालना गर्नु पर्ने बालेनले जनाएका छन्।

सर्वोच्च अदालतले दिएको आदेश महानगरपालिकाले कार्यान्वयन गर्ने र संघ सरकारलाई सर्वोच्चले दिएको आदेश पनि दृढतापूर्वक पालना हुनुपर्ने बालेनले सोमबार फेसबुक पेजमार्फत बताएका छन्।

‘सिंहदरबार समेतको फोहरमैला नउठेको सम्बन्धमा सम्मानित अदालतको अन्तरिम आदेश प्राप्त गरेका छौं। निश्चित क्षेत्रको फोहरमैला नउठेको बिषय अदालतमा प्रवेश पाउँनु र सर्वोच्च अदालतबाट फोहरमैला उठाउन आदेश दिइनुले नागरिकको स्वच्छ र स्वस्थ ठाउँमा बस्न पाउने अधिकारको गम्भीरता थप पुष्टि हुन्छ। काठमाडौँ महानगरले फोहरमैला व्यवस्थापन र सरसफाइसँग सम्बन्धित विषय प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी गराउँदै यसलाई सार्वजनिक सरोकारको विषयका रूपमा ग्रहण गरेकोमा सम्मानित अदालतप्रति आभार व्यक्त गर्दछौं,’ उनले लेखेका छन्।

बागमती, बिष्णुमती, मनोहरा र यिनका सहायक नदीहरूको जग्गा अतिक्रमण गरेर बनाइएका घरटहरा तथा संरचनाहरू भत्काएर नदिको स्वच्छता कायम गराउन, स्वास्थ्य मन्त्रालय भवनको मौलिकता बिगारेर थपिएको संरचना भत्काउन, तीनकुने जग्गा अधिग्रहण तथा मुअब्जासम्बन्धी सर्वोच्च अदालतले दिएको आदेश संघ सरकारले पालना गर्नु पर्ने बालेनको अडान छ।

‘संविधान र प्रचलित कानुनले परिकल्पना गरेबमोजिम स्थानीय सरकारसँग संघ र प्रदेश सरकारले अनिवार्य रूपमा समन्वय, सहकार्य गरी सहअस्तित्वको आधारमा नागरिकका समस्याको यथाशीघ्र समाधान गर्नु पर्ने कुरा दृढताका साथ व्यक्त गर्न चाहन्छौं,’ बालेनले लेखेका छन्।

काठमाडौँ महानगरले गरेको काममा संघ सरकारले सहयोग नगरेको भन्दै बालेनले सिंहदरबारभित्रको फोहोर नउठाउन सफाइ निकायलाई निर्देशन दिएसँगै तीन सातादेखि त्यहाँको फोहोर उठ्न सकेको छैन। बालेनको यस कदमप्रति सर्वोच्चमा परेको रिटमा शुक्रबार सर्वोच्चले तीन दिनभित्र सिंहदरबारको फोहोर उठाउन महानगरपालिकालाई आदेश दिएको थियो।

सर्वोच्चको आदेश बालेनले पालना गर्ने बताएसँगै अब त्यहाँको फोहोर उठ्ने भएको छ।

प्रकाशित: ११ वैशाख २०८० १६:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 6 =