महासंघको वरिष्ठ उपाध्यक्षमा तीन जनाको प्रतिस्पर्धा, यस्ता छन् एजेन्डा

हिमाल प्रेस २१ चैत २०७९ १४:१३
10
SHARES
महासंघको वरिष्ठ उपाध्यक्षमा तीन जनाको प्रतिस्पर्धा, यस्ता छन् एजेन्डा

काठमाडौँ- चैत २८ र २९ गते नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा हुँदैछ। साधारणसभाले नयाँ कार्यसमिति चयन गर्नेछ।

नयाँ कार्यसमितिका लागि व्यवसायीहरूले प्यानल बनाएर उम्मेदवारी दर्ता गरिसकेका छन्। महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालका लागि स्वतः अध्यक्ष हुन्छन्। यसले गर्दा महासंघको चुनावमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार नै केन्द्रमा पर्दै आएका छन्।

आगामी कार्यकालको वरिष्ठ उपाध्यक्षको लागि अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघाईले प्यानलसहित मनोनयन दर्ता गरिसकेका छन्। महासंघमा जिल्ला नगरतर्फको उपाध्यक्ष, वस्तुगततर्फको उपाध्यक्ष र एसोसियट उपाध्यक्षका लागि पनि व्यवसायीको दौडधुप व्यापक छ।

वरिष्ठ उपाध्यक्षमा प्रतिस्पर्धा भए पनि उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठको तर्फबाट एसोसिएट उपाध्यक्षमा भरत आचार्य साझा उम्मेदवार बनेका छन्। आचार्यको रामचन्द्र संघाई प्यानलकी एसोसिएट उपाध्यक्ष ज्योत्स्ना श्रेष्ठसँग प्रतिष्पर्धा हुनेछ। ज्योत्स्ना आइतबार मात्रै अञ्जनको प्यानल छोडेर संघाईको पक्षमा पुगेकी थिइन्।

उस्तै एजेन्डा

वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरूले व्यवसायीहरूको समस्यालाई नै मुख्य एजेन्डा बनाएका छन्। तीनैजना उम्मेदवारले अर्थतन्त्रलाई चलायमान बनाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

संघाईले लगानीमैत्री वातावरण र पूर्वाधारलाई प्राथमिकता दिएका छन्। उनले उद्योगी व्यवसायीका समस्याको समाधान गरी उनीहरूको हकहितमा निरन्तर लाग्ने प्रतिबद्धता जनाएका छन्। संघाईले भने, ‘महासंघलाई थप प्रविधिमैत्री, उद्योगी व्यवसायीको समस्या सुन्ने हेल्प डेस्क, प्रदेश च्याप्टरको भूमिका बढाउने र देशभरका संघको आफ्नै भवन बनाउने मेरो प्रतिबद्धता छ।’

वरिष्ठ उपाध्यक्षको उम्मेदवार उमेशलाल श्रेष्ठले सक्षम निजी क्षेत्र र समृद्ध अर्थतन्त्रलाई आफ्नो नारा बनाएका छन्। उनले व्यवसायीको अवस्था बदल्न निःस्वार्थ रूपमा काम गर्ने प्रतिबद्धता जनाए। श्रेष्ठले भने, ‘म सेलिब्रेटी बन्न होइन, उद्योगी, व्यवसायीका खास समस्या समाधान गर्न नेतृत्वमा जान चाहेको हो।’

वरिष्ठ उपाध्यक्षका अर्का उम्मेदवार अञ्जन श्रेष्ठले महासंघ सबैको साझा बनाउने प्रतिबद्धता जनाएका छन्। लथालिंग अवस्थामा रहेको अर्थतन्त्र सुधार्ने आफ्नो पहिलो योजना रहेको उनको भनाइ छ।

व्यवसायीका समस्या सुन्न मात्र होइन, समाधान गर्नका लागि जागरुक टिम बनाएका छौँ,’ उनी भन्छन्, ‘महासंघलाई सबै तह र वर्गका उद्योगी, व्यापारी तथा व्यवसायीको पहुँचमा हुनेगरी काम गर्न र गति दिन वरिष्ठ उपाध्यक्षमा मेरो दाबी हो।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 9 =