अयोग्य लडाकुका नाममा पैसा बाँड्ने कार्य अस्वीकार्य : डा‍. शेखर कोइराला

हिमाल प्रेस १४ वैशाख २०८० ९:४६ | Thursday, April 27, 2023
अयोग्य लडाकुका नाममा पैसा बाँड्ने कार्य अस्वीकार्य : डा‍. शेखर कोइराला फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा‍. शेखर कोइरालाले अयोग्य लडाकुका नाममा पैसा बाँड्ने कार्य आफूलाई अस्वीकार्य रहेको बताएका छन्।

सरकारले पहिले लडाकुलाई दिएको रकमको हिसावकिताव बुझाउन नसकेको र द्वन्द्वकालीन समस्या समाधानमा आनाकानी गर्दै लम्ब्याएको कोइरालाले आरोप लगाएका छन्।

‘ढुकुटीमा पैसा नभएका कारण सरकारी कर्मचारीहरूको तलव र पूर्वशिक्षकहरूको पेन्सन दिन समेत नसक्ने अवस्था छ,’ कोइरालाले भनेका छन्,‘सरकारले पूर्वअयोग्य लडाकुको नाममा पैसा बाँड्ने कार्य स्वीकार्य हुनै सक्दैन।’

उनले माओवादी नेतृत्वको सरकारको यस्तो कार्यको विरोध गरेर रोक्न समेत आग्रह गरेका छन्। उनले रकमको सट्टा रोजगारी दिन अनुरोध गरेका छन्।

सरकारले अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ राहत दिनेसम्बन्धी प्रक्रिया अघि बढाएक‍‍ो छ।

‘प्रमाणीकरण भएका द्वन्द्वकालका अयोग्य लडाकुलाई कार्यविधि बनाई राहत उपलब्ध गराउने’ निर्णय गत चैत पहिलो साता मन्त्रिपरिषद बैठकबाट भएको थियो।

संयुक्त राष्ट्रसंघीय मिसन नेपाल (अनमिन) को प्रमाणीकरणमा ४ हजार ८ अयोग्य लडाकु छन्। यसअघि २०७३ सालमा उनीहरूलाई दुई लाख रुपैयाँ राहत दिने भनिए पनि रोकिएको थियो।

तत्कालीन शान्ति प्रक्रियाका समयमा माओवादी लडाकु शिविरमा १९ हजार लडाकु थिए। त्यसमध्ये अनमिनको प्रमाणीकरणमा अयोग्य ठहर्‍याइएका ४ हजार ८ लडाकु बाहिरिएका थिए।

करिब एक हजार चार सय लडाकु नेपाली सेनामा समायोजन भए भने बाँकी स्वेच्छिक अवकाशमा गएका थिए।

प्रकाशित: १४ वैशाख २०८० ९:४६ | Thursday, April 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast