काठमाडौँ मेयर उपमेयरको कार्यकक्षसहित विभागहरू काठमाडौँमा प्लाजामा सारियो

छरपस्ट विभागहरूलाई एउटै भवनमा राखिएपछि सेवाग्राहीलाई सहज हुने दाबी

हिमाल प्रेस ३० चैत २०७९ १८:३२
6
SHARES
काठमाडौँ मेयर उपमेयरको कार्यकक्षसहित विभागहरू काठमाडौँमा प्लाजामा सारियो

काठमाडौँ– काठमाडौँ महानगरका विभागहरूले अब कमलादीस्थित काठमाडौँ प्लाजाबाट सेवा दिने भएका छन्। हाल सुन्धारास्थित जेडिए कम्प्लेक्समा रहेका शाखा, एकाई र सचिवालयहरूसहित विभागहरू काठमाडौँ प्लाजामा स्थानान्तरण गरिने भएको हो।

महानगरको प्रशासन विभागले बुधबार (हिजो)देखि नै कम्प्लेक्समा रहेकाकक्षहरू भत्काएर प्लाजामा स्थानान्तरण सुरु गरेको छ। कम्प्लेक्सको छैटौँ तलामा रहेको विभागसँगै प्रमुख प्रशासकीय अधिकृतको सचिवालय, अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय र पाँचौँ तलामा रहेको वित्त विभाग, आन्तरिक लेखा परीक्षण एकाइको पार्टेसन र फर्निचर सामग्रीहरू सारिएको छ।

‘सेवा नरोकिने गरी काम गर्छौं। हामीले शनिबार पनि कर्मचारी बोलाएका छौं। सार्ने काममा नगर प्रहरी परिचालन गरेका छौं। पहिले प्रयोग गरिएका सामानलाई टुटफुट हुनबाट बचाएर यहाँ (जेडिए कम्प्लेक्स) कार्यालय सञ्चालनमा प्रयोग भएका सामानबाट उता (काठमाडौँ प्लाजा) कक्ष निर्माण गर्ने, कम खर्चमा कार्यालय सार्ने काम सम्पन्न गर्ने गरी काम भइरहेको छ,’ प्रशासन विभाग प्रमुख एवम् महानगरका सहप्रवक्ता दीपक अधिकारीले बताए।

०७२ सालको भूकम्पका कारण केन्द्रीय भवन जीर्ण भएपछि महानगरअन्तर्गतका विभागहरू राष्ट्रिय सभागृहसहित अन्य विभिन्न भवनमा सारिएको थियो। धेरै ठाउँबाट सेवा दिँदा हुने विभिन्न शीर्षकको खर्चमा कटौती हुने र सेवाग्राहरीहरूलाई सजिलो हुने उनले जानकारी दिए।

एउटै ठाउँमा सेवा ल्याउन सकिने भएपछि नेपाल ट्रष्टसँग काठमाडौँ प्लाजा भाडामा लिन प्रक्रिया अगाडि बढाइएको थियो। यही प्रक्रियाअन्तर्गत चैत ८ गते महानगर र ट्रष्टबिच प्लाजा भाडा सम्बन्धमा १० वर्षका लागि सम्झौता भएको महानगरले जनाएको छ।

७ तलाको भवनमा सबैभन्दा तल्लो तलामा चारपांग्रे ७० वटा र दुई पांग्रे २ सय वटा सवारी साधन पार्किङ गर्न सकिने साथै भवनको १ लाख १९ हजार वर्गफिट क्षेत्रफलमा कार्यलयहरू सञ्चालन गरिने बताइएको छ।

ग्राउण्ड फ्लोरमा पार्किङ, नगर प्रहरी बलको कार्यकक्ष, बैंक काउन्टर, आपतकालीन सेवा केन्द्र, विपत व्यवस्थापन विभाग, स्वास्थ्य सेवा केन्द्र, मूल दर्ता र पञ्जीकरण सेवा रहने छन् भने पहिलो तलामा राजस्व विभाग, सहरी व्यवस्थापन विभाग, सामाजिक विकास विभाग, मिसिल तथा तथ्यांक शाखा, वातावरण व्यवस्थापन विभाग, सभा कक्ष, विषयगत समितिको कार्यकक्ष र दोस्रो तलामा उपमेयरको सचिवालय, ट्राफिक व्यवस्थापन सल्लाहकार, स्वास्थ्य विभाग, सहकारी विभाग, कृषि पशुपंक्षी विभाग, शिक्षा विभाग, कानुन तथा मानव अधिकार विभाग र इजलास रहने महानगरले जनाएको छ।

तेस्रो तलामा वित्त विभाग, आन्तरिक लेखा परीक्षण एकाइ, खरिद एकाइ, अनुगमन तथा मूल्यांकन एकाइ, प्रशासन विभाग, प्रमुख प्रशासकीय अधिकृतको सचिवालय र चौथो तलामा मेयरको सचिवालय, सहरी योजना आयोग, सार्वजनिक निर्माण विभाग, सम्पदा तथा पर्यटन विभाग, सार्वजनिक निजी साझेदारी एकाइ, सूचना प्रविधि विभाग, अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय राखिनेछ। पाँचौँ तलामा उद्यान तथा हरियाली प्रवर्द्धन आयोजना, क्यान्टिन, रिफ्रेसमेन्ट सेन्टर, सभा कक्ष, कल सेन्टर रहने बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 6 =