आईपीएलभन्दा महँगो क्रिकेट लिग आयोजना गर्ने साउदीकाे याेजना

हिमाल प्रेस २ वैशाख २०८० १३:५९
10
SHARES
आईपीएलभन्दा महँगो क्रिकेट लिग आयोजना गर्ने साउदीकाे याेजना

काठमाडौँ- साउदी अरबले इन्डियन प्रिमियर लिग (आईपीएल) भन्दा महँगो टि-ट्वान्टी लिग आयोजना गर्ने तयारी गरिरहेको बताइएको छ। साउदीले यसबारे भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) र आईपीएल खेल्ने टिमका स्वामित्वकर्तासँग छलफल पनि गरेको अस्ट्रेलिया को अखबार द एजले लेखेको छ।

फुटबल र फर्मुला वानमा ठूलो लगानी गरेको साउदीले अब क्रिकेट पनि त्यत्तिकै ठूलो लगानी गर्न लागेको द एजेको खबरमा उल्लेख छ। बीसीसीआई र आईपीएल लगानीकर्ताहरूको सहयोगबिना महँगो लिग आयोजना गर्न अप्ठ्यारो हुने भइरहेकाले उनीहरूलाई साउदीले फकाइरहेको भारतीय सञ्चारमाध्यमहरूले दाबी गरेका छन्।

यस किसिमको ‘ग्लोबल लिग’ गर्न साउदीलाई विश्व क्रिकेट नियामक संस्था आईसीसीको अनुमति आवश्यक पर्नेछ। आईसीसी साउदीको प्रयासलाई लिएर सकारात्मक देखिएको छ। ‘साउदीले अन्य केही खेलमा अत्यधिक लगानी गरेको छ। मलाई लाग्छ क्रिकेटले पनि साउदीलाई आकर्षित गरेको छ। साउदीमा क्रिकेट लोकप्रिय हुने सम्भावना पर्याप्त छ,’ आईसीसीका अध्यक्ष ग्रेग बार्कलेले द एजसँग भनेका छन्।

केहीअघि समय स्थानीय अखबार अरब न्युजसँगको कुराकानीमा साउदी क्रिकेट संघका अध्यक्ष रहेका राजकुमार साउद बिन मिसाल अल साउद साउदीलाई विश्व क्रिकेटको गन्तब्य बनाउन आफूहरू लागि पर्ने बताएका थिए। साउदी क्रिकेटमा संलग्न व्यक्तिहरु बारम्बार बीसीसीआई र आईपीएलका अधिकारीहरुँग देखिने गरेका छन्। यसले पनि साउदी क्रिकेटमा आकर्षित रहेको देखाउँछ।

बीसीसीआईले विदेशी लिगमा भारतीय खेलाडीलाई विदेशी लिगमा खेल्न दिँदैन। तर साउदीले लिग आयोजना गरिहाले बीसीसीआईले नियम परिवर्तन गर्ने सम्भावना रहेको भारतीय अखबार मिन्टले लेखेको छ। ‘एसिया कप साउदीमा गर्ने, आईपीएलका उद्घाटना वा केही चरणका खेल अथवा फाइनल साउदीमा गराउने छलफल पनि भएको हुनुपर्छ,’ मिन्टले लेखेको छ।

भारतको अर्को अखबार द इन्डियन एक्सप्रेसले भने भारतीय खेलाडी साउदी वा अरु देशमा भइरहेका लिगमा देखिने सम्भावना तत्कालका लागि नरहेको उल्लेख गरेको छ। बीसीसीआईका एक अधिकारीलाई उदृत गर्दै एक्सप्रेसको समाचारमा लेखिएको छ, ‘आईपीएलका क्लबहरूले विदेशी लिगमा लगानी गर्न सक्छन्। उनीहरूले लगानी गरिरहेका पनि छन्। त्यसमा हाम्रो चासो छैन तर खेलाडीहरूले भारतबाहिरका लिगमा खेल्ने सम्भावना तत्कालका लागि छैन।’

खाडीकै अर्को देश संयुक्त अरब इमिरेट्स (यूएई) विश्व क्रिकेटका लागि गन्तब्य बनिसकेको छ। टि२० विश्वकप, आईपीएल, एसिया कप आयोजना गरिसकेको यूएईमा अन्तर्राष्ट्रिय शृंखला पनि हुने गरेका छन्। आईसीसी मुख्यालयसमेत यूएईमै छ। यूएईले दुबई, आबुधाबी र शारजाह जस्ता सहरमा अन्तर्राष्ट्रिय स्तरका पूर्वाधार बनाएको छ। जबकि साउदीमा त्यस किसिमको पूर्वाधार बन्न बाँकी छ।

‘हामीले क्रिकेट विकासका लागि सबै खालका पूर्वाधार तयार पार्ने योजना बनाएका छौँ। मैदानदेखि एकेडेमीसम्म बनाइने छन्। साउदीका युवालाई पनि क्रिकेटमा आकर्षित गर्ने योजना छ। एसियाका क्रिकेट प्रेमी देशका ८० लाख मान्छे साउदीमा बस्छन्। उनीहरूलाई पनि हाम्रो योजनाले आकर्षित गर्नेछ,’ राजकुमार अल साउदले भनेका छन्।

साउदी फुटबलमा लिगमा क्रिस्टियानो रोनाल्डो भित्र्याएको साउदीले लियोनल मेस्सीलाई पर्यटन दूत बनाएको छ। इंग्लिस प्रिमियर लिगको न्युकासल युनाइटेडको स्वामित्व पनि लिएको साउदी खेलकुदमार्फत अन्तर्राष्ट्रिय छवि सुधार्ने अभियानमा छ। मानवअधिकार उल्लंघन, महिलालाई सीमित अधिकार, पत्रकार जमाल खसोगीको हत्या लगायतका मुद्धाले अन्तर्राष्ट्रिय स्तरमा साउदीको छवि गतिलो छैन।

क्रिकेट कम लोकप्रियम रहेका देशमा पनि पछिल्लो समय लिग आयोजना भइरहेका छन्। यूएई र क्यानडापछि अब अमेरिका पनि टि२० लिग आयोजना हुँदैछ। जहाँ आईपीएल क्लबहरूकै स्वामित्वकर्ता संलग्न छन्। भारतबहिरका निकै लिगमा लगानी गरेकाले उनीहरू विदेशी खेलाडीहरूलाई दिर्घकालिन सम्झौता गराएर एकभन्दा बढी लिगमा खेलाउने प्रयासमा लागिरहेको बताइँदैछ। केही समयअघि मात्र

अस्ट्रेलिया ली सञ्चारमाध्यममा आईपीएल क्लबहरूले त्यहाँका खेलाडीहरूलाई एक वर्षभन्दा बढीका लागि सम्झौता प्रस्ताव राखिरहेको खबर आएका थिए। यद्यपि यसरी खेलाडीहरूलाई लामो समयका लागि एकैपटकमा अनुबन्ध गर्न सजिलो छैन। खेलाडीहरू आफ्ना देशका क्रिकेट संघको केन्द्रीय सम्झौता अन्तगर्त रहने गरेकाले सम्बन्धित क्रिकेट संघको पनि अनुमति लिनुपर्ने हुन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 7 =