रुपन्देही घरभाडा घटाउन व्यावसायिक संस्थाको आग्रह

हिमाल प्रेस ३० चैत २०७९ ७:३६
2
SHARE

रुपन्देही- कोभिड-१९ पछिको घट्दो व्यापार, बैंकको चर्को ब्याजदर, महँगो घरभाडालगायत कारण व्यापार व्यवसायमा देखिएको मन्दीले व्यवसायी विस्थापित हुने अवस्था आएको रुपन्देहीका उद्योगी व्यावसायिक संघसंस्थाले ठहर गरेका छन्।

व्यावसायिक संघसंस्थाको बुधबार बुटवलमा बसेको संयुक्त बैठकले बढ्दो घरभाडा र चर्को बैंक ब्याजका विषयमा व्यावसायिक संघसंस्थाको सञ्जालले बृहत् बैठक आह्वान गरी बैंक ब्याजदर र घरभाडा घटाउन दबाबस्वरुप खाका तयार गर्ने निर्णय गरेको छ।

रुपन्देही व्यापार संघ, रुपन्देही उद्योग संघ, बुटवल उद्योग वाणिज्य संघ, उद्योग व्यापार संघ र नेपाल घरबहाल सरोकार संघको संयुक्त बैठकले घट्दो र खस्कँदै गइरहेको व्यापारलाई बचाएर आफू पनि चल्ने र सबैलाई चल्ने अवस्था बनाउनु अपरिहार्य आवश्यकता भएको ठहर गर्दै घरबहाल घटाउन घरधनीहरूलाई सामूहिक आग्रह गरेको छ।

बैठकमा बढ्दो आर्थिक मन्दीबाट व्यापार व्यवसाय, उद्योग तथा कलकारखाना धारासायी हुँदै गइरहेको र त्यसबाट आएको संकटका विषयमा गम्भीर छलफल गरिएको रुपन्देही व्यापार संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले बताए।

बैठकपछि जारी संयुक्त अपिलमा मुलुकको अर्थतन्त्रलाई चलायमान गराउँदै व्यापार व्यवसाय तथा उद्योग कलकारखाना सञ्चालन गर्ने अवस्था सिर्जना गर्ने विषयमा सबै पक्ष गम्भीर बन्न अनुरोध गरिएको छ।

अपिलमा बढ्दो आर्थिक मन्दीबाट आम उपभोक्ता तथा घरधनीलाई पनि प्रत्यक्ष असर परेको उल्लेख गर्दै बढ्दो आर्थिक मन्दीका कारण व्यापार नभएपछि बुटवल बजारमा घरभाडा लिएर व्यवसाय सञ्चालन गरेका व्यवसायी पसल बन्द गर्नेको संख्या बढ्दै गएको र बजार विस्थापित हुने क्रम बढेको प्रति चिन्ता व्यक्त गरिएको छ।

यो स्थितिलाई मध्यनजर गर्दै पछिल्लो घट्दो र खस्कँदै गइरहेको व्यापारलाई बचाएर आफू पनि चल्ने र सबैलाई चल्ने अवस्था बनाउनु आजको अपरिहार्य आवश्यकता रहेको जनाइएको छ।

प्रकाशित: ३० चैत २०७९ ७:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 5 =