काठमाडौँ- चिया किन खाने? यसको उत्तर धेरै थरी पाउन सकिन्छ। कहिले तलतल मेट्न, कहिले साथीभाइको जमघटमा त कहिले प्रियजन या विशेष व्यक्तिसँग गफगाफमा। कुन समयमा खाइन्छ? बिहान नित्यकर्म सकेपछि हरेक नेपालीको चुलोमा चिया पाक्छ। घरमा कोही आउँदा सत्कार गर्ने पहिलो खानेकुरा चिया नै हुन्छ। खाजापछि चिया नखाने नेपाली त विरलै होलान्। त्यसैले चिया जति बेला पनि तयार हुन्छ।
चियापसल चिया खाने ठाउँमा मात्रै सीमित छैन, साथीभाइ भेटघाट गर्ने, गफ गर्ने थलो पनि बनेको छ। बिहानबिहानै ग्रामीण क्षेत्रका चियापसलमा हुने देशविदेशका घटनाबारे हुने बहस सुन्न लायक हुन्छन्। चिया पकाएर बेच्ने चलन कहिलेदेखि भयो होला? नेपालमा चिया खाने चलन कहिलेदेखि सुरु भयो होला? यी प्रश्नको उत्तर पाउन कठिन छ।
राष्ट्रिय चिया तथा कफी बोर्डका अनुसार औपचारिक रूपमा चियाखेती १९२० सालदेखि भएको हो। खेतीलाई आधार मान्ने हो भने नेपालमा चिया पकाएर बिक्री हुन थालेको डेढ सय वर्ष बितेको छ।
चिया पसल भन्नेबित्तिकै हाम्रो मानसपटमा गाउँको चौतारो, सहरका चोक, गल्लीभित्रको ससानो सटर आइहाल्छ। पछिल्लो समयमा भने सहरी क्षेत्रमा ठूलो लगानीमा चिया पसल खुल्न थालेका छन्। जहाँ साथीभाइ घण्टौँसम्म बसेर चिया खाँदै गफ गर्नुको मज्जा नै बेग्लै हुन्छ। राजधानीमा पनि विगत केही वर्षदेखि यस्ता पसल खुल्न थालेका छन्। त्यस्तैमध्ये एक हो, नयाँबानेश्वरको चिया सागर।
चिया पारखीका लागि मात्र होइन कलेजका विद्यार्थीदेखि सांसद, मन्त्री, कलाकारसम्मको जमघटको थलो बनेको छ चिया सागर। ‘नयाँ खुलेका पसलमा कस्तो चिया पाइँदो र छ भनेर चिया खाने व्यक्तिहरू पनि हाम्रोमा आउनुहुन्छ’, चिया सागरका सञ्चालक केशव शर्मा भन्छन्, ‘हामीले फरक तरिकाले चियाका परिकार पस्किने प्रयास गरेका छौँ। यसैले चिया सागर चिया पारखीको रोजाइमा परेको हामीले पाएका छौँ।’
संसद् भवन र सिंहदरबारनजिकै छन्। आसपासमा कलेज पनि धेरै छन्। सबै क्षेत्र र उमेर समूहका ग्राहक त्यहाँ पुग्छन्। दलका कार्यकर्ता, ठेकेदार, विद्यार्थी, पत्रकार, बेरोजगार सबै भेटिन्छन् चिया सागरमा।
यसरी भयो जन्म
बागलुङको जैमिनी नगरपालिकाका केशवले काठमाडौँमा तीन दशकजति पर्यटन क्षेत्रमा बिताए। उनी आफ्नो पेसामा त्यति सन्तुष्ट थिएनन्। चियामा केही फरक गर्ने हुटहुटी जाग्यो उनलाई। तर अवसर पाएका थिएनन्। एक दिन बागलुङकै नवीन शर्मा र विकास पौडेलसँग छलफल गरे। चिया पसल खोल्ने निधो भयो। ‘उहाँहरू पनि यसै क्षेत्रमा काम गर्दै आउनुभएकाले चियामा काम गर्ने वातावरण मिल्यो’, केशवले भने, ‘तीनजनाले ७० लाख रुपैयाँ लगानी गरेर चिया सागर स्थापना गरेका हौँ।’ साजसज्जाका लागि ६०/७० लाख रूपैयाँ खर्च गरेको भन्दा धेरैले पत्याउँदैनन्।
‘चिया सागर’ नाम जुराउन उनीहरूले निक्कै मस्तिष्क मन्थन गरे। ‘चियाका अगाडि र पछाडि धेरै शब्द थपेर अनेक खालका नाम सोचे। धेरै दिनपछि बल्ल टुंगो लाग्यो, चिया सागर’, उनले भने। चिया व्यापारलाई अलिक फरक तरिकाले सञ्चालन गर्ने योजना उनीहरूको थियो।
कोभिड संकटले अर्थतन्त्र कमजोर बनेको थियो। बजार चलायमान हुने तर्खरमा हुँदै गर्दा उनीहरूले व्यवसायमा हात हाले। धेरैले पत्याएका थिएनन्। ‘आर्थिक कारोबार कम भएकै समय ०७८ असारमा चिया सागर सञ्चालनमा ल्यायौँ’, केशवले भने, ‘हामीले सोचेभन्दा राम्रो व्यापार हुन थाल्यो। ग्राहकको रोजाइमा परेपछि चिया सागर अगाडि बढ्न कठिन भएन।’
यस क्रममा उनीहरूले काठमाडौँमा चलेका नचलेका सबै चिया पसलको अध्ययन गरेका थिए। ‘गर्ने त त्यही नै हो तर अलिक फरक तरिकाले गर्नुपर्ने थियो’, केशव भन्छन्, ‘धेरै ठूलो लगानी गरेर धेरै ठूलो जोखिम लिनेभन्दा ठिकैको लगानीमा चलायमान हुने खालको बिजनेस हामीले गरेका हौँ।’
नेपालमा खाने, बस्ने, लगाउने र रमाइलो गर्ने बिजनेश सबैका लागि रोजाइमा पर्ने गरेको छ। यस्तो व्यवसाय सजिलो हुने उनीहरूको अनुभव छ। सञ्चालक तीनै जना पसलमा सक्रिय हुन्छन्। सबैले उत्तिकै लगनका साथ काम गर्छन्। कोही मालिक बनेर बस्दैनन्। बिहान झिसमिसेदेखि राति अबेरसम्म उनीहरू व्यस्त हुन्छन्।
३० देखि ३५० रुपैयाँसम्मको चिया
साथीभाइसँग बसेर छलफल गर्न काठमाडौँमा पर्याप्त खुला ठाउँ छैनन्। चिया सागरले त्यही खुला ठाउँको विकल्प दिएको छ। ‘साथीभाइसँग छलफलका लागि चिया सागर एउटा राम्रो विकल्प हो। धेरै खर्च नगरी सानोतिनो छलफल र भेटघाटका लागि हाम्रो ठाउँ उपयुक्त छ’, उनले भने, ‘साथीभाइसँग भेट हुँदा भेट हुँदा चियाँ खाऊँ भनेर सोध्ने नेपालीको शैलीलाई पनि चिया सागरले पूरा गर्न सक्छ।’
पर्याप्त ठाउँ भएकाले छलफल र कुराकानी गर्दै यहाँ चिया खान सकिन्छ। ‘चिया खानेहरूले अर्डर नगरेसम्म हामी दबाब दिँदैनौँ’, सञ्चालक केशवले भने।
चिया सागरमा चिया र कफीका विभिन्न प्रकार पाइन्छन्। ‘२५/३० प्रकार र स्वादमा हामीले चिया कफी पस्किरहेका छौँ’, केशवले भने। यहाँको मेन्युमा ‘घरको चिया’ पनि उपलब्ध छ। ‘सबैले घरमा खाने खालको चियालाई हामीले घरको चिया नाम दिएका हौँ। यो चियामा हामीले स्पेसल मसला प्रयोग गर्छौँ’, उनी भन्छन्।
यहाँ चियामा प्रयोग हुने मसला भारत र तेस्रो देशबाट ल्याइन्छ। ‘चियामा प्रयोग हुने मसला एकै प्रकारको हुन्छ। गुणस्तर कायम गर्न हामी सचेत छौँ’, केशव भन्छन्।
आमउपभोक्ता खाद्यान्न गुणस्तरप्रति सचेत हुँदै आएको बुझाइ उनको छ। उनी भन्छन्, ‘उपभोक्ताहरू गुणस्तरप्रति सचेत भएकाले पैसा तिर्न डराउँदैनन्’, उनी भन्छन्। त्यसैले चियाको गुणस्तरमा सम्झौता नगर्ने उनले बताए।
सरसफाइप्रति पनि सचेत रहेको उनी बताउँछन्। ‘एक वर्षपछि आएर तपाईंको घरको भाँडा र यहाँका भाँडा हेर्नु भो भने उस्तै पाउनु हुनेछ। कुनै कस बसेको हुँदैन। सरसफाइमा हामीले निक्कै ख्याल गरेका छौँ’, केशवले भने।
यहाँ पाइने चियामा सस्तो ३० रुपैयाँदेखि सुरु हुन्छ। ब्ल्याक टीको पटलाई ६० रुपैयाँ पर्छ यसले सानो ग्लासमा खाँदा ३÷४ जनालाई पुग्छ। मसला चिया पटको ३५० रुपैयाँ पर्छ। यो चिया कपमा खाँदा ५०/६० रुपैयाँ पर्छ।
चियाका साथै चिया सागरमा कुकिज, नमकिन, पेस्टिज, दुनट, ब्राउनिजलगायत परिकार पाइन्छ। केशव भन्छन्, ‘हामीले चिया र बेकरी आइटमलाई नै प्राथमिकता दिएका हौँ।’ उनीहरू यसमा अन्य खानेकुरा मिसाउन चाहँदैनन्। अन्य आइटम मिसायो सेवामा कमी आउनेमा उनीहरू सचेत छन्। ‘चिया, कफी मात्र दिने हाम्रो उद्देश्य भएको हुँदा हामी यसैमा केन्द्रित छौँ’, केशवले भने।
साजसज्जामा धेरै खर्च
चिया सागरको साजसज्जा आधुनिक र परम्परागत दुवै तरिकाले गरिएको छ। चिया सागरमा डोरी, नाङ्ला, डोकाले सजाइएको छ। ‘आधुनिक र परम्परागत दुवै वस्तुहरूको संयोजन गरेर यसको डिजाइन गरिएको हो। यहाँ प्रयोग गरिने कप र पटहरू भक्तपुरमा सेरामिकबाट अर्डर दिएर बनाइएको हो। मट्का कपहरू भारतबाट मगाएका हौँ, केशवले भने।
न्युरोडमा कपडा र सुनपसल भएजस्तै बानेश्वर क्षेत्रमा चिया पसल र रक्सी पसल धेरै भएको उनले देखे। उनले भने, ‘त्यसैले जहाँ जुन आइटमको व्यापार हुन्छ त्यहाँ केही फरक तरिकाले गर्न सके सोही व्यापार चल्छ।’
वसुन्धरामा शाखा खोल्न पनि उनले केही कुरालाई ध्यान दिएका छन्। कान्ति, टिचिङलगायत हस्पिटल यहाँ नजिकै छन्। कलेज पनि छन्। त्यसैले वसुन्धरामा शाखा स्थापना गरिएको हो’, उनले भने।
चिया सागरमा कुनै वर्ग, क्षेत्र, उमेर समूहका ग्राहक आउँदैनन्। कलेजका विद्यार्थीदेखि पाका नेतासम्म चिया खान पुग्छन्। ‘यहाँ सबै खालका सबै उमेरका ग्राहकहरू आउनु हुन्छ। पूर्वप्रधानमन्त्री देखि बहालवाला सांसद मन्त्रीहरू पनि यहाँ आउनु हुन्छ। चिया सागर विद्यार्थीहरूको रोजाइमा पनि परेको छ’, केशवले भने, ‘हिजोमात्र एकजना मन्त्री यहाँ आएर भिडियो कलमार्फत् धेरैबेर छलफल गरेर जानुभो। तपाईंकहाँ आउँदा ३ हजार ४ हजारमा मिटिङ गरेर सकिन्छ। रेस्टुरेन्टमा यति नै काम गर्न कम्तीमा पनि १० हजार लाग्छ भन्नुहुन्थ्यो।’
चिया सागरले चिया कफी तयार गर्ने र सर्भ गर्ने तालिम पनि दिने गरेको छ। हाल यहाँ चार जनाले तालिम लिइरहेका छन्। ‘जिरो लेभलबाट आएका भाइबहिनीलाई पनि हामी काम गर्न सिकाउँछौँ। सिकाएर यहीँ काम गर्न सक्ने बनाउँछौँ’, केशव भन्छन्। मसला बनाउने तालिमचाहिँ उनीहरूले दिँदैनन्। ‘मसला बनाउँनचाहिँ हामी कसैलाई सिकाउँदैनौँ। मसला हामीले गोप्य राखेका हुन्छौंँ’।’
गरे नेपालमै हुन्छ
कोभिड संकटअघि केशव विदेश जाने योजनामा थिए। पासपोर्ट पनि बनाए। तर उनी विदेशतर्फ आकर्षित भएनन्। केशव भन्छन्, ‘विदेशमा काम गरेर पैसा कमाउन सकिएला तर यहाँ नेपालीपन हुन्छ, विदेशमा त्यो पाइँदैन।’
युवा त रोजगारी नपाएर विदेश गएका छन् नि भन्ने प्रश्नमा उनी भन्छन्, ‘इमानदारीका साथ काम गर्नुपर्यो। देशको नीतिनियममा बसेर काम गर्दा नेपालमै पैसा कमाउन सकिन्छ।’ अल्छी र बसीबसी खान पाए हुन्थ्यो भन्ने स्वभावका मान्छे भएकाले समस्या भएको उनी बताउँछन्।उनी भन्छन्, ‘नेपालमा रोजगारीका लागि कम अवसर पक्कै छ। तर मेहेनत गरेर काम गर्न सक्दा विदेश जानुपर्छ भन्ने छैन।’
कमाइबाट सन्तुष्ट छन् उनी। एक वर्षमा एउटा शाखा थपिएको छ। चिया सागरमा प्रत्यक्ष रूपमा १० जनाले रोजगारी पाएका छन्। केहीले तालिम पनि लिइरहेका छन्।
केशवको समूहले बैंकबाट ऋण लिएर चिया सागर चलाएको हो। इमानदार मान्छे भएकाले बैंकले पत्याएको उनले बताए। काठमाडौँबाहिर पनि यस्ता चिया पसल सञ्चालन गर्न सकिने सहर उनीहरूले देखेका छन्। उनी भन्छन्, ‘ पहिला खुट्टा राम्रोसँग टेक्नुपर्यो। काठमाडौँमा सफल भएपछि बाहिर पनि शाखा खोल्ने योजना छ।’
अहिले दैनिक ३५ हजार रुपैयाँसम्म कमाइ हुन्छ। यसबाट उनी सन्तुष्ट छन्। उनी भन्छन्, ‘एक वर्षसम्म कस्तो चल्छ होला भनेर जुन योजना बनाइएको थियो। त्यो ६ महिनामा नै पूरा भएको छ’, उनले भने, ‘ग्राहकक मायाले गर्दा एक वर्ष नै नपुगी हामीले शाखा खोल्न सक्यौँ।’
भारतमा जन्म, पाल्पामा पढाइ, काठमाडौँमा व्यापार
बुबा भारतीय लाहुरे भएकाले केशव भारतको चेन्नईमा जन्मेका हुन्। बाल्यकाल त्यहीँ बिताएका उनले सोही समय त्यहाँ चिया पसल र चिया पारखीहरू पर्याप्त देखेका थिए। उनी भन्छन्, ‘चेन्नईको गर्मीमा पसिना निकाल्दै चिया पिइरहेको देखेको हुँ। चिया व्यापार पनि त्यहीँ देखेँ। यसैले पनि मैले चियाबारे चासो जगाएको हुनुपर्छ।
केशवले त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाबाट स्नातक गरेका हुन्। पढाइमा ब्रेक लागेपछि उनी राजनीतिमा पनि लागे। जनमोर्चाको गाउँ कमिटी अध्यक्ष बनेका उनी राजनीतिमा धेरै टिकेनन्।
काठमाडौँ आएर उनले कतै जागिर खाएनन्। सीधै आफ्नै काम गरे। ठमेलमा होटल छ। होस्टेल पनि सञ्चालन गरिरहेका छन्। ०६१ सालदेखि पर्यटन क्षेत्रमा संलग्न छन्। उनी भन्छन्, ‘चार लाख ऋण खोजेर काठमाडौँ आएको थिएँ। अहिले ठमेलमा होटल र काठमाडौँमै होस्टेल चलाउन सक्ने अवस्थामा आइपुगेको छु।’
तस्बिरहरू- दिपेश श्रेष्ठ/हिमाल प्रेस