आईपीएल : दक्षिण भारतीय डर्बीअघि उत्साहित बेंगलोर

हिमाल प्रेस ४ वैशाख २०८० १४:२९
12
SHARES
आईपीएल : दक्षिण भारतीय डर्बीअघि उत्साहित बेंगलोर

काठमाडौँ- महेन्द्र सिंह धोनीका परिचय अनेक छन्। समर्थकका लागि उनी ‘थला (नेतृत्वकर्ता)’ हुन्। अनि चेन्नाई सुपर किंग्सका खेलाडीका लागि ‘अन्ना’, ‘भाई’ वा कप्तान। विपक्षी टिमका बलरका लागि भने धोनी खतरनाक फिनिसर हुन्, मास्टरमाइन्ड हुन्।

धोनी र चेन्नाईबीच गहिरो नाता छ। तब त चेन्नाईको पहेलो जर्सी सम्झिन साथ धोनीको मुहार मस्तिस्कमा छाउँछ। ४१ वर्षका धोनी करियरको उत्तरार्द्धमा छन्। यतिबेला पनि उनी चेन्नाईको नेतृत्वमा छन्। यो उमेरमा पनि मैदानमा सजिलै हार नमान्ने धोनी जुनसुकै रंगशाला पुग्छन्, त्यहाँ सम्मान पाउँछन्।

एम चिन्नास्वामी रंगशाला पनि यो मामलामा फरक हुनेछैन। रोयल च्यालेन्जर्स बेंगलोरका समर्थकले सोमबार उनीप्रति सम्मान दर्शाउने नै छन्। इन्डियन प्रिमियर लिग (आईपीएल)को ‘दक्षिण भारतीय डर्बी’ मा चेन्नाई र बेंगलोर भिड्दा माहोल सधैँ तातिन्छ। यसपल्ट पनि चिन्नास्वामी रंगशालामा वातावरण सामान्य हुनेछैन।

चिन्नास्वामी रंगशालामा यी दुई टिम पछिल्लो पटक सन् २०१९ मा भिडेका थिए। जसमा घरेलु टिम एक रनले विजयी भएको थियो। हारका बाबजुद धोनीको प्रदर्शन सम्झनलायकको थियो। उनले ४८ बलमा ८४ रन बनाएका थिए।

त्यो खेलपछि दुवै टिममा व्यापक परिवर्तन भएको छ। विराट कोहली बेंगलोरको कप्तानबाट हटिसकेका छन्। त्यस जितका केन्द्र मोइन अलील अब चेन्नाईसँग छन्। अनि अर्को तथ्य, चेन्नाई डिफेन्डिङ च्याम्पियनको हैसियतमा बेंगलोर पुग्न लागेको होइन।

तीन सिजनअघि चेन्नाईका ओपनर रहेका फाफ डु प्लेसिस अहिले बेंगलोरका कप्तान छन्। डाउने ब्राभो, सुरेश रैना र शेन वाट्सन नै अब चेन्नाईसँग छैनन्। हेड–टु–हेडको कुरा गर्ने हो भने, चेन्नाई अगाडि छ। चेन्नाई कुल १९ पटक विजयी बन्दा बेंगलोरले १० पटक मात्र जितेको छ।

गत सिजन नवौँ स्थानमा आईपीएल समापन गरेको चेन्नाई हाल छैटौँ स्थानमा छ। चार खेलमध्ये दुईमा जित हात पारेको चेन्नाईको लक्ष्य बेंगलोरलाई हराउँदै अंक तालिकामा सुधार गर्नु हुनेछ। उता बेंगलोरको लक्ष्य पनि फरक छैन। सातौँ स्थानको बेंगलोर पनि लक्ष्य उही हो, अंक तालिकामा सुधार। संयोगवश यी दुई टिमको अंक बराबर छ। फगत रन रेटले स्थान तलमाथि पारेको हो।

यो सिजन चेन्नाई र बेंगलोरले जति खेल जितेका छन्, प्रभावशाली प्रदर्शन गरेर जितेका छन्। हारेका खेलमा निराशा स्वभाविक भइहाल्यो। चेन्नाईले यसअघिको खेलमा राजस्थान रोयल्ससँग तीन रनको हार व्यहोरेको थियो। यसकारण चेन्नाई बेंगलोरभन्दा बढी नै निराश रहेको हुनुपर्छ।

खेलाडी लगातार घाइते भइरहेकाले चेन्नाईको निराशा बढेको छ। धोनी आफैँ पनि घुँडाको चोटका कारण पूर्ण रुपमा फिट छैनन्। सिसान्दा मागाला, बेन स्टोक्स र दीपक चहार त हाल मैदानबाहिर नै छन्।

उता बेंगलोर भने यो खेलका लागि तुलानात्मक रुपमा बढी उत्साहित भएको हुनुपर्छ। यसको कारण हो, पछिल्लो खेलमा हासिल गरेको जित। बेंगलोरले दिल्ली क्यापिटल्सलाई २३ रनले पराजित गरेको थियो। त्यसअघिका दुई खेलमा भने लखनऊ सुपर जायन्ट्स र कोलकाता नाइट राइडर्ससँग पराजित भएको थियो।

प्रकाशित: ४ वैशाख २०८० १४:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − four =