ए डिभिजन लिग : लयमा फर्कने मछिन्द्रको संकेत, एनआरटीको पहिलो जित

हिमाल प्रेस २६ चैत २०७९ १७:४८
4
SHARES
ए डिभिजन लिग : लयमा फर्कने मछिन्द्रको संकेत, एनआरटीको पहिलो जित

काठमाडौँ- नयाँ सिजनको सहिद स्मारक ए डिभिजन लिगमा खराब सुरुवात गरेको मछिन्द्र क्लबले लयमा फर्कने संकेत गरेको छ। नयाँ मुख्य प्रशिक्षक किशोरकुमार केसीको प्रशिक्षणमा पहिलो खेल खेल्दा मछिन्द्रले आइतबार संकटा क्लबलाई २–१ ले पराजित गर्‍यो।

सुरुका दुई खेल हारेको मछिन्द्रका लागि यो दोस्रो जित हो। यही जितसँगै मछिन्द्रले अपराजित यात्रालाई पाँचौँ खेलसम्म पुर्‍यायो। मछिन्द्र अब सात खेलबाट नौ अंक बटुल्दै सातौँ स्थानमा उक्लिएको छ। संकटा भने नौ अंकसहित आठौँ स्थानमा झरेको छ।

दशरथ रंगशालामा मछिन्द्रले पहिलो हाफको १९ औँ मिनेटमा अग्रता लिएको थियो। विमल घर्ती मगरले संकटाका गोलरक्षक टिकेन्द्र थापालाई वान भर्सेस वानमा बिट गर्दै गोल गरेका थिए। विमलले लिगमा लगातार दोस्रो गोल गरेका हुन्। उनकै गोलले मछिन्द्र पछिल्लो खेलमा हिमालयन शेर्पा क्लबसँग हारबाट जोगिएको थियो।

गोल खाएको दुई मिनेटपछि नै संकटा खेलमा फर्किएको थियो। मनिष डाँगीले आयुष घलानको पासको उपयोग गर्दै गोल गरेपछि खेल १–१ को स्थितिमा पुग्यो।

दोस्रो हाफको सुरुवाती मिनेटमै मछिन्द्रले अग्रता पुनः स्थािपत गर्‍यो। निसेन सुब्बाको क्रसबाट आएको बललाई ओलावाले अफिजले पहिलो टचमै संकटाको पोस्टमा प्रहार गरेका थिए। संकटाका गोलरक्षक टिकेन्द्रले अफिजको प्रहारलाई पूर्णरुपमा रोक्न सकेनन्। र सो प्रहार गोलमा परिणत भयो।

आइतबार नै मछिन्द्रको मुख्य प्रशिक्षकमा नियुक्त भएका किशोरकुमार केसीले पहिलो खेलमा जित दिलाएपछि सन्तुष्टि व्यक्त गरे। ‘खेल प्रतिस्पर्धात्मक रह्यो। तर भाग्यवश हामीले बाजी मार्‍यौँ,’ गत सिजन जावलाखेल युथ क्लबलाई प्रशिक्षण दिएका किशोरले भने।

पछिल्ला दुई सिजन लगातार च्याम्पियन बनेको मछिन्द्रले प्रवेश कटवालको स्थानमा किशोरलाई मुख्यप्रशिक्षकको जिम्मा दिएको हो। प्रवेश राष्ट्रिय टिमको सहायक प्रशिक्षक बनेपछि मछिन्द्र मुख्य प्रशिक्षकविहीन बनेको थियो।

जितबाट मछिन्द्र यात्रा सुरु गरेका किशोरले आफ्नो उद्देश्य लिग जित्ने नै रहेको बताए। ‘म च्याम्पियन बन्ने लक्ष्य बोकेरै मछिन्द्र आएको हो। भलै यो जिम्मेवारी दबाबयुक्त छ। तर दबाब सामना गर्न म तयार छु, खुसी पनि छु,’ किशोरले भने।

हारपछि संकटाका मुख्य प्रशिक्षक सल्यान खड्गीले आफ्नो टिमको उपाधि लक्ष्यमा धक्का पुगेको प्रतिक्रिया दिए। ‘निश्चय पनि यो हारले लिग जित्ने हाम्रो अभियानमा असर पुगेको छ। लिग सुरुवात गर्दा हामीले जे सोचेको थियौँ, अहिले त्यही अवस्थामा हामी छैनौँ,’ सल्यानले भने।

एन्फा कम्प्लेक्समा भएको खेलमा न्युरोड टिम एनआरटी ले हिमालय शेर्पा क्लबलाई २–१ ले हरायो। एनआरटीका लागि यो पहिलो जित हो। एनआरटीलाई जित दिलाउन रोहन खड्गी र जेनिस प्रजापतीले एक–एक गोल गरे।

हिमालयन शेर्पाले खामिर गिल्सन कन्द्ङ्वाको गोलमार्फत अग्रता लिए पनि हार व्यहोर्न बाध्य भयो। जितपछि एनआरटी ११ औँ स्थानमा उक्लियो। हिमालयन शेर्पा क्लब भने १२ औँ स्थानमा झरेको छ।

घाइते छिरिङ

आफ्नै टिमका पुजन उपरकोटीसँग ठोक्किएर घाइते भएका मछिन्द्रका फुलब्याक छिरिङ गुरुङको स्वास्थ्य स्थिति स्थिर रहेको मुख्य प्रशिक्षक किशोरले जानकारी दिए। आतिरिक्त समयमा बल क्लियर गरेर आफ्नो पोजिसनमा फर्कदै गरेका पुजनसँग छिरिङ ठोक्किएका थिए। त्यसपछि मैदानमा ढलेका छिरिङलाई मैदानमै प्राथमिक उपचार दिएर नजिकैको ब्लुक्रस अस्पताल पुर्‍याएको थियो।

प्रकाशित: २६ चैत २०७९ १७:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 6 =