झुलाघाटमा मोटरेबल पुल निर्माणका लागि निरीक्षण

हिमाल प्रेस ९ वैशाख २०८० १८:०१ | Saturday, April 22, 2023
झुलाघाटमा मोटरेबल पुल निर्माणका लागि निरीक्षण

बैतडी- नेपाल–भारत सीमा नाका रहेको बैतडीको झुलाघाटस्थित महाकाली नदीमाथि मोटरेबल पुल निर्माणका लागि निरीक्षण गरिएको छ। भारतीय सडक विभागका इञ्जिनियर ओमप्रकाश नेतृत्वको प्राविधिक टोलीले पुल निर्माणस्थल नेपालतर्फको मौराभीर र भारततर्फको एसएसबी क्याम्प नजिक सालघारी क्षेत्रको निरीक्षण गरेको हो।

पाँच सय मिटर लमो पुलको लागत चार अर्ब ५७ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। यसअघि सर्वेक्षण, वृस्तृत अध्ययन परियोजना प्रतिवेदन(डीपीआर) र मुआब्जाका लागि थप २० करोड रुपैयाँ लाग्ने अनुमान प्राविधिक टोलीको छ।

पुल निर्माण भारतीय लगानीमा हुनेछ। झुलाघाट नाकामा अहिले करिब सय वर्ष पुरानो झोलुंगे पुलबाट आवतजावत भइरहेको छ। उक्त नाकामा मोटरेबल पुल निर्माणका लागि सन् २००६ देखि नै चर्चा सुरु भए पनि बल्ल आएर पुल निर्माणको काम अघि बढ्ने संकेत देखिएको छ।

झोलुंगे पुल रहेको क्षेत्रमा एक सय पाँच मिटर लामो मोटरेबल पुल बनाउने योजना रहेकोमा पञ्चेश्वर परियोजनाको डुबान क्षेत्रमा पर्ने भन्दै काम अगाडि बढ्न सकेकोे थिएन।

झुलाघाट नाकामा मोटरेबल पुल निर्माणका लागि स्थलगत निरीक्षण भएपछि दुवै देशका नागरिक पुल बन्नेमा आशावादी देखिएका छन्। झुलाघाट नाकामा मोटरेबल पुल निर्माण भएमा दुवै देशको आर्थिक र व्यापारिक गतिविधिमा सुधार आउने स्थानीय तेजप्रकाश भट्टले बताए। ‘प्राविधिक टोलीले पुल निर्माणका लागि निरीक्षण गर्नु निकै खुसीको कुरा हो,’ उनले भने, ‘मोटरेबल पुल निर्माण भएमा दुवै देशको आर्थिक उन्नति बढ्छ।’

सीमा नाका झुलाघाटमा पक्की पुल निर्माण भए बैतडीको उत्पादनको बजार विस्तार हुनाका साथै धार्मिक पर्यटनको विकासका लागि महत्वपूर्ण नाका बन्ने देहिमाडौँका व्यापारी दीपक बोहराले बताए। ‘मध्यपहाडी लोकमार्गअन्तर्गतको अन्तिम विन्दु झुलाघाटमा पक्की पुलको निर्माण गर्न सके भारतीय बजारमा थुप्रै नेपाली उत्पादन निर्यात गर्न सकिन्थ्यो,’ उनले भने। रासस

प्रकाशित: ९ वैशाख २०८० १८:०१ | Saturday, April 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast