धनगढी- २०४० सालमा सुरजित सिंहले भारतबाट दुईवटा बस ल्याई धनगढीदेखि गोदावरीसम्म चलाउन सुरुगरेका थिए। उतिखेर सुदूरपश्चिम देशको राजधानी र अन्य ठाउँसँग सडक सञ्जालबाट जोडिएको थिएन। सो समयमा काठमाडौँ तथा पूर्वी नेपाल आवतजावत गर्न भारतको बाटो प्रयोग गरिन्थ्यो।
नेपाल पब्लिक मोटर सर्भिसेजले सुरुवाती चरणमा ल्याइएका बस दैनिक बिहान र साँझमात्रै चल्ने गर्थे। धनगढीबाट बिहान छुटेको बस गोदावरीबाट साँझ फर्किने गरेको धनगढी उपमहानगरका स्थानीय लक्ष्मणदत्त विष्टले बताए। ‘सुरुसुरुमा गोरेटो बाटोमा बस सेवा सञ्चालन भएको थियो,’ ६५ वर्षीय विष्टले भने, ‘धनगढी–महेन्द्रनगर पनि दैनिक रूपमा बिहान आउने र साँझ छुट्ने गर्दथ्यो। पहिला बाटोमा पुल पनि थिएन। नदीबाटै यात्रा गर्नुपर्थ्यो।’
बर्खामा नदीमा पानी बढ्दा बस सेवा नै बन्द हुने विष्टले बताए। ‘समयसँगै विकास हुँदै गएको छ,’ उनले भने, ‘अहिले त्यस्तो परीस्थिति छैन।’
२०५० साल मंसिर २८ (सन् १९९३ डिसेम्बर १३) तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सुदूरपश्चिमलाई देशका अन्य ठाउँसँग सडक सञ्जालमार्फत जोड्ने गरी कर्णालीपुलको उद्घाटन गरेका थिए। यसपछि नेपाल पब्लिक मोटर सर्भिसेजले काठमाडौँ-वीरगन्ज सेवा विस्तार गरेको थियो। त्यसपछि व्यवसायीहरू पनि बस सेवा सञ्चालउन गर्न हौसिए।
अहिले सुदूरपश्चिमका विभिन्न जिल्लाबाट राजधानी काठमाडौँलगायत पूर्वी जिल्लाका लागि समेत बस छुट्ने गर्छ। कैलाली र कञ्चनपुरबाट भारतको राजधानी नयाँ दिल्ली पनि बस जान्छ।
धनगढीबाट सुन्दर सुदूरपश्चिम यातायात,गोदावरी यातायात,मालिका यातायात, कैलाली यातायात,शिवपुरी लक्जरी कोच,रिभरसाइड यातायातलगायत बस विभिन्न समयमा काँकडभिट्टा, विराटनगर,जनकपुर, वीरगञ्ज, पोखरा, भैरहवा, बुटबल र सुर्खेतका लागि बस छुट्ने गर्छन्।
कञ्चनपुरमा प्रधान कार्यालय रहको महाकाली यातायातले२०४९ सालमा स्थानीय रुट गड्डाचौकी र कञ्चनपुरको झलारीसम्म यातायता सेवा दिन सुरु गरेको थियो। आठवटा बसबाट सेवा सुचारु गरेको उक्त महाकाली यातायातसँग अहिले ५ सय ४० बस छन्। जोनेपालको पूर्वदेखि पश्चिमसम्म पुग्ने गर्छन्। त्यतिमात्र नभई भारतको देहरादून र दिल्लीरुटमा समेत ‘नेपाल–भारत मैत्री’ बस सेवा चल्ने गरेको छ।
महाकाली बहुउद्देशीय यातायातका महेन्द्रनगरबाट काठमाडौँको लागि हरेक दिन पाँचवटा बस छुट्ने अध्यक्ष डम्बर पन्तले बताए। ‘यात्रुको चापअनुसार सेवा विस्तार गरी गुणस्तरीय सेवा दिने गरेका छौँ,’ पन्तले भने, ‘यात्रुमैत्री,मजदुरमैत्री हुने गरी मिनिबस,एसी,सुपर एसी, डिलक्स सुविधा भएका बस पनि सञ्चालन गर्दै आएका छौँ।’
सरकारले सिन्डिकेट अन्त्य गरेपछि यातायात क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा बढेकाले धरासायी हुने स्थिति सिर्जना भएको महाकाली बहुउद्देशीय यातायातका अध्यक्ष पन्तले बताए। उनले भने, ‘बस सेवा सञ्चालन गर्दा धेरैले रोजगारी पाइरहेका छन्। संस्थागत कर्मचारी नै २ सय ५० रहेका छन्। एउटा बसमा चालक,सहचालक, सहायेगी गरी तीनचार जनासम्म कार्यरत हुन्छन्। यातायातक्षेत्र एउटा ठूलो उद्योग नै हो।’
‘सिन्डिकेट शब्द आफैँमा विवादित छ,’ पन्तले थपे, ‘जसको एकाधिकार छ, त्यसलाई सिन्डिकेट भन्छन्। सरकारले ल्याएको संस्था दर्ता ऐन २०३४ लाई निलम्बन गरिएको छ। यसका विरुद्धमा हामी लागिपरेका छौँ।’
कम्पनीअन्तर्गत जाने भने पनि न कार्यविधि बन्न सकेको,न त नीतिनियम बनेको पन्तले बताए। ‘कम्पनी भन्ने बित्तिकै नाफामुखी हुन्छ,’ उनले भने, ‘न त नाफामुखी छौँ। न त सेवामुखी देखिएका छौँ। बस सेवा प्रत्यक्ष रूपमा जनतासँग जोडिएको कुरा हो। सबैको सरोकारको विषय भएकाले यसतर्फ राज्य ध्यान जानु आवश्यक छ।’
कञ्चनपुरबाट अहिले पाँचवटा यातायात कम्पनीले बस सेवा सञ्चालन गरिरहेका छन्। जसमा बसका चालक, सहचालक, सहयोगी र टिकट काउन्टरमा धेरैले काम पाएका छन्। कञ्चनपुर जिल्लामा यातायात क्षेत्रमा ५ सय १५ जनाले रोजगारी पाइरहेको यातायात मजदुर संगठनका अध्यक्ष धर्मराज जोशीले बताए।
‘सिन्डिकेट अन्त्यपछि यातायात क्षेत्रका मजदुरले दुःख पाइरहेका छन्,’ उनले भने,‘पहिले सीमित समितिका बस चल्ने भएकाले यात्रु पनि पाइन्थे। आम्दानी पनि हुने गर्थ्यो। अहिले विभिन्न यातायात प्रालिअन्तर्गत सवारीसाधनको संख्या बढेसँगै सडकमा चापसँगै दुर्घटनासमेत बढेका छन्।’
अहिले सुदूरपश्चिम प्रदेशमा लामो तथा छोटो दूरीका २ हजार ६ सयभन्दा बढी बस रहेको यातायात मजदुर संघका सुदूर पश्चिम प्रदेश अध्यक्ष केशव पन्तले बताए। ‘यातायात क्षेत्रमा कार्यरत मजदुरमात्रै आश्रित छैनन,’ उनले भने, ‘उनीहरूको परिवारसमेत यातायात क्षेत्रमै निर्भर रहेका छन्।’