च्याम्पियन्स लिग : सेमिफाइनल नजिक इन्टर मिलान

हिमाल प्रेस २९ चैत २०७९ १०:२१
6
SHARES
च्याम्पियन्स लिग : सेमिफाइनल नजिक इन्टर मिलान

काठमाडौँ- इटालीको इन्टर मिलान च्याम्पियन्स लिग सेमिफाइनलनजिक पुगेको छ। क्वार्टरफाइनल पहिलो लेगमा बेनफिकालाई उसकै मैदानमा २-० ले पराजित गरेपछि इन्टरले अन्तिम चारमा स्थान सुरक्षित गर्ने सम्भावना बलियो बनाएको हो।

तीन पटकको च्याम्पियन इन्टरलाई पोर्चुगलमा जिताउन निकोलो बरेला र रोमेलु लुकाकुले एक–एक गोल गरे। दुवै गोल दोस्रो हाफमा सम्भव भए। युवा रक्षक अलसान्द्रो बास्तोनीको क्रसमा हेडर गोल गर्दै बरेलाले ५१ औँ मिनेटमा इन्टरलाई अग्रता दिलाएका थिए।

इन्टरले ८२ औँ मिनेटमा अग्रता दोब्बर बनायो। सेन्ट्रल फरवार्ड रोमेलु लुकाकुले पेनाल्टीमा सहजै गोल गरे। बेनफिकाका मिडफिल्डर जोआओ मारियोले डेन्जेल डम्फ्राइजको क्रस हातले ब्लक गरेपछि इन्टरले पेनाल्टी पाएको थियो। मारियो इन्टरका पूर्वखेलाडी हुन्।

पोर्चुगलको घरेलु लिगमा शीर्षस्थानमा रहेको बेनफिका यो सिजन च्याम्पियन्स लिगमा पहिलो पटक हारेको हो। अन्तिम १६ मा परिचित प्रतिद्वन्द्वी एफसी पोर्टोलाई पन्छाएको बेनफिकाका लागि यो घरेलु मैदानमा दोस्रो पराजय हो। गत शुक्रबार बेनफिकालाई स्टाडियो डा लुजमा पोर्टोले हराएको थियो।

रोजर स्मिडको प्रशिक्षणमा खेलिरहेको बेनफिका सन् १९९० पछि पहिलो पटक सेमिफाइनल पुग्ने लक्ष्यमा छ। तर बेनफिकाले लक्ष्य अनुरुपको खेल देखाउन सकेन। इटालेली लिग सिरी ‘ए’ मा पछिल्ला पाँच खेलमध्ये एकमा मात्र जित दर्ता गरेको इन्टरले पोर्चुगलमा धैर्यपूर्वक खेल्यो।

इन्टरका मिडफिल्डर हेनरिक मिखितार्यनले आफ्नो टिमले लिस्बनमा सिजनकै उत्कृष्ट प्रदर्शन गरेको बताए। ‘आज हामी बनेफिकाभन्दा हरेक पक्षमा बलियो देखियौँ। मलाई लाग्छ जारी सिजन हामीले यत्तिको राम्रो खेल्न सकेका थिएनौँ,’ मिखितार्यनले भने, ‘हुन त भर्खर पहिलो लेग सकिएको छ। अझ एक खेल त खेल्नै बाँकी छ। एक सातापछि बेनफिकासँग फेरि भिड्नु छ। त्यो खेल पक्कै सजिलो हुने छैन।’

लिस्बन पुग्नुअघि सबैखाले प्रतियोगिताका पाँच खेलमा जम्मा दुई गोल गरेको इन्टरले बेनफिकाविरुद्ध धेरै मौका सिर्जना गरेन। न त बेनफिका नै सिर्जनात्मक देखियो। इन्टरका प्रशिक्षक सिमआने इन्जाघीले अग्रपंक्तिको जिम्मा लाउटारो मार्टिनेज र एडेन जेकोलाई दिएका थिए। चेल्सीबाट ऋणमा इन्टरसँग आबद्ध लुकालले चित्तबुझ्दो प्रदर्शन गर्न नसकिरहेकाले उनको स्थानमा पाका जेकोलाई मौका दिइएको थियो।

दोस्रो हाफको ६३ औँ मिनेटमा मैदान प्रवेश गरेका लुकाकुले दबाब सहँदै पेनाल्टीमा गोल गरे। लुकाकुको गोलले थप अप्ठ्यारोमा परेको बेनफिकाले आतिरिक्त समयमा गोल अन्तर कम गर्ने अवसर पाएको थियो। तर बेनफिकाका २१ वर्षीय स्ट्राइकर गोन्सालो रामोसको प्रहार इटालेली क्लबका गोलरक्षक आन्द्रे ओनानाले बचाए।

‘मैले साथीहरूलाई भनेको थिएँ, बेनफिकासँग हामी नडराई खेल्नु पर्छ। आखिरमा त्यही गर्न सफल भयौँ। तर हामी अझै सेमिफाइनल पुगिसकेका छैनौँ। दोस्रो लेगमा यसरी नै खेले मात्र त्यहाँ पुगिन्छ,’ ओनानाले भने।

सेमिफाइनल पुगे, इन्टरको भेट इटालीकै क्लबसँग हुनेछ। किनभने अर्को क्वार्टरफाइनलमा नापोली र एसी मिलान आमनेसामने हुँदैछन्। यो भेट पक्का गर्न इन्टरले बेनफिकालाई अप्रिल १९ मा पराजित गर्नुपर्नेछ। बेनफिकाका रक्षक एन्टोनियो सिल्भा भने सान सिरोमा हुने दोस्रो लेग जित्न आफ्नो टिम सक्षम रहेको बताउँछन्।

‘यो खेल हामीले हार्नु हुँदैन थियो। हार्नेगरि खेलेको पनि होइन। यसकारण बराबरीको नतिजा न्यायपूर्ण हुने थियो,’ पोर्चुगलको टेलिभिजन च्यानल इलेभेनसँग कुरा गर्दै सिल्भाले भनेका छन्, ‘तर हामी निराशामा डुबेका छैनौँ। दोस्रो लेग बाँकी छ। मिलानमा तीन गर्नुछ। त्यसो गर्न हामी हरसम्भव प्रयास गर्नेछौँ।’

प्रकाशित: २९ चैत २०७९ १०:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − nine =