काठमाडौँ- सरकारले काठमाडौँ उपत्यकाको रिङरोड आठ लेनमा विस्तारका बाँकी कामलाई यथाशीघ्र सम्पन्न गर्ने भएको छ। सरकारले बिहीबार सार्वजनिक गरेको सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रममा रिङरोड विस्तारलाई प्राथमिकतामा राखेको हो।
यस्तै पूर्वपश्चिम लोकमार्गलाई चार लेन बनाउने कामलाई पनि सरकारले प्राथमिकतामा राखेको छ। कार्यक्रममा भनिएको छ, ‘पूर्वपश्चिम लोकमार्ग चार लेन तथा काठमाडौँ उपत्यकाको रिङरोड ८ लेनमा विस्तारको बाँकी कामलाई यथाशीघ्र सम्पन्न गर्न प्राथमिकता दिने।’
मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्गलगायतका पूर्वपश्चिम लोकमार्ग र उत्तर दक्षिणका कोरिडर तथा व्यापारिक मार्गको निर्माणमा पनि प्राथमिकता दिने कार्यक्रममा उल्लेख छ।
यसैगरी कार्यक्रममा भौतिक पूर्वाधारको दिगो एवम् गुणस्तरीय विकास निर्माण गर्ने, समयमै निर्माण सम्पन्न गर्ने, पाँच वर्षसम्म बिग्रे–भत्केको मर्मत सम्भार निर्माण कम्पनीले नै गर्नुपर्ने व्यवस्था गर्ने उल्लेख छ।
यातायात क्षेत्रको एकीकृत विकासका लागि स्थल, हवाई, रेल, पानीजहाज र केवुल कार सेवाको एकीकृत योजना निर्माण गरी सार्वजनिक यातायात सेवालाई सुदृढ र व्यवस्थित गर्ने घोषणा सरकारले गरेको छ।
कार्यक्रममा नेपाललाई पर्यटकीय अन्तर्राष्ट्रिय गन्तव्यस्थलका रूपमा विकसित गर्न विमानस्थल, हवाई उड्ययन, हिमाली लोकमार्ग जस्ता पूर्वाधारको विकास गर्ने उल्लेख छ।
पर्यटकीय क्षेत्रका होटल, ट्राभल एजेन्सी, ट्रेकिङ एजेन्सी गायतका सेवा प्रदायकहरूको विकास तथा गुणस्तर व्यवस्थित गर्ने, सांस्कृतिक, जैविक एवम् भौगोलिक विविधतालाई पर्यटनको मुख्य क्षेत्रको रूपमा विकास गर्ने, राष्ट्रिय निकुञ्ज र आरक्ष क्षेत्रको उचित व्यवस्थापन गर्ने घोषणा सरकारले गरेको छ।
कार्यक्रममा उल्लेख छ, ‘निजगढ विमानस्थल लगायत पर्यटन क्षेत्रको पूर्वाधार विकासका लागि आावश्यक योजना बनाउने । हरित पर्यटनको विकास गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने।’