काम गरेको ज्याला नपाएपछि पुल बन्द

हिमाल प्रेस १० वैशाख २०८० २१:२१
2
SHARE
काम गरेको ज्याला नपाएपछि पुल बन्द

खलंगा-  झोलुंगे पुल निर्माणमा काम गरेको ज्याला नपाएपछि स्थानीय मजदुरले पुल बन्द गरेका छन्। दुई वर्ष अगाडि निर्माण भएको दार्चुलाको दुहूँ गाउँपालिका वडा नम्बर १ र ५ जोड्ने झोलुंगे पुलमा काम गरेका स्थानीयले अहिलेसम्म पनि ज्याला नपाएपछि पुल बन्द गरेका हुन्।

गाउँपालिकाको दुई करोड १० लाख लागत रहेको तीन सय ९० मिटर लम्बाइ भएको उक्त पुल निर्माणको काम २०७६ मा सुरु गरिएको थियो।

दुई वर्षभित्र पुल निर्माण गर्नुपर्ने समयसीमा रहेको पुलमा अहिले पनि लोड टेस्टलगायतका काम बाँकी रहेकाले अन्तिम किस्ता भुक्तानी हुन बाँकी रहेको गाउँपालिका–१ का वडाध्यक्ष जितबहादुर बमले बताए। पुलमा केही संरचनाको प्राविधिक परीक्षणमा त्रुटीसमेत भेटिएको र पुलको छेउतिरको एक लठ्ठासमेत खुस्किएको अध्यक्ष बमले बताए।

पुल निर्माणको काम सकिएको दुई वर्ष हुँदा पनि ठेकेदार कम्पनीले श्रमिकहरूको ज्याला भुक्तानी नगरेको भन्दै स्थानीय श्रमिकहरूले शुक्रबारदेखि पुल बन्द गरेका छन्।

गाउँपालिका अध्यक्ष नरेन्द्र बडालले काम गरेको ज्यालाका लागि पटकपटक आग्रह गर्दा पनि ज्याला नदिइएको बताए। ज्याला नपाएपछि पुल नै बन्द गर्नुपरेको श्रमिक मजदुरले बताएका छन्।

पुल बन्द भएपछि जिल्ला सदरमुकाम खलंगा आउने र काम विशेषले गाउँपालिकाको कार्यालयसम्म जाने नागरिकलाई २ घण्टा बढी हिँडेर आवजावत गर्नुपर्ने बाध्यता रहेको स्थानीय नवीन जोशीले बताए।

निर्माणको जिम्मेवारी पाएको जगदम्बा दोभान कन्सट्रक्सनले श्रमिकहरूको ज्याला अझैसम्म नदिइएको बारे केही प्रतिक्रिया दिएको छैन।

निर्माण कम्पनीको अन्तिम चरणको भुक्तानीसमेत लिन बाँकी रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर ठगुन्नाले बताए। रासस

प्रकाशित: १० वैशाख २०८० २१:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 8 =