मुलुकको अर्थतन्त्र संकटमा, तर प्रधानमन्त्रीलाई यसैमा आनन्द : ओली

हिमाल प्रेस २५ चैत २०७९ १८:४९
10
SHARES
मुलुकको अर्थतन्त्र संकटमा, तर प्रधानमन्त्रीलाई यसैमा आनन्द : ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ परिमाणममा भन्दा आश्वासनमा बढी केन्द्रित भएको आरोप लगाएका छन्। शनिबार काठमाडौँमा आयोजित राष्ट्रिय सहकारी महासम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।

मुलुक आर्थिक संकटमा धकेलिँदै गइरहेको बेला पनि प्रधानमन्त्री भने ढुक्क, आराम, आनन्द र प्रशन्नताका साथ जनतालाई आश्वासन बाँढिरहेको उनको भनाइ छ। विज्ञहरूले मुलुकमा रेमिट्यान्सबाट कर्मचारीलाई तलब खुवाउन पर्ने स्थिति आएको भनिरहेको बेला प्रधानमन्त्री प्रचण्डले यसबारे कुनै चासो र चिन्ता नलिएको उनले आरोप लगाए।

‘बैंकले पैसा दिन नसक्ने अवस्था आएका बेला पनि प्रधानमन्त्री दाहालले मुलुकको अर्थतन्त्र राम्रो छ भनेर आश्वासन दिन पछि परेका छैनन्। गरिबहरूका लागि मात्रै होइन कि हुनेहरूका लागि पनि तरलताको कमी छ। रेमिटयान्सबाट कर्मचारीलाई तनाखा खुवाउनुपर्ने स्थिति आएको छ। तर प्रधानमन्त्रीलाई यसबारे केही चिन्ता छैन, ‘उनले भने,’मजाको कुरा के छ भने अर्थतन्त्रको यस्तो अवस्थामा पनि सरकार ढुक्कसँग भन्छ- अर्थतन्त्र राम्रो छ, केही हुँदैन।’

कार्यक्रममा बोल्दै उनले मुलुकलाई आर्थिक संकटबाट जोगाउन सहकारीले ठूलो भूमिका खेल्न सक्ने भन्दै यो क्षेत्र बदनाम हुन नदिन सहकारी सञ्चालकहरूलाई सचेत गराए। पछिल्लो समय सहकारीहरू बदनाम भएको बताउँदै यो क्षेत्र बदनाम हुन नपाओस् भन्ने कुरामा पनि सहकारी सञ्चालकहरूको ध्यान जानुपर्ने ओलीले बताए।

‘सहकारी बदनाम नहोउन्। मान्छेको सहकारीमाथिको विश्वास धर्मरायो भने सहकारीमा कसरी जाने? हाम्रोजस्तो देश यसका केही विशेषताहरू छन्। हामीसँग जमिन सरकारको छैन। जमिन व्यक्तिको छ। निजी पूँजी छ। यसकारणले सरकारले चाहेको काम गर्न सक्दैन। अरू देशहरूमा सरकारले चाहेको काम गर्न सक्छ। तर यहाँ त सरकारले जमिन प्राप्त गर्न सक्दैन। यस्तो खालको स्थिति छ,’ उनले भने, ‘एकाध सहकारी देखाएर विरोध गर्ने भन्दा पनि सहकारीको संरक्षण र प्रोत्साहित गर्दै मुलुकलाई आर्थिक संकटबाट जोगाउन सरकारले ध्यान दिनुपर्छ।’

यतिबेलाको अर्थतन्त्रको स्थितिलाई सुधार्न सहकारीलाई प्रोत्साहित र अझ सुदृढ बनाउनुको विकल्प नरहेको उनको भनाइ छ।

‘अनाआवश्यक खालको खर्च काटेर सहकारीलाई सबल बनाउने तर्फ हामी प्रवाह गर्दैनौं भने बगिराखेको पानी खेतमा फर्काउँदैनौं भने कसरी उत्पादन हुन्छ? यसकारण उत्पादनमुलक काममा लगाउने तरिका निकालौं। सहकारीको विरोध गरेरमात्रै केही हुँदैन। एउटा चामलमा कतै कालो देखियो भने कालो, कालो, कालो भन्या छ। त्यो गर्ने होइन। सहकारीलाई अगाडि बढाउन सरकारले ध्यान दिनु पर्छ,’ ओलीले भने।

प्रकाशित: २५ चैत २०७९ १८:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 11 =