आईपीएल : चेन्नाईको पहिलो जितमा कप्तान धोनीको पाँच हजार रन पूरा

हिमाल प्रेस २१ चैत २०७९ ८:५५
10
SHARES
आईपीएल : चेन्नाईको पहिलो जितमा कप्तान धोनीको पाँच हजार रन पूरा

काठमाडौँ- मोइन अलीले चार विकेट लिएसँगै चेन्नाई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जायन्ट्सलाई १२ रनले पराजित गरेको छ। घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २१७ रन बनाएको थियो। लखनउ भने २०५/७ मा सीमित भयो।

चार वर्षपछि घरेलु रंगशालामा फर्किएको चार पटकको च्याम्पियन चेन्नाईका लागि यो नयाँ सिजनको पहिलो जित हो। चेन्नाई पहिलो खेलमा गुजरात टाइटन्ससँग पराजित भएको थियो। लखनउले भने दिल्ली क्यापिटल्सलाई पराजित गरेर नयाँ सिजनको सुरुवात गरेको थियो।

सोमबारको खेलमा चेन्नाईलाई रुतुराज गाइकवाड र केभोन कोन्वेलाई बलियो सुरुवात दिलाएका थिए। लगातार दोस्रो खेलमा अर्धशतक बनाउने क्रममा गाइकवाडले ३१ बलमा ५७ रन बटुले। न्युजिल्यान्डका कोन्वेले २९ सामना गर्दा ४७ रन बनाए। यी दुईले पहिलो विकेटका लागि ११० रनको साझेदारी गरेपछि चेन्नाईको इनिङ्स मजबुत बनेको थियो।

लखनउलाई लक्ष्य भेट्न नदिन इंग्ल्यान्डका अलीले २६ रन खर्चिएर चार विकेट हात पारे। लखनउका ओपनरद्वय केएल राहुल र कायल मायर्सको विकेट लिएका अलीले कु्रनाल पान्डे र मार्कस स्टोइनिसलाई पनि आउट गरे।

कप्तानसमेत रहेका राहुल र मायर्सले ७९ रनको साझेदारी गरेका थिए। राहुलले व्यक्तिगत २० रन बनाए भने मायर्सले ५३ रन जोडे। बेजोड ब्याटिङ गरेका मायर्सले २२ बल सामना गर्दा दुई छक्का र आठ चौका प्रहार गरे।

मध्यक्रमका निकोलस पुरनले १८ बलमा ३२ रन बनाए पनि लखनउको जितका लागि पर्याप्त भएन। पराजित टिमका लागि आयुष बोडोनीले २३, स्टोइनिसले २१, कृष्णप्पा गोवाथमले १७ र मार्क उडले १० रनको योगदान गरे। गोवाथम र उड अविजित रहे।

यही खेलमार्फत चेन्नाईका कप्तान महेन्द्र सिंह धोनीले आईपीएल करियरमा पाँच हजार रन पूरा गरेका थिए। धोनी आईपीएलमा पाँच हजार रन पूरा गर्ने पाँचौँ भारतीय र समग्रमा सातौँ खेलाडी हुन्। एमए चिदम्बरन रंगशालामा धोनीले २० औँ ओभरमा उडको बलमा लगातार दुई छक्का प्रहार गरेका थिए।

आईपीएलमा पाँच हजार रन पूरा गर्ने अन्य खेलाडी विराट कोहली, शिखर धवन, डेभिड वार्नर, रोहित शर्मा, सुरेश रैना र एबी डिभिलियर्स हुन्।

प्रकाशित: २१ चैत २०७९ ८:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =