प्रजातन्त्र सानो समूहको कब्जामा छ : कमल थापा

हिमाल प्रेस १७ चैत २०७९ १६:०७
214
SHARES
प्रजातन्त्र सानो समूहको कब्जामा छ : कमल थापा

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रजातन्त्र सानो समूहको कब्जामा भएको बताएका छन्। नेपाली जनताको दुःख, पीरमर्का हेर्ने बुझ्ने फुर्सद सत्तासिन दलहरूलाई नभएको भन्दै उनले मुलुक डरलाग्दो दुश्चक्रमा फसेको टिप्पणी गरेका हुन्।

‘भ्रष्टाचार संस्थागत भएको छ, भ्रष्टाचारीलाई संरक्षण गरिएको छ,’ उनले भने, ‘सत्ता र शक्ति केन्द्रित फोहरी खेलमा मात्र सबैको ध्यान केन्द्रित छ, यसले मुलुकलाई असफल राष्ट्रतर्फ उन्मुख गराउँदैछ।’

राप्रपा नेपाल आबद्ध पूर्व प्रहरी परिषद्को विस्तारित बैठकलाई सम्बोधन गर्दै थापाले पूर्व सुरक्षाकर्मीको हकहितलाई सुरक्षित राख्न राप्रपा नेपाल प्रतिबद्ध रहेको बताए। उनले द्वन्द्वपीडितलाई सुविधा दिने नाममा सरकारले तत्कालीन विद्रोही पक्षलाई मात्र पक्षपोषण गरेकोमा आपत्ति जनाए। सबै द्वन्द्वपीडितलाई राज्यले समान व्यवहार गर्नुपर्ने उनले बताए।

परिषद्का अध्यक्ष हरिहर श्रेष्ठको अध्यक्षतामा सम्पन्न केन्द्रीय कार्यसमितिको विस्तारित बैठकले माओवादीका ४ हजार अयोग्य लडाकूलाई प्रतिव्यक्ति दुई लाखको दरले सरकारी ढुकुटीबाट सुविधा उपलब्ध गराउने सरकारको निर्णयको विरोध गरेको छ। साथै द्वन्द्वपीडित सबै पक्षहरूलाई उक्त सुविधाबाट वञ्चित गराइएकोले यसले थप द्वन्द्व निम्त्याउने बैठकले ठहर गरेको छ। सो बैठकले सम्पूर्ण द्वन्द्वपीडितका परिवारलाई रोजगारको व्यवस्था मिलाउनसमेत सरकारसँग माग गरेको छ।

प्रकाशित: १७ चैत २०७९ १६:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 7 =