सरकारलाई सांसद सुमनाको प्रश्न : खल्तीको पैसा जाने होइन मलाई ‘बाल’ भने जस्तो गर्न पाइन्छ?

हिमाल प्रेस ६ वैशाख २०८० १६:२७
30
SHARES
सरकारलाई सांसद सुमनाको प्रश्न : खल्तीको पैसा जाने होइन मलाई ‘बाल’ भने जस्तो गर्न पाइन्छ?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले संसदमाथि सरकारको हालिमुहाली बन्द गर्न आग्रह गरेकी छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समयमा बोल्दै सांसद श्रेष्ठले संसदमाथि सरकारको हालिमुहाली भएको भन्दै यसलाई बन्द गर्न आग्रह गरेकी हुन्।

उनले मंगलबार बस्ने भनिएको सभाको बैठक मन्त्रिपरिषद् बैठकका लागि भन्दै स्थगित भएकोप्रति असन्तुष्टि असन्तुष्टि जनाइन्। सांसद श्रेष्ठले प्रतिनिधिसभाको एउटा बैठक बस्दा १० लाख रुपैयाँ खर्च हुने अवस्था रहेको बताउँदै खर्च रोक्नतर्फ सरकारको ध्यान नभएको पनि बताइन्।

‘हिजोको अधिवेशन आकस्मिक रुपमा स्थगित भयो। क्याबिनेट मिटिङ ४ बजे छ भन्ने सुन्नमा आयो। समय नजुध्नेगरी समय मिलाउन सकिन्थेनँ?,’ उनले भनिन्, ‘यहाँ जनताको समयको मूल्य छैन। हामी जनप्रतिनिधि, जनताबाट छानिएर आएको प्रतिनिधिको समयको पनि केही मूल्य नहुने हो ? एकपटक सदन बस्दा १० लाख रुपैयाँ हाराहारीमा खर्च हुने भनेर पत्रपत्रिकामा आएको थियो। सरकारले कर्मचारीलाई तलब खुवाउन ऋण लिनुपर्ने अवस्थामा के यो दशलाख रुपैयाँ हामीले बचाउन सक्दैनथ्यौँ? के करदाताको पैसा त्यति सस्तो छ? आफ्नो खल्तीबाट पैसा नजाने भएपछि मलाई ‘बाल’ भन्न पाइन्छ र? मलाई निकै अचम्म लागेको छ। यसरी अन्तिम घडीमा सरकारको मनोमानीमा सदनको समय र देशको ढुकुटी रित्याइने रहेछ।’

उनले सरकार र संसद्‌बीच समन्वय गरेर काम अघि बढाउनुपर्ने तर्क गरिन्। गल्तीलाई गल्ती भन्न नसकेर पनि समस्या भइरहेको उनको भनाइ छ। सरकार र संसद्‌बीच नै समन्वय हुँदैन भने ठूला परियोजना कसरी अघि बढ्छन् भन्दै उनले प्रश्न गरिन्।

‘यो त चलनचल्ती र रिती नै बसिसकेको रहेछ। कसरी पचेको हामीलाई ? गल्तीलाई गल्ती भनौँ। सुधारौँ। सदन र मन्त्रीपरिषद् जम्मा दुईवटा निकायबीच समन्वय गर्न नसक्ने हामी ठूलो परियोजनामा धेरै मन्त्रालय र निकायबीच समन्वय झन् कसरी होला ? सडक विभागले आज पिच गर्छ,’ उनले भनिन्, ‘भोलि खानेपानीले गएर पिच बिगार्छ। बाटो चाहीँ घाम लागे धुलो, पानी परे हिलो। अनि बिरामी हुने हामीहरू। सदनमाथि सरकारको यस्तो हालिमुहाली बन्द गरौँ।’ सांसद श्रेष्ठले सरकारको मनोमानीमा सदनको समय र देशको ढुकुटी रित्याइने गरिएको बताइन्।

प्रकाशित: ६ वैशाख २०८० १६:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 12 =