सांसदले उठाए पूर्वाधार निर्माणसम्बन्धी समस्या

हिमाल प्रेस २३ चैत २०७९ १५:२४
2
SHARE
सांसदले उठाए पूर्वाधार निर्माणसम्बन्धी समस्या फाइल तस्बिर

काठमाडौँ- सांसदहरूले पूर्वाधार निर्माण सम्बन्धित सबै आयोजनाको काम समयमा सम्पन्न गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको शून्य समयमा बोल्ने सांसदहरूले यस्तो माग गरेका हुन्।

उनीहरूले सडक, खानेपानी, गौरवका आयोजना, पुँजीगत खर्चलगायत पूर्वाधार निर्माणका विषयमा चासो राख्दै निर्माणका काममा सक्रिय हुन सरकारसँग आग्रह गरे।

चालु आर्थिक वर्षको नौ महिना पूरा हुँदासमेत पुँजीगत खर्च न्यून भएको भन्दै सरकारले पुँजीगत खर्च बढाएर गुणात्मक विकास निर्माणको काम गर्नुपर्ने उनकीरूको सुझाव छ।

एमालेका सचेतक महेश बर्तौलाले २०२० सालमा मातातीर्थ हुँदै काठमाडौँको टेकुसम्म ४२ किलोमिटर रोपवेको संरचना व्यवस्थापन गर्न माग गरे।

उनले सञ्चालनमा आएर २०५६ सालमा बन्द भएको २३ वर्षसम्म त्यसको संरचना उस्तै रहेको भन्दै राज्यको करोडौँको सम्पत्ति संरक्षण गर्न सरकारसँग माग गरेका हुन्। उनले रोपवेका संरचना कमजोर भएको भन्दै संरचनाले मानवीय क्षति गर्नसक्ने बताए।

सांसद विमला सुवेदीले काठमाडौँको बाइपास, रानीपैवा, तीनपीप्ले, नुवाकोटको त्रिशूली जोड्ने पासाङ ल्हामुराजमार्ग सबै भन्दा पुरानो राजमार्ग ठोक्क तोड्दा अलपत्र भएको बताइन्।

उनले काठमाडौँ र नुवाकोट जोड्ने महत्त्वपूर्ण सडक भएको भन्दै समयमै निर्माण सम्पन्न नहुँदा जनताले दुःख पाएको बताइन्।

उनले भारतीय एक्जिम बैंकको सहयोगमा निर्माण कार्य भएको सडक ४५ प्रतिशत काम सम्पन्न भएको बताइन्। भारतीय ठेकदारहरुको लापरबाहीले सडक निर्माण नभएको भन्दै तत्काल ठेक्का लगाएर काम थालनी गर्न आग्रह गरिन्।

अर्का सांसद बुद्धिमान तामाङले बूढीगण्डकी जलविद्युत आयोजनाको कारण तत्काल तटीय क्षेत्रमा स्वास्थ्य, शिक्षा, नहर, खानेपानीको सुविधा उपलब्ध गराउन माग गरे।
उनले आयोजनाको काम राष्ट्रिय हित हुने गरी अगाडि बढाउन माग पनि गर्नुभयो। आयोजना प्रभावित जिल्लाका नागरिकलाई आयोजनामा रोजगारी दिनुपर्ने उनको भनाइ छ।

सांसद माधव सापकोटाले आर्थिक वर्षको सुरुमा महिनामा तोकिएको खर्च गर्ने र अन्तिममा चौमासिकमा हुने ठूलो खर्च सरकारले निरुत्साहित गर्नुपर्ने बताए। उनले भने, ‘चालु आर्थिक वर्ष सकिन लाग्दासमेत करिब २५.८ प्रतिशत मात्रै पुँजीगत खर्च भएको महालेखाको तथ्यांक छ।’

उनले सरकारको पुँजीगत खर्च अन्तिम महिनाको जेठ र असारमा ६० प्रतिशत खर्च हुने भएको भन्दै विकास बजेट खर्च नभएर सरकारी ढुकुटीमा रहनु चलायमान अर्थतन्त्रमा उचित नभएको बताए।

उनले सरकारले बजेट बनाउँदा वार्षिक बजेट क्यालेन्डर बनाई प्रत्येक महिनामा निश्चित प्रतिशत बजेट खर्च गर्न र सम्बन्धित निकायको कार्यसम्पादन मूल्यांककन गरी बजेट व्यवस्थापनको कमजोरी हटाउन सरकारसँग माग गरे।
अर्का सांसद मानवीर राईले पर्यटकीय जिल्ला सोलुखुम्बु जाने सडक कालोपत्र उक्किएको भन्दै तत्काल कालोपत्र गर्न सरकारसँग माग गरे। उनले विश्वका पर्यटकहरु सडकमार्ग मार्फत जाने बाटो बनाउन सरकारको ध्यानाकर्षण गराए।

सांसद राजेन्द्रकुमार केसीले काठमाडौँ उपत्यकावासी राष्ट्रिय राजमार्गको कारण मारमा परेको बताए। उनले भने, ‘सडक निर्माण गर्दा ५० मिटर जग्गा छोड्नुपर्ने व्यवस्थाले कालीमाटी–कलंकी क्षेत्रका नागरिक विस्थापित हुनेछन्।’ उनले फराकिला सडक बनाउँदैमा ट्राफिक व्यवस्थापन हुन नसक्ने बताए।

सांसद रोशनी कार्कीले दुई पटक संसद्ले विश्वास गरेका प्रधानमन्त्रीलाई मिटरब्याजीपीडितले विश्वास नगरेको बताइन्। उनले सरकारले तत्काल कानून बनाएर पीडितको समस्या समाधान गर्न माग गरिन्।

सांसद मुक्ताकुमारी यादवले धनुषामा जिल्ला अस्पताल तयारी अवस्थामा रहे पनि उद्घाटन हुन नसकेको भन्दै तुरुन्त सञ्चालन गर्न सरकारसँग माग गरिन्। त्यस्तै राजर्षि जनक विश्वविद्यालयमा भिसी र रेक्टर रिक्त हुँदा विश्वविद्यालयको अवस्था नाजुक बनेको उनको भनाइ छ।

सांसद मैना कार्कीले जाजरकोटमा महिलाहरु पाठेघर खस्ने समस्यामा पर्दा उपचार गर्ने अस्पतालको अभाव भएको भन्दै जाजरकोट अस्पतालको स्तरोन्नति गर्न माग गरिन्।

उनले भनिन्, ‘जाजरकोटमा महिलाहरुको पाठेघर खस्ने, सुरक्षित सुत्केरी हुन नसकेर मृत्युको मुखमा पुगेको अवस्था छ। जाजरकोट अस्पतालको स्तरोन्नति विशेषज्ञ डाक्टरको व्यवस्था, प्रविधिसहितको उपकरण, जनशक्ति व्यवस्थाको सरकारको ध्यानाकर्षण गराउँछु।’

प्रतिनिधिसभा सदस्य रामकुमार राईले पहाडी जिल्लाहरुमा शव पोस्टमार्टम गर्न समस्या रहेको भन्दै हरेक पालिकामा सरकारले पोस्टमार्टम गर्ने व्यवस्था गराउनुपर्ने माग गरे।

प्रकाशित: २३ चैत २०७९ १५:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + one =