असन्तुष्टि जनाउँदै थापाले भने : प्रधानमन्त्री, मन्त्रीले तीन महिना अनुहार नदेखाए पनि हुन्छ

हिमाल प्रेस २२ चैत २०७९ १५:३८
40
SHARES
असन्तुष्टि जनाउँदै थापाले भने :  प्रधानमन्त्री, मन्त्रीले तीन महिना अनुहार नदेखाए पनि हुन्छ फाइल तस्बिर

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारप्रति असन्तुष्टी जनाएका छन्। सत्ता साझेदार भएको पार्टीका सांसदसमेत रहेका थापाले मन्त्री, प्रधानमन्त्रीको कार्यशैली चित्तबुझ्दो नभएको टिप्पणी गरेका हुन्।

‘अहिलेको सरकारसँग दौडिएर पुग्ने सुविधा मात्र छ। तर हाम्रो सरकारले दौडिन सुरु नै गरेन। अझै पनि कहिले तुना बानेर बस्छ, कहिले कुर्सी खोज्छ,’ उनले भने, ‘नागरिकमा भरोसा जगाउन सरकारले दगुर्न सुरु गरेर ‘गति पनि छ, लय पनि छ, संकल्प पनि छ र काम पनि सुरु गर्‍यो भन्ने महसुस गराउन सक्नुपर्‍यो।’

आज बुधबार कांग्रेस निकट नेपाल वित्तीय संस्था कर्मचारी संघको नवौं राष्ट्रिय महाधिवेशनमा बोल्दै थापाले प्रधानमन्त्री र मन्त्रीहरू कसैको पनि टेलिभिजनमा, अनलाइनमा अनुहार नै देख्न नपाए हुन्थ्यो भन्ने लाग्न थालेको बताएका हुन्।

‘मलाई त आजभोलि प्रधानमन्त्री र मन्त्रीहरुको समाचार आयो भने रिस उठ्छ त भन्दिन, नरमाइलो लाग्छ। फुर्सद कसरी पाउनुभयो भन्ने लाग्छ। प्रधानमन्त्री र मन्त्रीहरूले त यो बेलामा फोटो खिच्नुपर्दैन,’ उनले भने, ‘तीन महिना जति प्रधानमन्त्री र मन्त्रीहरू कसैको पनि टेलिभिजनमा, अनलाइनमा अनुहार नै देख्न नपाए हुन्थ्यो। नराम्रो अर्थमा होइन।’

राष्ट्रपति, प्रधानमन्त्रीलाई अत्यावश्यकबाहेकका खर्च कटौती गर्न पनि उनले सुझाव दिए।

‘प्रधानमन्त्रीले भन्न सक्नुपर्छ, राष्ट्रपतिले भन्न सक्नुपर्छ, सचिवालयमा १२/१५ जना सल्लाहकार राख्ने सुविधा दिएको छ, म ३ जना वा ५ जना राख्छु। अत्यावश्यकबाहेक खर्च कटौती गर्दैछौँ,’ उनले थपे, ‘तर विकास खर्च पहिलाभन्दा सुधार गर्छौँ भनेर गयो भने थोरै भए पनि सुधार आउँछ।’

प्रकाशित: २२ चैत २०७९ १५:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + seven =