
काठमाडौँ- आर्थिक अनुशासनमा प्युठानको मल्लरानी गाउँपालिका र सरुमारानी गाउँपालिका देशभरकै उत्कृष्ट पाइएका छन्। गत आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदनअनुसार प्युठानका दुवै गाउँपालिका देशभरकै उत्कृष्ट पाइएका हुन्।
महालेखा परीक्षक कार्यालयले बिहीबार सार्वजनिक गरेको ६०औँ वार्षिक प्रतिवेदनले मल्लरानी र सरुमारानी गाउँपालिकामा शून्य बेरुजु रहेको हो। प्रतिवेदनअनुसार तेह्रथुमको आठराई गाउँपालिका सबैभन्दा बढी बेरुजु रहेको स्थानीय तह रहेको छ।
सो गाउँपालिकामा गत आर्थिक वर्षमा पालिका बजेटको २०.३१ प्रतिशत बेरुजु रहेको छ।
महालेखाले १५ प्रतिशतभन्दा बढी बेरुजु रहेका स्थानीय तहको संख्या ६ वटा रहेको छ। ५ देखि १५ प्रतिशत बेरुजु रहेका स्थानीय तहको संख्या २ सय ५ र ५ प्रतिशतभन्दा कम बेरुजु रहेका स्थानीय तहको संख्या ५ सय ४० रहेको महालेखाले उल्लेख गरेको छ।