फूलैफूलले ढकमक्क राजधानी [तस्बिरमा]

हिमाल प्रेस २ वैशाख २०८० १०:०६
104
SHARES
फूलैफूलले ढकमक्क राजधानी [तस्बिरमा]

काठमाडौँ- आदिकवि भानुभक्त आचार्यले ‘आलकापुरी कान्तिपुरी नगरी’ कविता त्यसै लेखेका थिएनन्। उनले कान्तिपुर अर्थात अहिलेको काठमाडौँप्रति मोहित भएरै त्यो कविता लेखेका थिए।

हो, त्यो कान्तिपुरले फेरि जवानीको रूप देखाएको छ। वसन्त ऋतुमा अलकापुरी नगरी ढकमक्क छ। धुवाँधुलो र प्रदूषण त छँदैछ तर त्यसमा वसन्त ऋतुका आगमनमा रंगीचंगी फूल र हरियालीले संघीय राजधानी काठमाडौँलाई मनमोहक बनाएको छ। काठमाडौँ उपत्यकाका सडक किनारमा फुलेका फूलहरुले जो कोहीलाई पनि मोहित पार्छ।

डाँडाकाँडा चहुर हरिया देखिए पालुवाले ।
बोकी ल्यायो वकल वनको वास मिठो हवाले।।
डाकी मौरी मधुर रसमा लेक पाक्यो गुहेँली।
गोठालाले वनवन डुली हाल्न थाल्यो सुसेली।।

राष्ट्रकवि माधवप्रसाद घिमिरेको ‘वैशाख’ कविताको अंशले काठमाडौँको वैशाखको फूलैफूलको सहरलाई चरितार्थ गर्छ। नदीका किनार, सडकका छेउ, घरका प्रवेश द्वार, मठ मन्दिर जताततै फूलैफूलले ढाकेको छ।

वसन्त ऋतु अर्थात् वनस्पतिहरूले काँचुली फेर्ने ऋतु। शिशिर र गृष्मबीचको यो ऋतुलाई ऋतुराज पनि भनिन्छ। काठमाडौँका सडक र किनारमा सवारी र पैदलयात्रुलाई मोहित पार्दै ढकमक्क फूल फुलेका छन्। अधिकांश वनस्पतिले पाउला फेर्ने भएकाले यो ऋतु हरियाली त हुन्छ नै ढकमक्क फुलेको फूलहरूले झनै सौन्दर्य बढाउँछ।

वसन्त ऋतुको शुरुवात भएसँगै यतिखेर राजधानी पनि परिवर्तन भएको भान हुन्छ। सडकको वरिपरि रहेको चेरी र आरु ढकमक्क फुलेर राजधानीको सौन्दर्य बढाएको छ। काठमाडौँका सडक पेटीमा फुलेका चेरी र आरु फूलको दृश्यले कम आनन्द महसुस हुँदैन। सडकमा हिँड्ने यात्रु लोभलाग्दा फूलसँग रमाइरहेका हुन्छन्। काठमाडौँका सडकमा यतिबेला विभिन्न प्रजातिका फूल फुलेका छन्। यसले पदयात्रीलाई थप आनन्दित बनाएको छ।

तस्बिर स्रोत : न्युज एजेन्सी नेपाल

प्रकाशित: २ वैशाख २०८० १०:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 18 =