गण्डकी सरकारको नेतृत्वबाट बाहिरिने खगराजको संकेत

हिमाल प्रेस १ वैशाख २०८० २०:४०
गण्डकी सरकारको नेतृत्वबाट बाहिरिने खगराजको संकेत मुख्यमन्त्री खगराज अधिकारी।

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आगामी ९ वैशाखमा राजीनामा दिने संकेत गरेका छन्। प्रदेशसभाको अंकगणितमा नेकपा एमाले अल्पमतमा परेपछि उनले सरकारबाट बाहिरिने मनसाय बनाएका हुन्।

नेकपा माओवादी केन्द्रले गठबन्धन फेरेर कांग्रेससँग गठजोड गरेपछि गण्डकीसभा एमाले संसदीय दलका नेतासमेत रहेका अधिकारी नेतृत्वको सरकार अल्पमतमा छ। गत १० चैतमा माओवादी केन्द्रका तर्फबाट २ मन्त्री राजीनामा दिँदै सरकारबाट बाहिरिएपछि अधिकारी नेतृत्वको सरकार संकटमा छ।

मुख्यमन्त्री अधिकारीले सरकार टिकाइराख्न ३० दिनभित्र संसदमा विश्वासको मत लिने समयसीमाको आखिरी अवस्थामा राजीनामा बुझाउने तयारी गरेको उनका प्रेस सल्लाहकार सुसन घिमिरले बताए।

‘सम्भवतः उहाँ (मुख्यमन्त्री)ले संसद अधिवेशनको दिन सम्बोधन गरेर सरकारबाट बाहिरिने मनस्थितिमा हुनुहुन्छ,’ घिमिरेले भने। ९ वैशाख ३ बजेका लागि गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन्।

प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ (१) बमोजिम प्रदेश प्रमुख गुरुङले अधिवेशन आह्वान गरेका हुन्। ६० सदस्यीय गण्डकीसभामा कांग्रेस २७ सिटसहित सबैभन्दा ठूलो पार्टी हो। दोस्रो स्थानमा रहेको एमालेको २२, माओवादी केन्द्रको ८, राप्रपाको २ र स्वतन्त्र १ (पछि एकीकृत समाजवादीमा प्रवेश) सदस्य छन्।

मुख्यमन्त्रीलाई विश्वासको मतका लागि बहुमत ३१ सिट आवश्यक पर्छ। संसदीय अंक गणितको यस्तो अवस्थामा अधिकारी नेतृत्व टिकिरहने सम्भावना छैन। गत २५ पुसमा नेपालको संविधान १६८ (२) बमोजिम मुख्यमन्त्री नियुक्त अधिकारीले २९ पुसमा संसदमा विश्वासको मत पाएका थिए।

केन्द्रमा माओवादी अध्यक्ष र एमाले अध्यक्ष मिलेको सो समयमा अधिकारीको पक्षमा ३१ मत परेको थियो। विपक्षीमा २७ मतमात्रै परेको थियो। उनलाई एमालेका २१, माओवादी केन्द्रका ८ र राप्रपाका २ जना सदस्यले समर्थन गरेका हुन्।

स्वतन्त्र लडेर चुनाव जितेका राजीव गुरुङ (दीपक मनाङे) भने उपस्थित भएनन्। एमालेका मित्रलाल बस्याल ज्येष्ठ सांसद भएकोले सभाध्यक्षको हैशियतमा हुँदा चुनावमा सहभागी भएनन्। गण्डकीमा अब कांग्रेस वा माओवादी केन्द्रमध्ये एकले सरकारको नेतृत्व गर्ने निश्चित छ। कांग्रेसबाट संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे र माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान मुख्यमन्त्रीका आकांक्षी छन्।

प्रकाशित: १ वैशाख २०८० २०:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =