कोशी प्रदेश नामकरणको विरोध

विराटनगरमा तनाव : पहिचान पक्षधर र प्रहरीबीच झडप

६ जना प्रहरी र ४ जना आन्दोलनकारी घाइते

विवेक विवश रेग्मी ९ वैशाख २०८० १७:५४
6
SHARES
विराटनगरमा तनाव : पहिचान पक्षधर र प्रहरीबीच झडप तनावग्रस्त विराटनगर। फाइल तस्बिर/हिमाल प्रेस

इटहरी– कोशी नाम खारेज गर्दै पहिचानका आधारमा प्रदेशको नाम राखिनुपर्ने मागसहित आन्दोलनरत पहिचान पक्षधर र सुरक्षाकर्मीबीच विराटनगरको रोडशेष चोकमा शनिबार पनि झडप भएको छ।

झडपका कारण तनावको अवस्था भएपछि प्रहरीले केही शेल अश्रुग्यास समेत प्रहार गरेको छ। आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बू ‘लाजेहाङ’को शव श्रद्धाञ्जलीका लागि विराटनगर ल्याइएको थियो।

शवलाई श्रद्धाञ्जलीका लागि रोडशेष चोकमा राख्ने भनिएको थियो। शवयात्राका क्रममा निषेधित क्षेत्र तोडेर सहभागीहरू अगाडि बढ्न खोजेपछि झडप भएको सुरक्षा निकायले जनाएको छ।

रोडशेष चोकबाट लगभग २ सय मिटर दक्षिणमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडिको बाटोलाई निषेधित क्षेत्र तोकेर आवतजावतमा रोक लगाइएको थियो।

निषेधित क्षेत्र तोड्दै शवयात्रालाई अघि बढ्न खोजेपछि सुरक्षाकर्मीले रोक्ने क्रममा झडप भएको हो। झडप, अशुग्यास प्रहार र लाठी प्रहारका बीच रोडशेष क्षेत्र तनावग्रस्त बनेको छ। झडपमा परी ६ जना प्रहरी र ४ जना आन्दोलनकारी घाइते भएको प्रहरीले जनाएको छ।

एक जना प्रहरीको टाउकोमा चोट लागेको कारण न्युरो अस्पताल विराटनगरमा उपचारका लागि लगिएको छ। यस्तै आन्दोलनकारीतर्फ घाइते भएका झापाको शिवसताक्षी नगरपालिका ८ का राजकुमार शेर्माको खुट्टामा चोट लागेको छ।

आन्दोलनकारीले उनलाई प्रहरीले रबरको गोली हानेको बताएपनि प्रहरीले भने गोली प्रहार नगरेको जनाएको छ। मोरङ प्रहरीका प्रहरी उपरीक्षक (एसपी) दीपक पोखरेलका अनुसार निषेधाज्ञा तोड्ने क्रममा शेर्मालाई बारको ब्लेडले काटेको थियो।

यस्तै इटहरी २ का डेनिज राई, विराटनगर ८ का चन्द्रकुमार राई पनि घाइते भएका छन्। उनीहरू ३ जनाको विराटनगरस्थित पारस अस्पतालमा उपचार भइरहेको छ।

आन्दोलनकारीले प्रहरीको अवरोध ताडेर मुख्यमन्त्री कार्यालयतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले अवरोध गरेको थियो। त्यसक्रममा भीड तितर-बितर पार्न प्रहरीले ८१ सेल अश्रु ग्यास प्रहार गरेको जनाएको छ।

प्रदेश १ को नाम कोशी राखिएपछि यसको विरोधमा पहिचान पक्षधरले आन्दोलन गर्दै आएका छन्। कोशी नाम खारेजीको माग राख्दै प्रदर्शन हुँदा गत चैत ५ गते ‘लाजेहाङ’ घाइते भएका थिए। उनको उपचारका क्रममा चैत १० गते मृत्यु भएको थियो।

प्रकाशित: ९ वैशाख २०८० १७:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =