 प्रतिनिधिमूलक तस्बिर।
                            प्रतिनिधिमूलक तस्बिर।
                                            काठमाडौँ– भारतमा कुखुराजन्य उत्पादनको कारोबार गर्दै आएको श्रीसोमेश्वर समूहका अनुसार भारतमा कुखुराको मासुको मूल्य औसत १ सय ९० रुपैयाँ प्रतिकेजी छ। भारतको ठूला सहर चेन्नई र हैदराबादमा कुखुराको मासुको मूल्य प्रतिकेजी २ सय १० रुपैयाँ छ।
मुम्बई र पुनेमा प्रतिकेजी १ सय ८० रुपैयाँ छ। कलकातामा १ सय ८५ रुपैयाँ प्रतिकेजीका दरले रहेको श्रीसोमेश्वर समूहले उल्लेख गरेको छ।
यस्तै अण्डाको कारोबार गर्दै आएको भारतको अनलाइन प्लेटफर्म ‘एगरेट’का अनुसार चेन्नईमा सबैभन्दा महंगो अण्डाको मूल्य ४ रुपैयाँ ३५ पैसा भारु छ। मुम्बई र अहमदाबादमा ४ रुपैयाँ ३० पैसाका दरले अण्डा बिक्री भइरहेको छ। शनिबारको मूल्यअनुसार अन्य सहरहरूमा अण्डाको मूल्य चेन्नई र मुम्बईभन्दा सस्तो छ।
तर नेपालमा भने अण्डाको मूल्य प्रतिगोटा १५ रुपैयाँदेखि १८ रुपैयाँसम्म छ। कुखुराको मासुको मूल्य प्रतिकेजी साढे ३ सय रुपैयाँदेखि ४ सय रुपैयाँसम्म छ। सरकारले कुखुराको मासु र अण्डामा मुलुक आत्मनिर्भर भएको घोषणा दुई वर्ष अघि नै गरेको थियो।
आत्मनिर्भर भएर पनि छिमेकी मुलुक भारतको तुलनामा नेपालमा मासु र अण्डा चर्को महंगो छ। कुखुराजन्य उत्पादनको आयात रोकेर नेपाली व्यवसायीले नेपालमा चर्को महंगो गर्ने गरेको उपभोक्ता अधिकारकर्मीहरू बताउँदै आएका छन्।
नेपाली उत्पादनलाई प्रोत्साहन गर्न आयात रोके पनि नेपाली उत्पादन उपभोक्तामैत्री हुनुपर्ने उपभोक्ता अधिकारकर्मीहरूको भनाइ छ। तर नेपाली व्यवसायीले आफ्नै उत्पादनको प्रोत्साहन गर्ने बहानामा सिन्डिकेट लाद्ने गरेको उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना बताउँछन्।
पछिल्लो समय ह्याचरी व्यवसायी तथा दाना व्यवसायीले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्दै भारतबाट हुने आयात रोक्न फेरि माग गरेका छन्। व्यवसायीले ‘स्विटकर्न’ भनेर भारतबाट मासुजन्य वस्तु आयात भइरहेकाले रोकी दिन गृहमन्त्री श्रेष्ठसँग अनुरोध गरेका छन्।
नेपाल कुखुराजन्य उत्पादनमा डम्पिङ साइड बनेको व्यवसायीको भनाइ छ। व्यवसायीले भारतबाट हुने तस्करी नरोकिँदा १ खर्ब ६० अर्ब रुपैयाँ लगानी जोखिममा परेको बताएका छन्। नेपाल दाना उद्योग संघ र नेपाल ह्याचरी उद्योग संघले गृहमन्त्री श्रेष्ठसमक्ष उक्त ध्यानाकर्षण गराएका हुन्।
दाना संघका अध्यक्ष रविन पुरी र ह्याचरी उद्योग संघका अध्यक्ष ऋषिराम पौडेलसहितको टोलीले मन्त्री श्रेष्ठको ध्यानाकर्षण गराएका हुन्। ‘नेपालको पोल्ट्री क्षेत्रमा सबैभन्दा प्रमुख समस्या देशको खुला सीमानाका रहेको छ।
भारतीय सीमा नाकाहरूवाट अवैध रूपमा पोल्ट्रीजन्य वस्तुहरू चल्ला, कुखुरा, तयारी मासु र अण्डा दिनहु भित्रँदा यस पेशालाई अत्यन्त ठुलो जोखिम रहेको छ’दुवै संघले गृहमन्त्री श्रेष्ठलाई बुझाएको ज्ञापन पत्रमा उल्लेख छ।
भारतबाट प्रज्ञापन पत्र लिएका मालबाहक कन्टेनरहरूमा स्वीटकर्न, फ्रेन्च फ्राई मात्र उल्लेख भई भन्सार कार्यालयबाट पास भएमा मालबाहक कन्टेनरमा कुखुराको मासु, माछा भेटिने गरेको उनीहरूको गुनासो छ।
यसरी हुने आयात रोक्न उनीहरूले माग गरेका छन्। व्यवसायीको गुनासो सुनेपछि गृहमन्त्री श्रेष्ठले सरकार ह्याचरी मात्र नभई कुनै पनि प्रकारको तस्करी हुन नदिने गरी अगाडि बढेको बताए।
आत्मनिर्भर बनिसकेको दाना र ह्याचरी उद्योगलाई असर पर्ने कुनै पनि गतिविधि सह्य नहुने र संलग्न जोसुकैलाई कारबाहीको दायरामा ल्याउने गृहमन्त्री श्रेष्ठले बताए।
सरकारले कृषि क्षेत्रमा प्रशस्त अनुदान दिँदै आएको छ। अनुदानअनुसार प्रतिफल नपाएको भन्दै सरकारको आलोचना हुँदै आएको छ। आत्मनिर्भर भइसकेका नेपाली मासुजन्य उत्पादन नै खरिद गरेर बिक्री गर्नतिर सरकारको ध्यान जानुपर्ने जानकारहरू औंल्याउँदै आएका छन्।
कुखुरा तथा कुखुराजन्य वस्तु खरिद गरेर उपभोक्तालाई सस्तोमा बिक्री गर्नेगरी सरकारले पहल गर्नुपर्ने आवश्यकता रहेको जानकारहरू बताउँछन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 