अख्तियारलाई सांसद सिंहको प्रश्न, ठूला नेताका भ्रष्टाचारका मुद्दा किन तामेलीमा?

हिमाल प्रेस ६ वैशाख २०८० १४:४८ | Wednesday, April 19, 2023
अख्तियारलाई सांसद सिंहको प्रश्न, ठूला नेताका भ्रष्टाचारका मुद्दा किन तामेलीमा?

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले ठूला नेताहरू मुछिने खालका भ्रष्टाचार मुद्दा नपन्छाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराएका छन्। उनले प्रतिनिधिसभा बैठकमा बुधबार सम्बोधन गर्दै भ्रष्टाचारमा संलग्न जोकोहीलाई पनि कारबाहीको दायरामा ल्याउन अख्तियारलाई आग्रह गरेका हुन्।

उनले भने, ‘अख्तियारले धेरै मुद्दा तामेलीमा पन्छाएको छ। ३२ औँ वार्षिक प्रतिवेदन हेर्दा सेक्युरिटी प्रेस खरिद प्रकरणमा तल्लो तहका कर्मचारीबाहेक कुनै ठूला मान्छेसँग बयान लिएको देखिएन। बजेट लिक गर्नेमा खरदारसुब्बा परेका छन्। योजनाकारहरू कारबाहीमा परेका छैनन्।’

उनले देशमा विभिन्न भ्रष्टाचारका काण्ड भइरहे पनि कारबाही गर्न अख्तियारले खुट्टा कमाइरहेको बताए। सांसद सिंहले भने, ‘देशमा विभिन्न भ्रष्टाचारका काण्ड भएकमा छन्। अख्तियारले राजनीतिक प्रभावबाट डराएर पद जान्छ भनेर खुट्टा कमाउन भएन।’ उनले प्रश्न गरे, ‘ठूला नेताहरूले जेजे गर्‍यो तिनका नेताहरूलाई माफी र तामेलीमा राख्ने हो भने यसरी कतिन्जेल चल्छ? के त्यही गर्नका लागि यो व्यवस्था आएको हो?’

उनले गल्ती गरेको छ भने आफ्नै पार्टीका नेता पनि कारबाही प्रक्रियामा लैजान आफू तयार रहेको उनको भनाइ छ। उनले भने, ‘मेरै पार्टीको किन नहोस् गलत काम गरेको छ भने ऊ कारबाहीमा पर्नुपर्छ।’

यसैगरी उनले राष्ट्रिय परिचयपत्रका सम्बन्धमा अघिल्ला गृहमन्त्रीले गरेको निर्णय उल्ट्याएको विषयमा भने, ‘सरकारले सात दिनमै विदेशी कम्पनीलाई दियो। यो सरकारले त्यसलाई रद्द गरेको छ। अघिल्ला गृहमन्त्रीले गलत गरेको छ भने कारबाही गर्नुपर्छ। नांगेझार पार्नुपर्छ। पार्टीका ठूलाठूला नेता कारबाहीमा पर्छन् भनेर अख्तियारले किन खुट्टा कमाउने?

प्रकाशित: ६ वैशाख २०८० १४:४८ | Wednesday, April 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast