 
                             
                                            पोखरा– दुवाथलनको उपाधि पुरुषतर्फ युएईका साउद अलजावी र महिलातर्फको उपाधि भारतकी स्नेहल सुनिल जोशीले हात पारेका छन्। नेपाल ट्राइयाथलन संघको आयोजनामा एसियन ट्रायथलन कप तथा दक्षिण एसियन च्याम्पियनसिपअन्तर्गत आइतबार भएको दुवाथलनमा साउदले निर्धारित दुरी समग्रमा १ घन्टा १२ मिनेट १९ सेकेन्डमा पूरा गर्दै उपाधि जितेका हुन्।
उनले ५ किमी दौड, २० किमी साइक्लिङ र २.५ किमी दौडको दुरी उक्त समयमा पूरा गरेका हुन्। नेपालका हिमाल टमाटाले ५९ मिनेट ४७ सेकेन्ड र वसन्त थारूले १ घन्टा २ मिनेट ९ सेकेन्डमा दुरी पूरा गर्दै क्रमशः दोस्रो र तेस्रो स्थान हात पारे।
महिलातर्फ उपाधि विजेता जोशीले निर्धारित दुरी पूरा गर्न १ घण्टा १ मिनेट १९ सेकेन्ड लगाएकी थिइन्।
विजयीलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पूर्वगण्डकी प्रदेश सांसद दीपक कोइराला, नेपाल ओलम्पिक कमिटी महासचिव एवं ट्राईयाथलन संघका अध्यक्ष नीलेन्द्रराज श्रेष्ठ, कास्की जिल्ला खेलकुद विकास समितिका प्रमुख डिबी नेपाली, पत्रकार केशव पाठकलगायतले मेडल, पुष्प गुच्छा र प्रमाणपत्र वितरण गरेका थिए।
अघिल्लो दिन शनिबार ट्रायथलन प्रतियोगितामा एसियास्तरमा पुरुषतर्फ लक्जेम्वर्गका बव हलर र महिलातर्फ स्लोभाकियाकी मार्गरेटा विकानोभाले उपाधि जितेका थिए।
प्रतियोगितामा १९ राष्ट्रका खेलाडीले भाग लिएका थिए। तीमध्ये ४७ पुरुष र १९ महिला रहेको नेपाल ट्रायथलन संघ अध्यक्ष नीलेन्द्रराज श्रेष्ठले जनाए। सन् २०१९ मा तत्कालीन अन्तर्राष्ट्रिय ट्रायथलन महासंघ (आइटियु) ले नेपाललाई एसिया कप गर्ने स्वीकृति प्रदान गरेपछि नेपालमा सो स्तरको प्रतियोगिताले निरन्तरता पाएको हो।
सन् २०१९ मा सुरु भएको एसिया कप कोरोनाका कारण २ वर्ष रोकिएको थियो। त्यसो त सन् २०१३ मा वेगनास तालमा पहिलो पल्ट दक्षिण एशियन च्याम्पियनसिप भए पनि त्यहाँ सडक पूर्वाधार कमजोर भएकोले फेवाताल किनारमा हुन थालेको हो।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 