फेरियो हुलाक : चिठी आउँदैन, पार्सल आउँछ

विनोद परियार ११ वैशाख २०८० १५:१६
96
SHARES
फेरियो हुलाक : चिठी आउँदैन, पार्सल आउँछ

लुम्बिनी- रूपन्देही सियारी-२ सीतापुरका चिनक कुमाल (५६) लाई सबैले हुलाकी नामले चिन्छन्। अहिले पनि गाउँका बूढापाका भेटिँदा उनलाई ‘हुलाकी’ भनेरै बोलाउँछन्। कुमाल जिल्ला हुलाक कार्यालय रूपन्देहीमा ३६ वर्षदेखि कार्यरत छन्। त्यसैले उनले हुलाक र हुलाकीको आरोहअवरोह नजिकबाट नियाल्न र अनुभव गर्न पाएका छन्।

‘केही वर्षअघि हुलाकी देख्नेबित्तिकै मान्छेहरू नजिकनजिक आउँथे, के खबर बोकेर आयो भनेर आस गर्थे। चिठी बुझ्दा मानिसहरू खुसी हुन्थे, चिया र नास्तासमेत दिन्थे’, कुमाल विगत सम्झन्छन्, ‘तर अचेल त्यो दिन छैन, हुलाकी भनेर बोलाउँदा पनि जिस्काएजस्तो लाग्छ।’

कुमालले तीन दशकअघि र अहिले हुलाकमा धर्तीआकाशजस्तै फरक देखिएको सुनाए। २० वर्षसम्म हुलाकीका रूपमा घरघर चिठी बोकेर पुगेका कुमालले प्रविधिमा यति चमत्कार होला भन्ने सोचेकै थिएनन्। रूपन्देही तराईको जिल्ला भएकाले हुलाकीलाई कार्यालयले साइकल दिन्थ्यो।

साइकल चढेर कुमालले कठ्यांग्रिँदो जाडोमा होस् वा चर्को गर्मी घरघर पुगेर चिठी बाँड्थे। एक लटको चिठी बाँड्न २/३ दिनजति लाग्थ्यो। कुमालका अनुसार त्यतिबेला सेवाग्राहीले विदेशबाट पैसासमेत हुलाकबाटै पठाउँँथे।

सरकारी अड्डादेखि व्यक्तिगत चिठीपत्रले हुलाक कार्यालयमा मानिसको चहलपहल बाक्लो हुन्थ्यो। ‘त्यतिखेरको हुलाक सम्झँदा पनि सपनाजस्तो लाग्छ, दैनिक ७ देखि ८ सयसम्म चिठी आउँथे, त्यो अर्कै संसार थियो’, कुमाल भन्छन्।

जिल्ला हुुलाक कार्यालय रूपन्देहीमा कार्यरत सबैभन्दा पुराना कर्मचारी नै कुमाल हुन्। २०२० सालमा जिल्ला हुलाक कार्यालयको स्थापना भएसँगै रूपन्देहीको भैरहवाबाट सेवा सुरु भएको थियो।

हल्काराबाट सेवा प्रवेश गरेका उनी अहिले डाँकसेवाको व्यवस्थापन र तथ्यांक राख्ने काम गर्छन्। कार्यालयमा तथ्यांक मिलाउँदै गर्दा भेटिएका उनले भने, ‘प्रत्येक वर्ष हुलाकप्रति मानिसको मोह घट्दै गएको छ।’

जिल्ला हुलाक कार्यालय रूपन्देहीका प्रमुख ऋषिकेश रेग्मी र कर्मचारी चिनक कुमाल।

चिनक बसेको छेउमा एउटा खाली स्टोरजस्तो देखिने कोठा छ। जहाँ जिल्ला हुलाक कार्यालय रूपन्देहीको पोस्ट बक्स नम्बर राखिएको पत्रमञ्जुषा बेवारिसे छ। प्रयोगविहीन भएपछि कार्यालयको एउटा कुनामा थन्क्याएर राखिएको छ। पत्रका लागि जिल्लाअनुसार बनाइएको पत्रमञ्जुषा पनि प्रायः खाली छन्। कुनै बेला चिठीपत्रका लागि संघसंस्थाहरूले पोस्ट बक्स नम्बर लिने गर्थे। इन्टरनेटको सुरुवातसँगै यसको प्रयोग हुन छाड्यो।

अहिले सन्देश र सूचना आदानप्रदानको तरिका फेरिएको छ। हुलाकमा महिनौँ लाग्ने सूचना इन्टरनेटको प्रयोगले छिनमै झारिदिएको छ। त्यसैले हुलाकीले बोकी ल्याउने चिठीपत्रको खबर आजभोलिका पुस्तालाई कथाजस्तो लाग्ने गरेको छ। १० वर्षदेखि जिल्ला हुलाक कार्यालय रूपन्देहीमा कार्यरत अशोक हरिजन भन्छन्, ‘अहिले केही संस्थागत चिठी र पार्सल भने आउँछन्।’

यसले गर्दा कुनै बेलाको व्यस्त र कामकाजी हुलाक कार्यालय अहिले खुम्चिँदै गएको छ। २०६५ सम्मै साविकको लुम्बिनी अञ्चल र पश्चिमाञ्चल विकास क्षेत्रमै भैरहवास्थित हुलाक कार्यालय सबैभन्दा बढी चिठीपत्र आउने कार्यालयमा पर्थ्यो।

खाली रहेको पत्र मञ्जुसा।

जिल्ला हुलाक कार्यालय रूपन्देहीका प्रमुख ऋषिकेश रेग्मी हुलाकको महत्त्व घट्नुमा इन्टरनेट र मोबाइल प्रमुख कारण ठान्छन्। उनी हुलाक कार्यालयलाई समयानुकूल विकास र जनशक्ति व्यवस्थापन गर्न नसकेको बताउँछन्।

२०६१ सालमा लोकसेवा आयोगले हुलाक समूह खारेज गरेर प्रशासनमार्फत कर्मचारी ल्याउन थालेपछि यसको गरिमा थप घटेको उनी बताउँछन्। रेग्मी भन्छन्, ‘समय र प्रविधिमा फड्को मारिसक्यो, तर हुलाक सेवा सोअनुसार बढ्न सकेन, यसमा समीक्षा गर्न ढिला भइसक्यो।’

पार्सलको ओइरो

चिठीपत्र आउन निकै कम भए पनि अहिले जिल्ला हुलाक कार्यालय रूपन्देही पार्सलले भरिभराउ छ। स्वदेश तथा विदेशबाट मोबाइल, ल्यापटप, कपडालगायतका सामान हुलाकमार्फत आउने गरेको छ। पहिलेपहिले चिठीपत्रको ओइरो लागेजस्तै अहिले पार्सल आउनेजाने क्रम बढ्दै गएको हुलाकका कर्मचारीहरूको भनाइ छ।

हुलाक कार्यालयले वैदेशिक पार्सल चेक गरेर दर्ता र वितरण गर्ने भएकाले यो सेवा प्रभावकारी देखिएको हुलाक अधिकृत रेग्मी बताउँछन्। ‘अधिकांश युवा विदेशमा छन्, यसले गर्दा विदेशबाट बढी पार्सल आउँछ,’ उनी भन्छन्, ‘अहिले रूपन्देहीको हुलाकमा मात्रै दैनिक एक ट्रक हाराहारीमा पार्सल आउँछ।’ सुगमदेखि विकटसम्म हुलाक रहेकाले यो कार्यालयको पार्सलका लागि असाध्यै उपयोगी बनेको उनको भनाइ छ।

रूपन्देहीको हुलाकले स्थलमार्ग र हवाई दुवै माध्यमबाट सेवा दिँदै आएको छ। यसबाट ईएमएस सेवा (एक्सप्रेस मेल सर्भिस), साधारण हुलाक मञ्जुषा, पार्सललगायतका सेवा जिल्ला हुलाक कार्यालयले दिइरहेको छ। त्यस्तै कार्यालयले डाँक व्यवस्थापन र सञ्चालन, हुलाक बचत बैंक, धनादेश सेवा पनि दिइरहेको छ।

हुलाकले लोकसेवा आयोगको कार्यालय नरहेको जिल्लामा लोकसेवा आयोगको दरखास्त फाराम दस्तुर संकलन, सूचनाको हकसम्बन्धी काम अनुगमन र निरीक्षणसमेत गर्दै आएको छ। ‘सरकारले हुलाक सेवालाई वर्तमान समयानुसार विकास गर्नुपर्छ,’ कार्यालय प्रमुख रेग्मी भन्छन्, ‘नसके यो कार्यालयको औचित्य सकिन्छ।’

प्रकाशित: ११ वैशाख २०८० १५:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 13 =