नेपाली सेनाको आयुक्त पद प्रदान कवाज सम्पन्‍न

हिमाल प्रेस २९ चैत २०७९ २१:२१
10
SHARES
नेपाली सेनाको आयुक्त पद प्रदान कवाज सम्पन्‍न

काठमाडौँ– नेपाली सेनाको अधिकृत क्याडेट तालिम तथा पदिक तथा बिल्लादार अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कार्यक्रम बुधबार सम्पन्‍न भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा भक्तपुर, खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा सञ्चालित सि.सं. ६० अधिकृत क्याडेट तालिम तथा सि.सं. ५० पदिक तथा बिल्लादार अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कार्यक्रम सम्पन्‍न भएको हो।

समारोहमा तालिममा सहभागी अधिकृत क्याडेटहरूले आयुक्त पद प्रदान कवाज प्रदर्शन गरेका थिए।

सि.सं. ६० अधिकृत क्याडेट तालिमका ११ महिला, ७४ पुरुष तथा जाम्वियाका १ अधिकृत क्याडेट गरी जम्मा ८६ जना अधिकृत क्याडेटहरूले उपसेनानी दर्जामा र सि.सं. ५० पदिक तथा बिल्लादार अधिकृत क्याडेट तालिमका ३५ जना अधिकृत क्याडेटहरूले सहायक सेनानी दर्जाको आयुक्त पद प्राप्त गरेका छन्।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सि.सं. ६० अधिकृत क्याडेट तालिममा सर्वप्रथम हुने प्रतिष्ठान ज्येष्ठ प्रशिक्षार्थी कृष्ण खड्का, महिलातर्फ प्रथम हुने अधिकृत क्याडेट अप्सरा बुढाथोकी र सि.सं. ५० पदिक तथा बिल्लादार अधिकृत क्याडेट तालिममा सर्वप्रथम हुने अधिकृत क्याडेट खगेन्द्र कार्कीलाई श्रेष्ठताको प्रतीक स्वरूप खुकुरी एवम् छडीद्वारा पुरस्कृत गरे।

कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नवआयुक्त अधिकृतहरूलाई लामो अवधिको आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गरी आयुक्त पद प्राप्त गर्न सफल भएकोमा बधाई दिँदै आगामी सैनिक जीवनमा सफलताको लागि शुभकामना व्यक्त गरे।

आयुक्त पद प्रदान कार्यक्रममा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, प्रधान सेनापति प्रभुराम शर्मा, रक्षासचिव किरणराज शर्मा, पूर्वप्रधान सेनापतिहरू, बलाधिकृत, बलाध्यक्ष, जनप्रतिनिधिहरू, नेपाल प्रहरीका महानिरीक्षक, रथीवृन्द, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त महानिरीक्षक, पूर्वकमान्डान्ट, प्राध्यापकहरू, भक्तपुर जिल्लास्थित सरकारी पदाधिकारीहरू, नेपाली सेनाका अधिकृत, सञ्चारकर्मी एवम् सैनिक सहचारीहरू उपस्थित थिए।

सैनिक प्रतिष्ठानबाट हालसम्म महिला २ सय ५२ सहित ५ हजार ३ सय २० जना अधिकृत क्याडेटहरूले तालिम सम्पन्न गरेका छन्। सन् २०१२ बाट विदेशी शिक्षार्थीसमेत सम्मिलित अधिकृत क्याडेट तालिम सञ्चालन गरिँदै आएकोमा हालसम्म विभिन्न राष्ट्रका २४ जना विदेशी अधिकृतहरूले तालिम लिएको सेनाले जनाएको छ।

बुधबार सम्पन्न समारोहमा सेनापति शर्माले अधिकृत आधार तालिम सम्पन्‍न गर्ने मित्रराष्ट्र जाम्वियाका लेउथेनन्त अर्थुर लपियलाई नेपाली मिल्ट्री एकाडेमी मेडालियनले सुशोभित गरे। नवआयुक्त अधिकृतहरूलाई आफ्नो अभिभावकलगायत निकटस्थहरूले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

प्रकाशित: २९ चैत २०७९ २१:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 8 =