५९ जिल्लामा पुग्यो पाठ्यपुस्तक

हिमाल प्रेस ४ वैशाख २०८० १८:०६
2
SHARE
५९ जिल्लामा पुग्यो पाठ्यपुस्तक

काठमाडौँ- सरकारले हालसम्म ५९ जिल्लाका विद्यालयहरूमा पाठ्यपुस्तक पुगेको जानकारी गराएको छ। गत चैत २४ गतेदेखि वैशाख ३ गतेसम्म देशभरका ५९ जिल्लाका विद्यालयहरूमा पाठ्यपुस्तक पुगेको जनक शिक्षा सामग्री केन्द्रले जानकारी दिएको हो।

सोमबार पाठ्यपुस्तक बिक्रीवितरण र छपाइको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनक शिक्षा सामग्री केन्द्रमा अनुगमन गरेको हो। सो क्रममा जनक केन्द्रका प्रबन्धक अनिलकुमार झाले नयाँ शैक्षिकसत्रमा सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्‍याउने गरी काम भइरहेको बताए।

उनले अहिलेसम्म ५९ जिल्लाका सबै विद्यालयमा पाठ्यपुस्तक पुगेको दाबी गरे। जनक शिक्षा सामग्री केन्द्रले कक्षा ६ देखि १० कक्षासम्मका १ करोड ५० लाख पाठ्यपुस्तक छपाइको काम सम्पन्न गरी बिक्रीवितरण गरिएको बताए।

गत चैत २४ गतेदेखि देशभर पाठ्यपुस्तक बिक्रीवितरण सुरु गरेको र हालसम्म ५९ जिल्लाका विद्यालयमा पाठ्यपुस्तक पु¥याइ विद्यार्थीहरूलाई वितरण गरिएको उनको भनाइ थियो।

अब बाँकी १८ जिल्लामा वैशाख १५ गतेसम्म पुस्तक पुग्ने उनले बताए। प्रबन्धक झाले कतिपय विद्यालयहरूमा पुस्तक पुगिसकेको र कतिपय ढुवानीको क्रममा रहेको भन्दै बिक्रीवितरण गरेर ढुवानीको क्रममा रहेका पुस्तक ३ दिन भित्र प्रत्येक विद्यालयमा पुग्ने दाबी गरे।

ढुवानीमा समय लाग्ने हिमाली र पहाडी दुर्गम जिल्लाहरूलाई प्राथमिकतामा राखेर पुस्तक बिक्रीवितरण गरिएको उनको भनाइ थियो।

प्रकाशित: ४ वैशाख २०८० १८:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 1 =