शान्ति प्रक्रियाका बाँकी काम जसरी पनि पूरा गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

हिमाल प्रेस ९ वैशाख २०८० १३:३६
2
SHARE
शान्ति प्रक्रियाका बाँकी काम जसरी पनि पूरा गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ।

काठमाडौँ- उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले अहिले शान्ति प्रक्रियाको बाँकी कामलाई जसरी पनि पूरा गर्नुपर्ने बताएका छन्।

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका उनले संक्रमणकालिन न्यायको कामलाई पूरा गर्दै शान्ति प्रक्रियाको बाँकी कामलाई अहिले कुनै पनि हालतमा पूरा गर्नुपर्ने बताएका हुन्।

शनिबार काठमाडौंमा आयोजित प्रेस सेन्टर नेपाल, उपत्यका प्रदेश समितिको वार्षिक साधारण सभामा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले शान्ति प्रक्रियाका बाँकी कामलाई पूरा हुन नदिन विभिन्न प्रयत्नहरू भइरहेको उल्लेख गर्दै त्यसलाई असफल पार्दै अघि बढ्नुको विकल्प नरहेको पनि बताए।

एक दशकभन्दा बढी समय बित्दा पनि संक्रमणकालसँग सम्बन्धित शान्ति प्रक्रियाको बाँकी कामले पूर्णता पाउन नसकेकाले अहिले त्यसलाई पूरा गर्न क्रियाशील हुनु परेको उनको भनाइ थियो।

‘संक्रमणकालसँग सम्बन्धित शान्ति प्रक्रियाका बाँकी काम छन्। सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको कामलाई पूरा गरेर मात्रै हामीले संक्रमणकालीन न्यायको कामलाई पूरा गर्न सक्छौं, शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सक्छौं।’ उनले भने,‘यो शान्ति प्रक्रियाको बाँकी काम अहिले हामीले हरहालतमा पूरा गर्नु छ। धेरै दशकभन्दा बढि बित्यो। डेढ देश बितिसक्यो। तर हामीले शान्ति प्रक्रियाको काम पूरा गर्न सकिरहेका छैनौं।’

उनले मुलुकको अर्थतन्त्रमा केही समस्या देखिएको उल्लेख गर्दै ती समस्यालाई छिट्टै सम्बोधन गर्ने आश्वासन समेत दिए। मुलुकको अर्थतन्त्र निस्कनै नसक्ने गरी संकटमा नफसेको दोहोर्‍याउँदै उनले त्यसमा देखिएको समस्या समाधान गर्दै मुलुकको समृद्धिको यात्रालाई चलायमान बनाउन सरकारले चाहेको बताए।

उपप्रधानमन्त्री श्रेष्ठले जनताको अपेक्षालाई पूरा गर्न र यो परिवर्तनको औंचित्यलाई पुष्टि गर्न पनि सरकारले आर्थिक समृद्धिको यात्रालाई तीव्रता प्रदान गर्नुपर्छ भन्ने मान्यताका साथ काम गरिरहेको दाबी समेत गरे।

प्रकाशित: ९ वैशाख २०८० १३:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − one =