फेरि नजिकिँदै माधव, प्रचण्ड र उपेन्द्र, पार्टी एकताको प्रयास

हिमाल प्रेस ४ वैशाख २०८० १४:०८
54
SHARES
फेरि नजिकिँदै माधव, प्रचण्ड र उपेन्द्र, पार्टी एकताको प्रयास

काठमाडौँ- नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच एकताको प्रयास थालिएको छ। तीनवटै दलले एकताका लागि छलफल गर्न वार्ता समितिसमेत गठन गरिसकेका छन्।

माओवादी केन्द्रले पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा, एकीकृत समाजवादीले तत्कालीन महासचिव वेदुराम भुसाल र जसपाले वरिष्ठ नेता राजेन्द्र श्रेष्ठको नेतृत्वमा वार्ता समिति गठन गरेका हुन्।

पार्टी एकताका लागि एकीकृत समाजवादी र माओवादीबीच पटकपटक बैठक बसिसकेको छ। उनीहरूले घोषणापत्र अध्ययन थालेका थिए। तर पछिल्लो समय सत्ता अदलबदलका कारण वार्ता अघि बढ्न सकेको थिएन।

वाम एकता कि समाजवादी केन्द्र?

तीनवटै दलबीच एकताका लागि शीर्ष तहमा अनौपचारिक सहमति भए पनि वाम एकता गर्ने कि समाजवादी केन्द्र बनाउने भन्नेमा सहमति बन्न सकेको छैन।

जसपा अध्यक्ष उपेन्द्र यादवले कम्युनिस्ट तथा माओवादी शब्द हटाएर समाजवादी केन्द्र बनाउने प्रस्ताव गरेका छन्। तर माओवादी र एकीकृत समाजवादी कम्युनिस्ट शब्द राख्नुपर्ने पक्षमा देखिएका छन्।

माओवादी केन्द्र र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीच हुन गइरहेको एकतामा पनि यो कुरा मुख्य रूपले उठेको छ। नेसपाका अध्यक्ष भट्टराईले पनि कम्युनिस्ट शब्द हटाएर समाजवादी राख्न प्रस्ताव गरेका छन्। तर माओवादी केन्द्रले यसमा सहमति जनाएको छैन।

जसपाले गठन गरेको वार्ता समितिका सदस्य गोविन्द चौधरीले आवश्यकताअनुसार दलहरूसँग छलफल गर्दै जाने बताए। उनका अनुसार सुरुमा एकीकृत समाजवादीसँग औपचारिक छलफल सुरु हुनेछ। त्यसपछि अन्य दलसँग विस्तारै कुराकानी अगाडि बढ्ने उनको भनाइ छ। चौधरीले माओवादी केन्द्रसँग मात्र होइन, विचार र सिद्धान्त मिल्ने अन्य दलसँग पनि छलफल गर्दै एकताका लागि पहल गर्ने जानकारी दिए।

एकीकृत समाजवादीका महासचिव एवं वार्ता समितिका संयोजक वेदुराम भुसालले पनि पहिलो चरणमा जसपासँग कुराकानी हुने बताए। त्यसपछि माओवादी के न्द्रसँग कुरा सुरु उनको भनाइ छ। जसपासँग अनौपचारिक छलफल सुरुदेखि चल्दै आइरहेको भन्दै उनले अब चाँडै नै औपचारिक छलफल सुरु हुने दाबी गरे।

तीन दलबीच एकता प्रक्रिया मंसिर ४ को निर्वाचनपछिबाटै सुरु भएको हो। तर नेताहरूको व्यस्तताका कारण भन्दै ढिलासुस्ती गरिएको थियो। एकताका लागि माओवादी र एकीकृत समाजवादी सकारात्मक छन्।

उनीहरू तत्काल एकता गरेर ठूलो शक्ति बनाउनुपर्ने पक्षमा देखिएका छन्। जसपाभित्र भने केही खटपट देखिन्छ। जसपाको अशोक राई पक्षधर भने तत्काल एकता गर्न नहुने पक्षमा छन्। राई अहिले पनि एमालेसँग नजिक छन्। उनी एकता गर्दा एमालेसँगै गर्नुपर्ने पक्षमा छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 2 =