तनहुँ पुगेका गगनले स्वर्णिमलाई भने : कांग्रेस भनेको चोकमा राखेको मादल होइन, जसले आयो त्यसले बजाउने

हिमाल प्रेस २० चैत २०७९ १४:३७
200
SHARES
तनहुँ पुगेका गगनले स्वर्णिमलाई भने : कांग्रेस भनेको चोकमा राखेको मादल होइन, जसले आयो त्यसले बजाउने फाइल तस्बिर

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्ना पूर्वसहकर्मी तथा हालै कांग्रेस छोडेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ-१मा उम्मेदवार बनेका स्वर्णिम वाग्लेप्रति कटाक्ष गरेका छन्। वैशाख १० मा हुने उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई जिताउन आग्रह गर्दै थापाले यस्तो बताएका हुन्।

तनहुँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापाले भने,’यहाँ घुम्दाघुम्दै आउने टुरिष्ट उम्मेदवारलाई यो पटक तपाईंहरूले भन्नुपर्छ- तनहुँको निर्वाचन क्षेत्र अरू ठाउँजस्तो होइन। कांग्रेस भनेको चोकमा राखेको मादलजस्तो होइन, जसले आयो त्यसले बजाउँदै हिँडने।’

कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीसँग पनि कुरा गरेर पार्टीलाई एकढिक्का बनाएर लैजानेतर्फ आफू सक्रिय भएको उनको दाबी थियो।

स्वतन्त्र पार्टीका वाग्लेलाई उनले टुरिस्ट उम्मेदवार भनेका हुन्। वाग्लेको जन्मथलो गोरखा हो भने अहिलेको स्थायी बसोबास चितवनमा छ। केही दिनअघिमात्रै कांग्रेस छोड्दा वाग्लेले गगनलाई पनि एसएमएस पठाएका थिए।

तनहुँ-१बाट मंसिर ४ को निर्वाचनमा निर्वाचित उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि यहाँ उपनिर्वाचन हुन लागेको हो।

प्रकाशित: २० चैत २०७९ १४:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 19 =