कांग्रेसले स्वर्णिम वाग्लेलाई मञ्च दियो, उहाँ त गाली गरेर जानु भयो : विश्वप्रकाश शर्मा

हिमाल प्रेस २० चैत २०७९ १५:४३
44
SHARES
कांग्रेसले स्वर्णिम वाग्लेलाई मञ्च दियो, उहाँ त गाली गरेर जानु भयो : विश्वप्रकाश शर्मा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले केही दिनअघिमात्रै कांग्रेस छोडेर राष्ट्रिय स्वतन्त्र पार्टी गएका अर्थशास्त्री स्वर्णिम वाग्लेले कांग्रेसलाई गाली गरेर जानु गलत भएको बताएका छन्। आज सोमबार चितवन-२मा कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठको मनोनयन दर्ताअघिको चुनावीसभालाई सम्बोधन गर्दै वाग्लेसँग राजनीतिक संस्कार नभएको बताएका हुन्।

‘कांग्रेसले उहाँलाई मञ्च दियो। कविता भन्न जान्दछु भन्दा कविता भन्न दियो, गीत गाउन जान्दछु भन्दा गीत गाउन दियो। नाच्न पनि जान्दछु भन्दा पख्नु न पालो आउँछ विस्तारै भन्यो। त्यसो भन्दा उहाँले कांग्रेसमाथि नै प्रश्न गर्नुभयो। यसबाट थाहा हुन्छ उहाँ कति सुसंस्कृत हुनुहुँदो रहेछ’ शर्माले भने।

कांग्रेसले नै योजना आयोगको उपाध्यक्ष बनाएको भन्दै शर्माले अवसर पाइनँ भन्नु गलत भएको बताए। कांग्रेस छोडेका वाग्ले तनहुँ-१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन्।

त्यस्तै शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन-२ का उम्मेदवार रवि लामिछानेमाथि पनि प्रश्न गरेका छन्।

‘मंसिर ४ को चुनावमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई नो नट अगेन भन्ने उहाँले अब फेरि म प्रचण्डको सरकारमा सहभागी हुन्न भन्न सक्नुहुन्छ कि हुन्न?,’ शर्माले प्रश्न गर्दै भने,‘नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेको मिडियालाई १२ भाइ भन्नुभएको छ। हिजो टिभीमा हुँदा सबै नेता खराब भन्ने अनि आज नेता हुँदा सबै मिडिया खराब भन्ने?’

लामिछाने मंसिर ४ को निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित व्यक्ति हुन्। पछि उनको नागरिकतामाथि प्रश्न गर्दै मुद्दा दायर भएपछि उनको सांसद पद खारेज भएको थियो। लामिछानेले पुन:नागरिकता लिइसकेका छन् तर उनको राहदानीको मुद्दा भने अदालत पुगेको छ।

उनको सांसद पद खारेज भएपछि अहिले उपनिर्वाचन हुन लागेको हो।

प्रकाशित: २० चैत २०७९ १५:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =