मन्त्री बस्नेतले भने : ऊर्जा क्षेत्रको विकासका लागि सम्पूर्ण ध्यान केन्द्रित गर्नेछु

हिमाल प्रेस १७ चैत २०७९ २०:३०
10
SHARES
मन्त्री बस्नेतले भने : ऊर्जा क्षेत्रको विकासका लागि सम्पूर्ण ध्यान केन्द्रित गर्नेछु

काठमाडौँ– नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको आर्थिक समृद्धिको महत्त्वपूर्ण आधार रहेको ऊर्जा क्षेत्रको विकासका लागि सम्पूर्ण ध्यान केन्द्रित हुने विश्वास व्यक्त गरेका छन्। सिंहदबारस्थित मन्त्रालयमा आज पदवहालीका क्रममा उनले उपलब्ध स्रोत साधनको अधिकतम उपयोग गर्दै मुलुक र जनतालाई लाभ हुने गरी काम गर्न जरुरी रहेको उल्लेख गरे। उनले सबैको विज्ञताको भरपुर सदुपयोग गर्दै मन्त्रालय र मातहत निकायको कामलाई प्रभावकारी र नतिजामुखी बनाइनुपर्नेमा जोड दिए।

ऊर्जामन्त्री बस्नेतले मुलुकको विकासका निम्ति ऊर्जाको विविध आयामको अवसरको भरपुर सदुपयोग गर्न जरुरी रहेको भन्दै उक्त प्रयोजनका निम्ति नीतिगत र संरचनागत सुधार गरिने विश्वास व्यक्त गरे। उनले भने, ‘देशको समृद्धिले नागरिकको जीवनस्तरमा सुधार ल्याउनुपर्छ। मानिसमा पैदा भएको निराशालाई आशावादी बनाउने ढङ्गले परिणाममुखी काम गर्न जरुरी छ।’

मन्त्री बस्नेतले मुलुक विशिष्ट परिस्थितिमा रहेकाले विशिष्टीकृत ढङ्गले काम गर्न जरुरी रहेको खाँचो औँल्याए। ‘मानिसमा आशावाद जगाउन जरुरी छ। मुलुकको आवश्यकताका आधारमा ‘टिम स्पिरिट’का साथ इमान्दारीपूर्वक काम गर्न सबै सक्रिय हुनुपर्छ,’ उनले भने।

ऊर्जामन्त्रीको पहिलो निर्णय

ऊर्जामन्त्री बस्नेतले पदबहालीसँगै पहिलो निर्णयका रूपमा विश्व मौसम सङ्गठन (डब्लूएमओ)बाट विकास भई मन्त्रालयमा रहेको ‘साउथ एसिया फ्लास फ्लड गाइडेन्स सिस्टम’ तथा डब्लूएमओसँग सम्बन्धित कार्यका लागि समन्वय र सहकार्य गर्न सम्पर्क व्यक्ति तोक्ने निर्णय गरेका छन्।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखालाई फोकल शाखा र उक्त शाखाका सी.डी. हाइड्रोलोजी सुनिल पोखरेललाई नेसनल फोकल प्वाइन्ट तोक्ने निर्णय गरिएको छ। रासस

प्रकाशित: १७ चैत २०७९ २०:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =